कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

२० हजारभन्दा बढी एन्टिजेन पोजिटिभको गणना तथ्यांकमा किन हुँदैन ?

यदि एन्टिजेन परीक्षणलाई सक्रिय संक्रमितका रुपमा गणना नगर्ने भए सरकारले सो परीक्षणलाई मान्यता नै किन दिएको छ भन्ने पनि प्रश्न उठ्छ । त्यसो भए के त मृतकको संख्यामा गणना गरिएकाहरु सबै पीसीआरबाट मात्रै पोजिटिभ देखिएकाहरु हुन् त ?
स्वरूप आचार्य

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गर्न एन्टिजेन किटको प्रयोगलाई बढाउँदै लगे पनि त्यसमा पोजिटिभ देखिएकाहरुलाई सक्रिय संक्रमितका रुपमा तथ्यांक विश्लेषणमा भने गणना नगरेको देखिएको छ ।

२० हजारभन्दा बढी एन्टिजेन पोजिटिभको गणना तथ्यांकमा किन हुँदैन ?

मन्त्रालयले हालसम्म कुल १ लाख ७ हजार ८ सय २९ जनाको एन्टिजेन परीक्षण गरेको र त्यसमा कुल २० हजार ४ सय ७० जना संक्रमित रहेको पाइएको उल्लेख छ । यद्यपी यो संख्यालाई मन्त्रालयले आफ्नो सक्रिय संक्रमितको संख्यामा राखेर गणना गरेको भने देखिन्न । एन्टिजेन परीक्षणमा संक्रमित देखिनेको दर करिब १९ प्रतिशत रहे पनि त्यसलाई तथ्यांक विश्लेषणमा सामेल नगरिनु उचित भने होइन ।

सक्रिय संक्रमितमा गणना नगरिएसँगै उक्त संख्यालाई निको हुनेको संख्या र मृत्यु हुनेको संख्यामा पनि हिसाब गरिएको छ या छैन यकिनसाथ भन्न सकिने अवस्था छैन । त्यसो भए ती संक्रमित कहाँ गए ? गहन प्रश्न यही नै हो ।

यदि एन्टिजेन परीक्षणलाई सक्रिय संक्रमितका रुपमा गणना नगर्ने भए सरकारले सो परीक्षणलाई मान्यता नै किन दिएको छ भन्ने पनि प्रश्न उठ्छ । त्यसो भए के त मृतकको संख्यामा गणना गरिएकाहरु सबै पीसीआरबाट मात्रै पोजिटिभ देखिएकाहरु हुन् त ?

तथ्यांकमा हराइरहेका २० हजारभन्दा बढी संक्रमितका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलको बुझाइ स्पष्ट छ । उनको भनाइमा एन्टिजेन परीक्षण गरिएका व्यक्तिहरुको पूर्ण विवरण स्थानीय स्तरबाट प्राप्त नभएकोले त्यसलाई तथ्यांकका रुपमा सामेल गर्न नसकिएको हो । त्यसैले गर्दा अहिलेको यो समस्या पनि देखिएको हो । ‘खासमा स्थानीय तहबाट एन्टिजेन पोजिटिभ देखिएकाहरुको पूर्ण विवरण हामीलाई पठाइएको छैन,’ उनले भने, ‘त्यसैले केही दिनयता त्यसलाई छुट्टै राखेर सिचुएसन रिपोर्टमा भने जनाउने गरेका छौं ।’ उनका अनुसार मन्त्रालयले आफ्नो डाटाबेसमा तथ्यांक इन्ट्री गर्नका लागि सबै स्थानीय तहलाई आग्रह गरेको छ । ‘हामीले तथ्यांक इन्ट्री नभएर किट नै दिन्न समेत भनेका छौं,’ उनले भने, ‘काठमाडौं महानगरपालिकाबाट त अब विस्तारै तथ्यांक आउन थालेको छ ।’

