विपक्षी दल र सत्तारुढ नेताले भने- ‘गृहमन्त्रीकोले मात्रै पुग्दैन, प्रधानमन्त्री राजीनामा देऊ’ 

विपक्षी राजनीतिक दलसँगै सत्तारुढ दल एमाले र कांग्रेसका नेताहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्रीबाट राज्य सञ्चालन निरंकुश तवरबाट मात्रै हुने गरेको भन्दै उनको राजीनामा माग गरिएको हो ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

The opposition party and the ruling leader said - 'It is not enough for the Home Minister, let the Prime Minister resign'

What you should know

काठमाडौँ — जेन–जीहरूको प्रदर्शनमा भएको सरकारको बल प्रयोगबाट काठमाडौं र देशका अन्य सहरमा १९ प्रदर्शनकारीको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

तर, यस्तो घटनाको जिम्मेवार गृहमन्त्री लेखक मात्रै नभई प्रधानमन्त्री ओली हुनुपर्ने आवाज उठ्न थालेको छ । विपक्षी राजनीतिक दलसँगै सत्तारुढ एमाले र कांग्रेसका नेताहरूले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्रीबाट राज्य सञ्चालन निरंकुश तवरबाट मात्रै हुने गरेको भन्दै उनको राजीनामा माग गरिएको हो । 

प्रमुख प्रतिपक्षी माओवादीले जेन–जीको आन्दोलनमा दमन भएसँगै सरकारको औचित्य सकिएको बताएको छ । गोरखाको आरुघाटमा मध्यपहाडी राजमार्ग अभियान स्थगित गरी आकस्मिक रूपमा पदाधिकारी बैठक बसी माओवादीले सरकारको औचित्य सकिएको भनेको हो ।

‘जायज माग र सपना बोकेर आन्दोलनमा उत्रिएका युवाहरूमाथि गोली चलाएर डेढ दर्जन युवाको गोलीबाट मृत्यु र दुई सय बढी घाइते बनाएको अवस्थाले सरकारको औचित्य सकिएको छ,’ माओवादी निष्कर्ष छ ।

माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले भने, 'युवालाई गोली हानेर हत्या गर्‍यो । जटिल हो । सरकारले बल प्रयोग गरेकै हो । युवाहरूमाथि गोली प्रहार गरी जनआन्दोलन २ माभन्दा बढी युवाको मृत्यु भएको छ । यो संघीय लोकतान्त्रिक व्यवस्था व्यवस्था बचाउने हो भन केपी ओलीले सरकार छाड्नुपर्छ । संसद्बाट निकास निकाल्नुपर्छ ।’

माओवादीका उपमहासचिव वर्षमान पुनले जेनजीको आन्दोलनमा भएको बल प्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले लिनुपर्ने बताए । पुनले भने, ‘यो परिस्थिति उत्पन्न हुनुमा ओलीको अधिनायकवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ । घटनाले ओलीको असली चरित्र उदांगो पारेको छ, पदमा बस्ने नैतिकता गुमाएकाले तत्काल राजीनामा दिनुपर्छ ।’

रास्वपाले प्रधानमन्त्री ओलीले राजीनामा गरेर तत्काल निर्वाचनमा जानुपर्ने माग गरेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले भनेका छन्, 'वर्तमान सरकारको औचित्य पूर्णत: समाप्त भइसकेको परिप्रेक्ष्यमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।'

कांग्रेस-एमाले सरकारले कुनै पनि राष्ट्रिय मुद्दाको हल गर्न नसक्ने पनि रास्वपाको निष्कर्ष छ । 'कांग्रेस र एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गर्दछौँ,' रास्वपाले माग गरेको छ, 'आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।' 

राप्रपाले ओली नेतृत्वको सरकार विघटन गर्नुपर्ने माग गरेको छ । जेन–जीहरूको प्रदर्शनपछि बसेको पदाधिकारीको आकस्मिक बैठकले वर्तमान सरकारको उपादेयता सकिएको निष्कर्ष निकालेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

‘आजको घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ,’ श्रेष्ठले भने, ‘तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आह्वान गर्दछ ।’ शान्तिपूर्ण प्रदर्शनमाथि बल प्रयोग गरेर सरकारले स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको राप्रपाको भनाइ छ ।  

कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारका कारण नै जेन–जी प्रदर्शनमा घटना भएको बताएका छन् । उनले भनेका छन्, 'सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरूमाथि बर्बर ढंगबाट गोली प्रहार गरेको छ । त्यसको जति निन्दा र भ्रर्त्सना गरे पनि पुग्दैन ।'

एमाले सांसद तथा पूर्वमन्त्री विद्या भट्टराईले जेनजीको प्रदर्शनमा भएको घटनाको विरोध गरेकी छन् । 'आजको घटनाले हामी सबैलाई नि:शब्द बनाएको छ । जेन–जीको शान्तिपूर्ण आन्दोलनमाथि घूसपैठ भएको नाममा निर्ममतापूर्वक गोली प्रहार गर्नु खेद्पूर्ण छ । देशैभरि चलिरहेको जेनजीले उठाएको आन्दोलनको मुद्दा र मागलाई संवेदनशील ढंगले तुरुन्त पूरा गर्न सरकार जिम्मेवार हुनुपर्दछ । शक्तिको इगो होइन वास्तविकताको जगमा उचित निर्णय लिन सरकार तयार हुनुपर्दछ ।'

एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले कलेज ड्रेसमा रहेका, आन्दोलनमा हिँडेका आन्दोलनकारीलाई गोली हान्ने अधिकार शासकलाई नरहेको बताएकी छन् । उनले गृहमन्त्रीले मात्रै नभई प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजीनामा गर्नुपर्ने बताएकी छन् । 'गृहन्त्रीले मात्र राजीनामा दिएर हुन्न, प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्दछ,' उनको माग छ । 

प्रतिपक्षी एकीकृत समाजवादीले पनि सोमबारको घटनापछि प्रधानमन्त्रीले सरकारमा बसिरहने हैसियत गुमाएको बताएको छ ।

‘सरकारको निर्मम दमन र गोली प्रहारबाट करिब दुई दर्जन नागरिकको हत्या भएको छ । सयौं व्यक्ति घाइते भएका छन् । यति धेरै जनताको ज्यान लिने हत्यारो सरकारलाई अब सत्तामा बसिरहने नैतिक अधिकार छैन,’ सचिवालयले गरेको निर्णयमा भनिएको छ, ‘सरकारले आफ्नो वैधानिकता गुमाइसकेको छ । त्यसकारण हाम्रो पार्टी प्रधानमन्त्री र गृहमन्त्रीको तत्काल राजीनामाको माग गर्दछ । प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजीनामा देऊ ।’

कुशासन र बेरोजगारीका लागि सडकमा आवाज उठ्नु स्वाभाविक हुने भन्दै एकीकृत समाजवादीले सरका आफ्नो दायित्वबाट भाग्न नपाउने बताए ।

‘आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ लगेर आन्दोलनको गरिमा र यसले प्राप्त गरेको जनसमर्थन दुरुपयोग हुन नदिन आन्दोलनकारी युवाहरुलाई अपिल गर्दछौं,’ एसका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ  । 

कान्तिपुर संवाददाता

Link copied successfully