कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

खोप लगाउँदैमा तेस्रो चरण रोक्न सकिन्छ भनेर भ्रम पाल्नुहुन्‍न : डा. शरद वन्त

केही दिनयता नेपालमा पुनः कोरोना संक्रमित हुने संख्या बढ्न थालेको छ । संक्रमितको संख्या बढेसँगै यो तेस्रो लहरको सुरुवाती चरण हो या दोस्रो चरणको निरन्तरता नै हो भनेर पनि बहस सुरु भएको छ । अर्कोतर्फ नेपालमा अहिले भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्य पनि तीव्रताका साथ अगाडि बढिरहेको छ । यसै सन्दर्भमा नेपालमा कोरोना संक्रमणको अवस्था र सम्भावित तेस्रो लहरको प्रभावका बारेमा जनस्वास्थ्यविद् प्रा. डा. शरद वन्तसँग ईकान्तिपुरकी बुनु थारुले गरेको कुराकानी :

खोप लगाउँदैमा तेस्रो चरण रोक्न सकिन्छ भनेर भ्रम पाल्नुहुन्‍न : डा. शरद वन्त

हामी कोरोना संक्रमणको कुन अवस्थामा छौं ? संक्रमण बढ्न थालेको छ । तेस्रो लहर सुरु भएको त होइन ?

विगत केही समयदेखि संक्रमणको दर केही घट्दै गइरहेको थियो र हामी धेरै आशावादी थियौँ । निषेधाज्ञा जारी गरिसकेपछि र त्यो सँगैसँगै अरु गतिविधि पालना भएको जस्तो लाग्दा संक्रमण घटिरहेको थियो । यसले एउटा टुंगोमा पुगेर सायद अलि दीर्घकालीन रुपमा नियन्त्रण गर्न सक्छौँ भन्ने अपेक्षा पनि गरिएको थियो । तर निषेधाज्ञा खुकुलो बनाएसँगै जुन ढंगबाट आम नागरिकको चलायमान त बढ्यो त्यसपछि केही समय संक्रमण स्थिर भएर बढ्ने क्रम जारी भयो । अहिले हामीले के भन्न सक्छौं भने यतिखेर संक्रमणको दर जुन तहमा घट्नुपर्ने हो त्यो तहमा नघटेर या स्थिर बनेको छ या अलिअलि बढ्ने क्रममा छ । जुन तथ्यांकबाट पनि स्पष्ट हुन्छ ।

जहाँसम्म तेस्रो लहर आएको हो कि होइन भन्ने कुरा छ । यो संक्रमित रोगहरुको लहर भनेको एक किसिमको निरन्तर चल्ने क्रम हो । जबसम्म हामीले संक्रमणलाई पूर्ण रुपमा नियन्त्रण गर्न सक्दैनौँ यो घट्ने/बढ्ने भई नै राख्छ ।

तत्कालै हामी तेस्रो लहरमा प्रवेश गरिसक्यौँ भन्ने आधार बनिसकेको छैन । किनभने संक्रमणको दर एउटा तहसम्म पुगेपछि त्यो नियन्त्रण भएको आभास भएपछाडि फेरि वृद्धि हुन थाल्यो भने त्यसलाई लहर भन्ने हो । त्यसैले हामी अहिले तेस्रो लहरमा छैनौँ । किनभने त्यो हामीले आभास सुरु मात्र गरिसकेका थियौँ । तर हामीले एउटा संक्रमणको त्यो पिँधसम्म विस्तारलाई पुर्‍याउन सकेनौं । तेस्रो चरणको संक्रमणको लहरको सुरुवात भन्दा पनि हामी दोस्रो लहरमै तलमाथि भइरहेको हो कि भन्ने आभास भइरहेको छ । जुन तहमा हामीले संक्रमणको दरलाई निस्तेज गर्नुपर्थ्यो त्यो हामीले गर्न सकेका छैनौँ ।

नेपालमा तेस्रो लहर कहिलेदेखि सुरु हुन्छ र अवस्था कस्तो हुन्छ जस्तो लाग्छ ?

