मंगलबार बिहानसम्म पूर्वतर्फ बिर्तामोड बसपार्क प्रवेश मोडसम्म, पश्चिमतर्फ रामचोकसम्म, उत्तरतर्फ महानन्दचोकसम्म र दक्षिणतर्फ सैनिक मोडसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
झापा — बिर्तामोड क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सोमबार बेलुकी ८:३० बजेदेखि मंगलबार बिहान ५:०० बजेसम्म बिर्तामोड नगरपालिका क्षेत्रका चारवटा सीमाभित्र कर्फ्यु लागू हुने गरी आदेश दिएका हुन् ।
पूर्वतर्फ बिर्तामोड बसपार्क प्रवेश मोडसम्म, पश्चिमतर्फ रामचोकसम्म, उत्तरतर्फ महानन्दचोकसम्म र दक्षिणतर्फ सैनिक मोडसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रशासनले तोकिएको क्षेत्रभित्र कुनै पनि भीडभाड नगर्न, निस्कन वा गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
भ्रष्टाचारविरुद्ध र सुशासनको माग राखी भइरहेको जेन–जी प्रदर्शन बिर्तामोड अझै पूर्ण नियन्त्रण आउन सकेको छैन । अझै पनि मुक्तिचोक क्षेत्रमा आगजनी भइरहेको छ । मुक्तिचोकमा रहेको पुरानो ट्राफिक बिटमा आगजनी भइरहेको एक सुरक्षा अधिकारीले जनाए । 'हामी त सुरक्षित स्थानमा छौं । तर, मुक्तिचोक क्षेत्रमा आगजनीको प्रयास भइरहेको छ,' उनले भने ।
प्रदर्शनका कारण बिर्तामोड दिनभर तनावग्रस्त रह्यो । प्रदर्शन नियन्त्रणमा लिन यहाँ प्रहरीले गोली चलाएको थियो ।
