काठमाडौंमा भएको प्रदर्शनमा १७ मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । त्यस्तै इटहरीमा समेत दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँ — सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन–जी (सन् १९९७–सन् २०१२ सम्म जन्मिएको पुस्ता) ले काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन गरे । काठमाडौंमा भएको प्रदर्शनमा १७ मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । त्यस्तै इटहरीमा समेत दुई जनाको मृत्यु भएको छ ।
माइतीघर मण्डलबाट सुरु भएको आन्दोलन सोमबार दिउँसो संसद् भवन अगाडिसम्म पुग्दा हिंसात्मक बन्यो । बिहानैदेखि विद्यार्थी, अभिभावकसहित हजारौंको उपस्थितिमा सुरु भएको प्रदर्शन बबरमहल हुँदै बानेश्वर पुग्दा प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो । संसद् भवनतर्फ अघि बढे्को भीडलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाएको थियो । मृतकमध्ये अधिकांश १९ देखि २९ वर्ष उमेर समूहका छन् ।