पहिलो कुरा म के स्पष्ट पार्न चाहन्छु भने हामीले जनस्वास्थ्यको विधिलाई कति प्रभावकारी ढंगबाट कार्यान्वयन र अभ्यास गर्‍यौँ त्यसले निर्क्योल गर्ने कुरा हो । हामीले जनस्वास्थ्यका विधिलाई एकदम गम्भिरताका साथ अवलम्बन गर्दै जाने हो भने सायद हामीले संक्रमणलाई निस्तेज गर्न सक्छौँ ।

आम नागरिकले कति जिम्मेवारीपूर्वक ढंगबाट स्वास्थ्यका मापदण्डको पालना गर्छ र त्यो सँगैसँगै मापदण्ड पालना गर्नका लागि नागरिकलाई जुन वातावरणको जरुरत पर्छ त्यो सिर्जना गर्नका लागि सरकारले कस्तो भूमिका निर्वाह गरिरहेको छ भन्नेमा पनि भर पर्छ । सरकारले कति प्रभावकारी व्यवस्थापन गरिराखेको छ त्यसले धेरै कुरा निर्णय गर्छ ।

तेस्रो लहरको संक्रमणको प्रभावका बारेमा कुरा गर्दा म जनस्वास्थ्य कार्यकर्ताको हिसाबले के भन्न सक्छु भने हामीले कति हदसम्म तयारी गर्‍यौँ त्यसले निर्णय गर्ने कुरा हो । हामीलाई धेरै कुरा विगतको अनुभवले सिकाइसकेको छ ।

खोप लगाउन बिहान ४ बजेदेखि नै लाम लाग्ने त्यसै फर्किए

खोपको प्राथमिकता कसलाई ?

आज पनि यदि तेस्रो चरणको संक्रमणको सुरुवात हुँदा सिमानाको व्यवस्थापन गर्न सकेनौँ, परीक्षणको व्यवस्थापन गर्न सकेनौँ, कन्ट्याक्ट ट्रेसिङलाई त्यति ध्यान दिन सकेनौँ, होम आइसोलेसनमा भएकालाई सुरक्षित व्यवस्थापन गर्न सकेनौँ भने संक्रमणको विस्तार एकदम बढ्छ । तर अब हामीले जे सिकेका छौँ त्यसलाई ठिक ढंगबाट अवलम्बन गर्ने हो भने तेस्रो चरणको लहरमा प्रवेश गर्दा पनि त्यति दुःख नहुन सक्छ ।

ठूलो मात्रामा जनसंख्या संक्रमित भइसकेका छन् । हामीले पहिचान गर्न सकेको मात्रै ७ लाखको हाराहारीमा हो । हामीले पहिचान नगरेको धेरै नेपालीहरु संक्रमित भएका छन् । र, त्यो संक्रमति भएका नेपाली नागरिकहरु एउटा समयको लागि जस्तो भए पनि प्राकृतिक इम्युनिटीबाट सुरक्षित हुन्छन् । त्यसबाहेक जनसंख्याको एउटा हिस्साले खोप पनि लिएको छ । त्यो सबैलाई मध्यनजर गर्ने हो भने म चाहिँ धेरै आशावादी हुन चाहन्छु । तेस्रो लहरको यो प्रकोप सायद त्यति साह्रो सम्हालिनै नसक्ने हुँदैन होला ।

तेस्रो लहरले बालबालिकालाई प्रभावित बनाउने भन्ने आंकलन गरिएको छ । धेरैजना आतंकित बनेको अवस्था छ । उनीहरुलाई नै किन जोखिम ?

कोरोना संक्रमण हुनबाट अलिकति भए पनि सुरक्षित हुने भनेको या त ऊ संक्रमित भएर हो या उसले अरु ढंगबाट सुरक्षित भएर हो । पहिलो र दोस्रो लहरको चरणमा बालबालिकाहरु धेरै संक्रमित भएका छैनन् त्यसले गर्दा बालबालिकामा जुन प्राकृतिक इम्युनिटी छ त्यो बालबालिकामा विकास हुन पाएको छैन । र, अर्को कुरा उनीहरुले खोप पनि पाएका छैनन् । त्यसले गर्दा अहिले बालबालिकाहरु बढी जोखिममा छन् । त्यसोभन्दा युवा तथा ज्येष्ठ नागरिक वा अरु उमेर समूहका नागरिक सुरक्षित भइसकेका छन् भन्ने पटक्कै होइन ।

