‘यस्तो फोटो कहिल्यै खिच्न नपरोस्’

जेन–जीहरूले सोमबार गरेको प्रदर्शनका क्रममा तस्बिर खिच्न गएका कान्तिपुर दैनिकका फोटो पत्रकारहरूले देखेको प्रत्यक्ष घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ ।

भाद्र २३, २०८२

अंगद ढकाल, दीपेन श्रेष्ठ, तस्बिर : हेमन्त श्रेष्ठ, दीपक केसी

”Never take a photo like this”

What you should know

काठमाडौँ — हालसम्म प्राप्त विवरणअनुसार जेन–जीको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको निजमती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनको समाचार संकलनमा खटिएका चार जना पत्रकार पनि घाइते भएका छन् । कान्तिपुर दैनिकका फोटो पत्रकारहरूले सोमबारको प्रदर्शनका क्रममा देखेको प्रत्यक्ष घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ ।

‘यस्तो फोटो कहिल्यै खिच्न नपरोस्’

–हेमन्त श्रेष्ठ

प्रदर्शनकारीहरू माइतीघर भेला भएर बानेश्वर जाने तालिका थियो । हाम्रो फोटो पत्रकार समूह पनि सोहीअनुरूपको तालिका बनाएर माइतीघरमा जम्मा भएको थियो । बिहान १०.३० बजे प्रदर्शनकारीको टोली नयाँ बानेश्वर लाग्यो । टोली धोबीखोलासम्म सहजै गएको थियो । टोलीलाई सर्भिस लेनमा लान प्रहरीले प्रयास गरेको थियो, नसकेपछि भीड ठूलो भएकाले प्रहरीलाई अटेर गरी मूल सडकबाटै नयाँ बानेश्वरतर्फ लाग्यो ।

एभरेस्ट होटलको अगाडिबाट निषेधित क्षेत्र सुरु हुन्थ्यो । निषेधित क्षेत्र सुरु नहुँदै प्रहरीले राखेको ब्यारिकेड अगाडि बसेर प्रदर्शन टुंग्याउने जेन–जी समूहको कार्यतालिका थियो । धेरै भीड बढेकाले ब्यारिकेड भत्काएर प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर अगाडि बढे र उनीहरूले अब संसद् भवन क्षेत्र जाने नारा लगाए । निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहरा प्रयोग गरी भीडलाई तितरबितर बनाउने प्रयास गरेको थियो । प्रहरीको यो प्रयासलाई विफल बनाउँदै प्रदर्शनकारी बानेश्वर चोक पुगिसकेका थिए । त्यही समयमा तीनकुने क्षेत्रबाट आएका प्रदर्शनकारी पनि त्यही भीडमा मिसिए ।

त्यसपछि प्रहरीको दमन सुरु भयो । सुरुमा प्रहरीले अश्रुग्यास प्रहार गरेर भीड तितरबितर गर्ने प्रयास गर्‍यो । भीड अनियन्त्रित भएपछि प्रहरीले गोली चलायो । घाइतेहरू कोही भुइँमै रक्ताम्मे भएर लडे । केहीलाई भीडले नै उठाएर नजिकैको सिभिल अस्पताल दौडायो । त्यही भीडमा आएको सशस्त्र प्रहरीको एम्बुलेन्सलाई पनि प्रदर्शनकारीले आगो लगाइदिए । यही बेला संसद् भवनको पर्खालको माथिल्लो भागमा चढेर प्रदर्शनकारीले नारा लगाउन थाले । त्यसपछि प्रहरीले झन् आक्रामक भएर अन्धाधुन्ध गोली चलायो । अधिकांश गोली टाउको र छातीमा लक्षित थिए ।

”Never take a photo like this”

म, नयाँ पत्रिकाका दीपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की, एपीका निरञ्जन श्रेष्ठलगायत हामी फोटोको टोली एकै ठाउँमा थियौं । गोलीका आवाज आइरहेका थिए । यही बेला मेरो पछाडि रहेका दीपेन्द्रले एक्कासि ‘ऐया’ भनेको सुनें । म पछाडि फर्किंदा दीपेन्द्रको कानबाट रगत बगिरहेको थियो । पछाडिबाट गोली आउँदा दीपेन्द्रलाई लागेको रहेछ । छर्रा गोलीले मेरो हात पनि पोलेको थियो, उमेशलाई भने हातमा गोली नै लागेछ । यही बेला दीपेन्द्रलाई निरञ्जनले बोकेर एम्बुलेन्सतर्फ लैजान खोज्दा निरञ्जनको क्यामरा खोसेर लगिसकिएको थियो ।

”Never take a photo like this”

संसद् भवनको मुख्य प्रवेशद्वार अगाडि टाउकामा गोली लागेर मृत्यु भएका प्रदर्शनकारीको शव भुइँमै थियो । उनको नजिक रगतको आहाल बगेको थियो । समयमा एम्बुलेन्स नआएर उनको मृत्यु भएको भनी प्रदर्शनकारी आक्रोशित बनेका थिए । त्यही भएर उनीहरूले अरू एम्बुलेन्सलाई पनि निसाना बनाइरहेका थिए । यसले घाइतेलाई झन् अस्पताल लान अप्ठ्यारो बन्यो ।