स्वास्थ्य आपत्कालीन कार्यसञ्‍चालन केन्द्र (एचईओसी)का प्रमुख डा. समिर अधिकारीका अनुसार मन्त्रालयले संक्रमित पाइएका सबैलाई १० दिनपछि निको भएको ठहर गरेर आफ्नो तथ्यांकमा अपडेट गर्छ । यस्तै विभिन्न स्थानमा कोरोनाका कारण मृत्यु भएको विवरण प्राप्त भएपछि त्यसलाई पनि अपडेट गर्छ । ‘एन्टिजेन वा पीसीआरमा कुनै पनि पोजिटिभ देखिएर मृत्यु भएको छ भने हामी त्यसलाई तथ्यांकमा जोड्छौं । सेनाबाट भए पनि मृतकको विवरण प्राप्त हुन्छ,’ उनले भने, ‘त्यसैले एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएकाहरु हराएका छैनन् । पूर्ण विवरण नभएकाले तथ्यांकमा नदेखिएका मात्रै हुन् ।’

सक्रिय संक्रमित र निको हुनेहरुको तथ्यांकमा एन्टिजेन पोजिटिभलाई नजोडिए पनि मृत्युको संख्यामा भने जोडिएको दाबी गरे पनि वास्तावमा त्यो तथ्यांकमा भने देखिँदैन ।

कोरोनाको पहिलो लहरदेखि नै यससम्बन्धी तथ्यांकको विश्लेषण गरिरहेका विज्ञान विषयका अध्ययता दोर्जे गुरुङका अनुसार भने एन्टिजेन पोजिटिभ देखिएकाहरुको सख्यांलाई कहीँ कतै पनि गणना गरिएको छैन । उनका अनुसार जेठ ३० गतेसम्म नेपालमा पीसीआर गरेर फेला परेका कुल संक्रमितको संख्या ६ लाख ८ हजार ४ सय ७२ रहेको छ । त्यसलाई हालसम्म निको भएका ५ लाख ३१ हजार १ सय ५, सक्रिय संक्रमित रहेका ६८ हजार ९ सय ५५ र मृत्यु भएका ८ हजार ४ सय १२ को योगफललाई कुल संक्रमितबाट घटाउँदा शुन्य हुन आउँछ । त्यसको मतलब सो संख्यामा हालसम्मका करिब २० हजार बढी एन्टिजेन पोजिटिभ देखिएकाहरुलाई गणना गरिएको छैन ।

‘पहिलो कुरा त एन्टिजेन पोजिटिभलाई कतै पनि तथ्यांकमा गणना गरिएको छैन,’ उनले भने, ‘तर यदि मृतकको संख्यामा भने गणना गरिन्छ भनेर मन्त्रालयले दाबी गर्छ भने त्यो गलत हुन्छ । किनभने त्यस्तो गर्दा केस फ्याटालिटी रेट देखि निको हुने दरलाई समेत असर गर्छ ।’

पपुलेसन हेल्थका विज्ञ डा. विशाल भण्डारीका अनुसार एन्टिजेनमा पोजिटिभ देखिएकाहरु सक्रिय संक्रमित हुन् । ती संक्रमितले अरुलाई संक्रमण सार्न सक्ने सम्भावना जति धेरै छ त्यति नै धेरै उनीहरु आफैं गम्भीर हुने सम्भावना पनि बढी हुन्छ । तर, त्यस्ता संक्रमितलाई तथ्यांकमा गणना नगर्नु भनेको ठूलै कमजोरी हो । ‘यदि त्यसलाई गणना नगरिएको हो भने कहाँ संक्रमणको जोखिम कस्तो छ भन्ने यकिनसाथ भन्न नसकिने अवस्था हुन्छ,’ उनले भने, ‘त्यसमाथि पनि एन्टिजेन पोजिटिभ आउनु भनेको संक्रमण सक्रिय अवस्थामा नै छ भन्ने हो ।’

प्रकाशित : जेष्ठ ३१, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?