जहाँसम्म बालबालिकालाई नै टार्गेट गरेर संक्रमण गर्ने भाइरस नै बन्छ भन्ने बारेमा म त्यति विश्वस्त छैन । भाइरस त्यसरी म्युटेट हुँदैन होला जसले लक्षित गरेर बालबालिकालाई मात्रै संक्रमित गराउँछ । त्यस्तो खालको वैज्ञानिक आधार बनेको छैन । तर, अब बालबालिकाहरु पनि त्यत्तिकै जोखिमपूर्ण अवस्थामा भएका कारण आउने चरणमा बढी संक्रमित हुन सक्छन् भनेर व्याख्या गरिएको होला ।

भाइरस म्युटेसन हुँदा कत्तिको आत्तिनुपर्ने अवस्था हुन्छ?

भाइरसले जहिल्यै आफूलाई रुपान्तरण गरिरहेको हुन्छ । यो नियमित प्रक्रिया हो । कोरोना भाइरसमात्र होइन अरु भाइरस पनि म्युटेट भइरहेका हुन्छन् । तर, म्युटेसन हुने चाहिँ दुईवटा दिशामा हुनसक्छ । या त त्यो म्युटेसन अझ आक्रमक ढंग वा बढी शक्तिशाली भएको हुन सक्छ वा त त्यो म्युटेसनले भाइरसलाई कमजोर पनि बनाउन सक्छ ।

जहाँसम्म हामीले डर मान्नुपर्ने कति खेर हो भने यदि नयाँ म्युटेट भाइरसले विगतका संक्रमितहरुमा जुन किसिमको प्राकृतिक इम्युनिटी बनाएका छन् त्यसलाई पनि बाइपास गर्ने वा अहिले लिइरहेको खोप पनि बाइपास गर्न सक्ने क्षमता हुन्छ कि भन्ने हो । तर, त्यति हुँदाहुँदै एउटा कुरा के मनन् गर्नुपर्छ भने अहिले पनि विविध किसिमका भाइरसहरु म्युटेट भइरहेका छन् । विभिन्न प्रकारको म्युटेसन हामीले देखे तापनि त्यसको विस्तार हुने माध्यम चाहिँ अहिलेसम्म परिवर्तन भएको छैन ।

जस्तो अहिले पनि कोरोना भाइरस एउटा स्रोतबाट अरुमा सर्ने फैलिने विधि त्यही नै हो । जुन ढंगबाट म्युटेसन भए पनि जनस्वास्थ्यका विधिहरुलाई हामीले एकदमै गम्भिरताका अनि इमानदारिताका साथ प्रभावकारी ढंगबाट अभ्यास गर्ने हो भने त्यो भाइरसको म्युटेसनले मात्रै संक्रमण विस्तार हुने र भयावह स्थितिमा पुग्ने अवस्था रहँदैन । त्यसैले हाम्रो आफ्नो अभ्यासले धेरै कुराहरु निर्धारण गर्छ ।

निषेधाज्ञा छ तर सबै खुकुलो भइरहँदा संक्रमण बढेको देखिन्छ । संक्रमण रोक्नका लागि निषेधाज्ञा आवश्यक छ ? छ भने अहिलेको मोडल कत्तिको ठीक छ?

हामीले बारम्बर भनेको कुरा निषेधाज्ञा भनेको संक्रमण विस्तारलाई रोक्ने एउटा विधि मात्र हो । यो मात्रै विधिले रोकिने होइन । त्यसकारण निषेधाज्ञा जारी गरेकै कारणले मात्र संक्रमणको विस्तार रोकिने होइन । निषेधाज्ञा सँगसँगै जनस्वास्थ्यका अरु विधि छन् त्यसलाई अभ्यास गर्न सकेनौँ भने निषेधाज्ञाले मात्रै संक्रमण रोकिँदैन ।

हामीले व्यवसायहरुलाई चलायमान गर्दागर्दै पनि त्यो चलायमयान गर्नु भनेको विगतमा जस्तै हाम्रो सामान्य जीवनशैलीमा फर्किन पटक्कै खोजेको होइन । हामीले त चलायमान हुँदाहुँदै पनि सुरक्षाका विधिहरुलाई अवलम्बन गर्न छोड्नुहुन्न ।

