काठमाडौँ — सप्तरीका दुई युवकको मंगलबार आरडीटी किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आयो । त्यसपछि उनीहरुको थ्रोट स्वाब लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गर्न पठाइयो । त्यसको रिपोर्ट भने नेगेटिभ आयो ।
काभ्रेमा विदेशबाट आएका दुईजना युवकको आरडीटी किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो भने धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो ।
अहिले सबैको दिमाग खराब बनाइरहेको प्रश्न भनेको आरडीटीमा पोजिटिभ देखिएपछि पीसीआरमा किन नेगेटिभ आयो ? यसको उत्तर त्यति जटिल छैन ।
नेपालमा प्रयोग गरिएको आरडीटी किटले एन्टिबडी परीक्षण गर्छ । एन्टिबडी भनेको शरीरले कोरोना भाइरससँग लड्न उत्पादन गर्ने एकप्रकारको प्रोटिन हो । एन्टिबडी दुई किसिमको हुन्छ– ‘इम्यूनोग्लोब्यूलिन–एम (आईजीएम)’ र ‘इम्यूनोग्लोब्यूलिन–जी (आईजीजी)’ ।
आईजीएम शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन हुन्छ । संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी उत्पादन गर्न थाल्छ । किटले त्यही आईजीएम वा आईजीजी रगतमा भए/नभएको पत्ता लगाउँछ ।
सामान्य रुपमा बुझ्दा आईजीएम रगतमा हुनु भनेको शरीरमा संक्रमण छ भन्ने हो । यस्तै आईजीजी रगतमा हुनु भनेको शरीर संक्रमण मुक्त भइसक्यो भन्ने हो । तसर्थ आरडीटी पनि पोजिटिभ र पीसीआर पनि पोजिटिभ हुनु शरीरमा संक्रमण छ भन्ने हो । आरडीटी पोजिटिभ र पीसीआर नेगेटिभ हुनु शरीरमा भाइरसको संक्रमण कुनै समयमा थियो अहिले छैन भन्ने हो । यस्तै आरडीटी पनि नेगेटिभ र पीसीआर पनि नेगेटिभ छ भने हालसम्म भाइरसको संक्रमण नै भएको रहेन छ भनेर बुझ्ने हो । कसैको आरडीटी नेगेटिभ तर पीसीआर पोजिटिभ आयो भने सो व्यक्तिलाई संक्रमण भएको एकदुई दिन मात्रै भयो भन्ने हो ।
यसको मतलब के त ?
आरडीटी पोजिटिभ र पीसीआर नेगेटिभ आयो भने त्यो व्यक्तिलाई कुनैबेला संक्रमण भएको थियो । संक्रमण भएका बेला उक्त व्यक्तिले भाइरस अरुलाई सारेको पनि हुनसक्छ । त्यसैले सरकारले कम्तीमा पनि आरडीटी पोजिटिभ आएका व्यक्तिको सम्पर्कमा रहेका परिवारका सदस्यहरुको पनि आरडीटी परीक्षण गर्नैपर्छ । सकिन्छ भने पीसीआर नै गरेको उत्तम हुन्छ । उनीहरुको परीक्षण रिपोर्टका आधारमा थप व्यक्ति वा समुदायको परीक्षण गर्ने/नगर्ने भन्ने निर्णय लिन सकिन्छ ।
आरडीटी पोजिटिभ र पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आएकाहरु सुरक्षित हुन्छन् । त्यस्ता व्यक्तिले अरुलाई कोरोना सारेको देखिएको छैन । बरु त्यस्ता व्यक्तिको शरीरबाट एन्टिबडी झिकेर संक्रमितलाई दिँदा रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई फाइदा हुन्छ कि भनेर अध्ययन भइरहेका छन् ।
एन्टिबडी पोजिटिभ र पीसीआर नेगेटिभ देखिनुको अर्को अर्थ हो नेपालको सीमा भित्र कोरोना भाइरसले राम्रैसँग प्रवेश गरिसकेको छ । तर किन विदेशमा जस्तो विध्वंश मचाएको छैन भन्ने प्रश्नको यकिन जवाफ भने अहिले कसैसँग छैन ।
एन्टिबडी पोजिटिभ भएका धेरै संक्रमित भेटिँदा पनि समाजमा यो रोग नफैलनु भनेको ती संक्रमित व्यक्तिले क्वारेन्टिनको नियम पूर्ण पालना गरे भन्ने पनि हुन्छ । तर, क्वारेन्टिनको नियमको पालना गरे/नगरेको भने उनीहरु नजिक रहेकाहरुले नै यकिन गरे बताइदिनु उत्तम हुन्छ । उनीहरुले आफूलाई कुनै लक्षण नदेखिएको भनेर गाउँवस्तीमा डुलेर हिँड्दा अन्यलाई पनि संक्रमित बनाएको हुने सम्भावना रहन्छ । तसर्थ त्यस्तो चेनलाई ब्रेक गर्न पनि कन्ट्याक्ट ट्रेसिङ गर्न जरुरी हुन्छ ।
यो रोगले नेपाल भित्रिएर पनि विध्वंश मचाएको छैन भनेर ढुक्क हुने अवस्था भने छैन । यो संक्रमणले कुन दिन उग्ररुप लिन थाल्छ, जवाफ कसैसँग छैन ।
