जेन–जीको प्रदर्शन : घाइते सबैको निःशुल्क उपचार गरिने

मन्त्रालयको हटलाइन ‘हेल्लो स्वास्थ्य’ लाई २४ सै घन्टा चल्ने, कुनै पनि बिरामी वा अस्पतालमा रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउनुस् : स्वास्थ्य मन्त्रालय

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Demonstration of Gen-G: All injured will be treated free of charge

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार निःशुल्क गर्न अस्पतालहरुलाई परिपत्र गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा घाइतेहरुको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको हो । बिरामीहरुको उपचार भइरहेका अस्पतालका आकस्मिक कक्षमा परेको बिरामीको चापलाई मध्यनजर गर्दै जनशक्ति व्यवस्थापनमा मन्त्रालयले विशेष जोड दिएको जनाएको छ ।

सिभिल अस्पतालका आकस्मिक कक्षमा सघाउन ४ चिकित्सकसहित ६ सुरक्षाकर्मी खटाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । वीर अस्पतालको ट्रमा सेन्टरले पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको मन्त्रालयले जनाएको छ ।

आन्दोलनमा घाइते भएकाहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन ‘हेल्लो स्वास्थ्य’ लाई २४ सै घण्टा चलाउने भएको छ । कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउनेगरी आपतकालीन अपरेसन सेन्टरमार्फत व्यवस्था मिलाएको उल्लेख गरेको छ ।

काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले सबै चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि आह्वान गरेको छ ।

कान्तिपुर

Link copied successfully