सुरक्षाका विधिलाई अभ्यास गर्न छाड्नुहुन्न भन्ने अर्थमा निषेधाज्ञालाई खुकुलो पारिएको हो । यो सन्देश त प्रवाह नभएको होइन । तर, नागरिकको तहबाट पनि यसको त्यति पालना भएन । र, सरकारकै तहबाट पनि यसलाई पालना गर्नका लागि उपयुक्त वातावरण बनाउनका लागि यथेष्ट प्रयासहरु चाहिँ भएजस्तो लाग्दैन ।

नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने आफ्नो ठाउँमा छँदैछ । आधिकारिक तहबाट मुल्यांकन हुनुपर्छ । अवलोकन तथा अनुगमन हुनुपर्छ । र, त्यसलाई कार्यान्वयन गराउनका लागि हरेक किसिमको अभ्यास गर्नुपर्छ । कहीँ कतै कुनै किसिमको निगरानी तथा अनुगमन भएको जस्तो मलाई लाग्दैन । चाहे त्यो बजारको कुरा होस् वा यातायात । अझ भनौँ सरकारी कार्यलयमा त्यो अनुगमन भइरहको छैन । अहिले हामीले जुन तहमा संक्रमणको विस्तार कम हुन्छ भनेर अपेक्षा गरेका थियौँ त्यो तहमा नघट्नु र अझै विस्तार हुँदै जानुको कारण पनि यही होला जस्तो लाग्छ ।

पहिलो लहरमा पूर्वाधार नभएर कोरोना नियन्त्रणमा अप्ठ्यारो भयो, दोस्रो लहरमा अक्सिजन नपाएर बिरामी मरे । तेस्रो लहरसँग जुध्न सरकार के कुरामा बढी केन्द्रित हुनुपर्छ?

स्पष्ट रुपमा के छ भने जुनसुकै लहर आए पनि कोरोना व्यवस्थापनका सिद्धान्त उही हुन् । मात्र के हो भने लहर भनेको विगतबाट सिकेका पाठहरुलाई कुन हदसम्म कार्यान्वयन गर्‍यौँ भन्ने मात्र हो । म विगतझैं ३ वटा नै कुरामा जोड दिन्छु । पहिलो कुरा संक्रमणको विस्तारलाई कसरी रोक्ने वा संक्रमणको त्यो चक्रलाई कसरी तोड्ने भन्ने हो । दोस्रो संक्रमितहरुको व्यवस्थापन कसरी गर्ने भन्ने हो । चाहे त्यो होम आइसोलेसनको कुरा होस् वा संस्थागत आइसोलसन होस् वा अस्तपाल व्यवस्थापनको कुरा होस् । र, तेस्रो पाटो भनेको चाहिँ कोभिडबाट हुने आर्थिक, सामाजिक तथा मानसिक प्रभावको व्यवस्थापन पनि हो । यी असर आमनागरिकमा संक्रमण भएको कारण वा नभएको कारणले पनि हुन सक्छ । कतिपय नागरिकहरुको व्यवसाय गुमेको छ । आर्थिक संकट परिरहेको छ । यी व्यवस्थापनमा हामी एकदमै कमजोर छौँ । राज्यले यसमा त्यति ध्यान दिएको जस्तो लाग्दैन ।

एउटा सकारात्मक पाटो के छ भने विगतबाट धेरै पाठ सिकेका छौं । के गर्ने भन्ने बारेमा हामीलाई अन्योलता छैन । कसरी गर्ने कार्यान्वयन भन्ने कुरा मुख्य चुनौती हो ।

अहिले हामीले क्लिनिकल टेस्टिङका आधारमा समुदायमा संक्रमणको अवस्था आंकलन गर्नुपर्ने बाध्यता छ । समुदायमा संक्रमणको अवस्था कस्तो छ भन्ने यहाँको के बुझाई छ ?

हामीले संख्यात्मक हिसाबबाट यसलाई क्वान्टिफाई गर्न सक्दैनौं । यसको विविध अनुमान छ । अहिले जति संक्रमितहरुको पहिचान भएका छन् त्यो भनेको वास्तविक संक्रमितहरुको कति प्रतिशत होला त ? क्वान्टिफाई गर्ने केही अनुमान त छ । तर, बटमलाइन चाहिँ के हो भने अहिले जति पहिचान भएका छन् त्योभन्दा धेरै पहिचान हुन नसकेका संक्रमितहरु समुदायमा छन् ।

२० हजारभन्दा बढी एन्टिजेन पोजिटिभको गणना तथ्यांकमा किन हुँदैन ?