यही बेला भीडले प्रहार गरेको ढुंगाले मेरो खुट्टामा लाग्यो । प्रदर्शनकारीले शव उठाउन दिएनन् । उनलाई हेर्दै अर्का प्रदर्शनकारी झोक्राएर बसिरहे । शवमाथि नेपालको झन्डा ओढाइएको थियो । प्रदर्शनकारी रगतको मूल्य दे सरकार भन्दै आक्रोशित भएर नारा लगाइरहेका थिए । यो यस्तो फोटो थियो, जसले मलाई खिच्न निकै गाह्रो बनाएको थियो । मन विक्षिप्त थियो ।

यही बेला मैले मनमनै कामना गरें– यस्तो फोटो कहिल्यै खिच्न नपरोस् ।

”Never take a photo like this”

सोमबारको भीड निकै अनियन्त्रित देखियो । यो स्वस्फूर्त नेतृत्वविहीन भीड थियो । भीडले जे भन्छ, त्यही भइरहेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले जति संयन्त्र गर्नुपर्ने थियो, त्यसमा ऊ चुक्यो । योभन्दा अगाडि गत चैतमा तीनकुनेमा गरिएको राजावादीको आन्दोलन र बालकुमारीमा गरिएको कोरियन ईपीएससम्बन्धी आन्दोलन पनि अनियन्त्रित थियो । तर यो रूपमा दमन देखिएको थिएन ।


फोटो खिच्दा खुट्टा काँपे, आँखा रसाए

–अंगद ढकाल

मैले विभिन्न समयमा विभिन्नखाले आन्दोलनका तस्बिर धेरै पटक खिचेको छु । एमसीसीको विरोध हुँदा होस् या शिक्षकहरूको आन्दोलन, एमाले, माओवादी, कांग्रेसलगायत सबै पार्टीको आन्दोलनलाई फोटोमा उतारेकै हुँ । तर सोमबार जेन–जीहरूको आन्दोलनले नेपाल प्रहरी र सशस्त्र प्रहरीले २० देखि २५ वर्षका युवाहरूमाथि गरेको क्रुरता अहिलेसम्म देखेका आन्दोलनभन्दा फरक थियो । मेरो १० बर्षे पत्रकारीतामा आन्दोलनको तस्बिर खिच्दा पहिलो पटक यसरी खुट्टा काँपे । आँखा रसाए ।

यसअघिका आन्दोलनमा एभरेष्ट होटल अगाडिको ब्यारिगेटमा पुगेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्ने गरेको थियो । यसपटक प्रहरी नराम्रोसँग चुक्यो । ब्यारीकेडबाट प्रदर्शनकारीलाई बानेश्वरतर्फ छाड्नु नै प्रहरीको गम्भिर गल्ती थियो । त्यसैले त्यो हुल एकै पटक संसद् भवनछेउ पुग्यो । र संसद भवनको मुख्य प्रवेशद्वार पुगेपछि भने प्रहरीले आधा घन्टा जस्तो संयम अपनायो । प्रदर्शनकारीलाई अगाडि नबढ्नुस् भनेर अनुरोध पनि गर्‍यो ।

”Never take a photo like this”

तर अनियन्त्रित जेन जी मुख्य प्रवेशद्वारको पर्खाल चढ्न लागे । सुरुमा प्रहरीले अश्रुग्यास प्रहार गर्न लाग्यो । त्यतिका प्रदर्शनकारी मुख्य प्रवेशद्वारमा पुग्दा पनि प्रहरीको अर्को गल्ती ‘ब्याकअप फोर्स’ नबोलाउनु थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच समन्वय पनि निकै कमजोर देखियो । नेपाल प्रहरीले भिड नियन्त्रणका लागि सशस्त्रलाई बारम्बार हात जोडेरै अगाडि बढ्नुस् भन्दा सशस्त्रको टोली अकमक्क देखियो । त्यसपछि नेपाल प्रहरीको क्रुरता देखियो । अनियन्त्रित भिड नियन्त्रण गर्न नेपाल प्रहरीको टोलीले अन्धाधुन्ध गोली प्रहार गर्‍यो । त्यो गोली कहाँ, कसलाई हानेको हो, उसले केही पत्तो पाएन । मेरै अगाडि ४–५ युवा लगालग ढले ।

”Never take a photo like this”

मैले सुरक्षित स्थान हेर्दै तस्बिर लिइरहेको थिएँ । त्यसै बिचमा नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगानालाई गोली लागेपछि म आत्तिएँ । प्रहरीको अन्धाधुन्ध गोलि रोकिएको थिएन । घाइतेलाई बोकेर, स्ट्रेचर अनि मोटरसाइकलमा हालेर अस्पतालतर्फ लग्ने क्रम जारी नै थियो ।

”Never take a photo like this”

यतिका युवाले भ्रष्टाचार अन्त्यको माग राख्दै गरेको आन्दोलनलाई सरकारले गरेको ज्यादति निन्दनीय छ । राज्यले युवा र नागरिकप्रति गर्ने दायित्व के यही हो त ?