अनुमान नै गर्ने हो भने यदि एकजना पहिचान भएको छ भने १० पहिचान नभएको होला । जति प्रतिवदेनमा देखिएको छ त्यो भनेको सम्पूर्ण संक्रमितहरुको १० प्रतिशत मात्रै हो भन्ने पनि एउटा अड्कल छ । ठ्याक्कै क्वान्टिफाई नै गरेर समुदायमा जम्मा कति संक्रमित भयो होलान् त्यो अनुमानको भर मात्रै हो ।

सार्वजनिक भइरहेका तथ्यांकलाई पूर्ण रुपमा विश्वास गरेर नीति नियम बनाउन मिल्ने अवस्था देख्नुहुन्छ ? अहिलेको तथ्यांकहरुबाट सन्तुष्ट हुनुहुन्छ ?

तथ्यांकहरुका बारेमा थुप्रै बहस चलिरहेका छन् । मन्त्रालयमा सूचना कसरी संकलन हुन्छ भन्ने विषयमा भित्रि तहबाट थाहा नहुँदासम्म खाली हाम्रो अनुमानमात्रै गर्ने कुरा हो । हामीले सूचना संकलन गर्न नसकेको पनि होला वा परीक्षण नै गर्न सकेका छैनौं । जति हामीले परीक्षण गर्न सक्यौं त्यसको मात्र हामीसँग सूचना हुने हो । यदि हामीले परीक्षण नै गर्न सकेनौं भने त्यो सूचनाको अर्थ हुँदैन । हामीसँग भएको सूचनालाई नै सही हो भन्न गाह्रो छ ।

सूचनाहरुको पनि ठीक ढंगबाट रिर्पोटिङ नभएको अथवा भएकै सूचनालाई ठीक ढंगबाट विश्लेषण नगरिएको पनि हुनसक्छ । यो कुरा त्यति सहज छैन भन्नलाई । तर, म एउटा कुरा के छ भन्न सक्छु भने जहाँसम्म संक्रमितहरुको संख्याको कुरा गर्ने हो भने अहिले जे जस्तो परीक्षण गरेर हामीसँग सूचना छ त्यो यथेस्ट छैन । त्यसैको आधारमा मात्रै हामीले भोलिको लागि प्रक्षेपण गरिहाल्नलाई नै त्यति सहज हुन्छ जस्तो लाग्दैन । दोस्रो कुरा हामीले के नकार्न सक्दैनौं भने भएकै सूचनाहरु पनि ठिक ढंगबाट रिर्पोटिङ भयो कि भएन अथवा सबै परीक्षण रिर्पोटिङ भयो कि भएन । यो पनि प्रश्नको घेरामा छ नी ।

केही समयअगाडि यसबारे बहस भएको थियो । कतै हाम्रो तथ्यांकमा केही मिसिङ त भइरहेको छैन ? तर, शुद्धताको कुरा गर्दा हामीले बहस गर्नुपर्छ । यो कति हदसम्म सही छ भन्ने बारेमा यसको विश्लेषण गर्नुपर्छ ।

समुदायमा सर्भेलेन्स गर्नका लागि एन्टिजेन परीक्षणलाई बढावा दिनुपर्ने होइन ? अनि त्यसको तथ्यांकलाई विश्लेषणको आधार मान्नुपर्ने होइन ? के भन्नुहुन्छ ?

हाम्रो स्थितिको मूल्यांकन गर्ने र त्यो मूल्यांकनको आधारमा भोलिका सम्भावित स्थितिको प्रक्षेपण गर्ने भनेको त तथ्यांकले नै हो । र, त्यो तथ्यांक लिने थुप्रै उपायहरु छन् । ती उपायमध्ये एन्टिजेन परीक्षण पनि हो । यो परीक्षण गरेर पनि हामीले संक्रमितहरुको पहिचान गर्न सक्छौँ । यसको गुणस्तरबारे केही प्रश्न छन् । यसले कति हदसम्म गुणात्मक नतिजा दिन्छ भन्ने पाटोमा छँदैछ । त्यो जुनसुकै परीक्षणमा पनि उठाउनै पर्ने प्रश्न हो । अब आमसमुदायमा पीसीआर जस्तो परीक्षण गरेर तथ्यांक संकलनका लागि सर्भेलेन्स गर्न सकिँदैन । त्यो प्राविधिक तथा व्यवहारिक रुपमा कठिन छ । एन्टिजेन टेस्टलाई नै आधार मान्नुपर्छ ।

क्वालिटी एन्टिजेन टेस्टहरु ठीक ढंगबाट गरियो भने त्यसबाट भरपर्दो तथ्यांक हामी जेनेरेट गर्न सक्छौं । तथ्यांक त हामीलाई चाहिन्छ । हामीले अन्धकारमै योजना बनाएर त हुँदैन नि ! प्रक्षेपण र योजना बनाउने आधार त तथ्यांक नै हो ।

खोप अभियान पनि जारी छ, मानिसहरुले खोप पनि पाइरहेका छन् ? यसले तेस्रो लहरको क्षति रोक्न कत्तिको मद्दत गर्ला ?

खोप भनेको हाम्रा लागि असाध्यै सौभाग्यपूर्ण अवसर हो । वास्तवमा दोस्रो चरणको सुरुवातीका बेला पनि खोपको परिकल्पना गर्न सकेका थिएनौँ । नेपालले असाध्यै सुखद् रुपमा खोप अभियान सुरु गर्‍यो । खुसीको कुरा हो कि हामीले खोप पायौं । तर, दुर्भाग्य जसरी खोप अभियान सुरु गर्‍यौँ त्यसलाई निरन्तरता दिन सकेनौँ । बीचमा धेरै अवरोध आए । त्यसले गर्दा आशा गरेजस्तै खोप पाउन सकेनौं ।

खोप अभियानको कुरा गर्दा तीनवटा पाटोलाई असाध्यै महत्वपूर्ण ढंगबाट व्यवस्थापन गर्नुपर्छ । खोप महँगो छ । आर्थिक व्यवस्थापनको माग गर्छ । नेपालको सन्दर्भमा के छ भने नेपालले कम्तीमा खोपको लागि भनेर आर्थिक संकट व्यहोर्नु परेको छैन । सरकारले नै छुट्याएको पैसा खर्च गर्न सकेको छैन । दातृ निकयाबाट पनि सहयोग आइरहको छ । दोस्रो पाटो के हो भने पैसा भएर मात्र पुग्दैन उत्पादन र मागको जुन असन्तुलन छ त्यसलाई व्यवस्थापन गर्नका लागि सरकारले असाध्यै प्रभावकारी ढंगबाट भूमिका खेल्नुपर्दछ । कूटनीतिक सम्बन्धको एकदमै भूमिका छ ।

अर्को महत्वपूर्ण पाटो हो आन्तरिक व्यवस्थापन । खोपलाई सही ढंगबाट भण्डारण गर्ने, वितरण गर्ने अनि देशका सबै ठाउँमा न्यायपूर्ण ढंगबाट वितरण हुनुपर्छ । वितरण भएपछि पनि त्यहाँबाट नागरिकको पहुँचमा त्यो सहज रुपले पुग्नुपर्‍यो । अहिले खोपको लाइनमा घण्टौं उभिएका छन् नागरिकहरु काठमाडौँमा नै । खोप केन्द्रमा अलि मात्र वृद्धि भएको भए समस्या आउँदैन थियो होला । खोपका लागि सरकारले अनलाइन रजिस्ट्रेसन पनि सुरु गरेको छ । यो विधि सबै नागरिकको लागि उपयुक्त नहोला । अरु विधि पनि खोजिनुपर्छ । मूल रुपमा खोप आवश्यक पर्ने नागरिकहरु खोप पाउने अधिकारबाट वञ्चित हुनु हुँदैन ।

खोपकै कारणले मात्र तेस्रो चरणलाई सम्बोधन गर्न सक्छौं भन्ने होइन । तेस्रो चरणको लागि होइन खोप भनेको दीर्घकालीन रुपमा हो । जति पनि चरण आओस् दीर्घकालीन रणनीति हो खोप । खोप लगाउँदैमा तेस्रो चरण रोकिहाल्छ भनेर भ्रम पाल्नुहुन्न । तेस्रो चरणको नियन्त्रणका लागि जनस्वास्थ्यका विधि र संक्रमितको व्यवस्थापनको तयारी नै जरुरी हो ।

प्रकाशित : श्रावण १९, २०७८ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?