मुटु भक्कानियो

– दीपक केसी

बबरमहलमा मेरो जुलुससँग भेट भएको थियो । बानेश्वर पुग्नुअगाडि ब्यारिकेड राखिए पनि भित्री बाटोबाट जुलुस बानेश्वर पुगिसकेको थियो । ब्यारिकेडपछाडि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मी रहे पनि जुलुस नियन्त्रण गर्न सकिरहेको थिएन । जुलुसलाई संसद भवन जान हतार देखिन्थ्यो ।

मैले एउटा घरको छतबाट त्यो दृश्य कैद गर्न लाग्दा तिनकुने क्षेत्रबाट विशाल जुलुस आयो । उक्त जुलुसलाई रोक्न कुनै ब्यारिकेड थिएन । त्यसैले दुबै क्षेत्रबाट गएको जुलुस संसद् भवन अगाडि जम्मा भए । त्यसको एकैछिनमा अश्रुग्यास प्रहार गरियो । जुलुस संसद भवन छिर्न लागेपछि गोली प्रहार हुन थाल्यो ।

”Never take a photo like this”

म चढेको घरबेटीले प्रहरी आउन सक्छ तपाईंहरू गइदिनुस् भनेर अनुरोध गरेपछि म निस्किएँ । एउटा विदेशीले पनि त्यही घरबाट भिडियो खिचिरहेका थिए । उनी पनि त्यहाँबाट निस्किए । प्रहरीले एकपछि अर्को गोली चलाउन थालेपछि एउटा कुनाबाट तस्बिर लिइरहें । एभरेष्ट होटलको पछाडि एउटा गोली लागेको मान्छेलाई जुलुसले एभरेष्ट अस्पताल लगिरहेको दृश्य देख्दा मनमुटु भक्कानियो ।

प्रहरीको गोली लागेर मान्छे मर्न लागेपछि आक्रोशित भिडले एम्बुलेन्स नै जलाइदियो । प्रदर्शनकारीको भिड विशाल थियो, सायद प्रहरी प्रशासनले पनि यति ठूलो हुन्छ भनेर सोचेको थिएन । त्यसैले यत्रो मानवीय दुर्घटना हुन पुग्यो ।


अस्पताल देख्दा लाग्थ्यो, यो सहर नै घाइते छ

–दीपेन श्रेष्ठ

जेन जीको आन्दोलन सुरुमा निकै शान्त रुपमा भइरहेको थियो । बानेश्वरको एभरेष्ट होटल अगाडिको ब्यारिकेड तोडेर अगाडि गएपछि प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा हान्न थाल्यो । त्यसलाई छिचोल्दै भिड सिधै संसद भवन घेर्न पुग्यो । त्यहाँ हुलदंगा सुरु भएपछि भिडको केही भाग संसद भवनको पर्खाल चढ्न लागेपछि प्रहरीले टियर ग्यास र रब्बर बुलेट हान्न थाल्यो ।

म भने सुरक्षित भएर पानी ट्यांकीतर्फ लागें । त्यहाँ पनि प्रदर्शनकारी पर्खाल र गेट भत्काएर संसद भवन छिर्न खोज्दै थिए । त्यही बेला पुलिसले टियर ग्यास र रबरको बुलेट प्रहार गरिरहेको थियो । त्यहाँ एक व्यक्तिलाई छातिमै गोल लाग्यो, उनलाई प्रदर्शनकारीहरूले बोकेर लगे । त्यो दृश्य मलाई हेर्न एकदमै गाह्रो भयो । तर पनि मन दरिलो बनाएर त्यो दृश्य कैद गरें ।

”Never take a photo like this”

पछि म सिभिल अस्पतालतिर लागें । कानमुनि गोलि लागेर घाइते भएका फोटो पत्रकार दीपेन्द्र ढुंगानालाई भेटें । उनको त्यहाँ उपचार नहुने भएपछि पाटन अस्पताल लैजाने तयारी गर्‍यौं । त्यही बेला सिभिल अस्पतालबाहिर गोलीका आवाज निकै चर्को स्वरमा आइरहे । एम्बुलेन्स पनि जलेको देखियो । एकछिनपछि त टियर ग्यास अस्पतालभित्रै आयो । बिरामीलाई टियर ग्यासले निकै गाह्रो बनायो । अस्पताल घाइतेहरूले भरिएको थियो । त्यहाँ देख्दा यस्तो लाग्थ्यो, यो सहर नै बिरामी छ ।

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

दीपेन श्रेष्ठ

तस्बिर : हेमन्त श्रेष्ठ श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

दीपक केसी

Link copied successfully