जोखिम मोलेर उपचार, भत्ता लिन आन्दोलन

सीमा तामाङ

काठमाडौँ — कोभिडको जोखिम भत्ता माग गर्दै युनिफाइड केन्द्रीय अस्पताल (वीर) का स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन गरेपछि सरकारले अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गरेको छ । डा. गौतम प्रसूति गृह पुगेका छन् तर वीरलगायतका अस्पतालमा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको भत्ता के हुन्छ ? मूल प्रश्न जहाँको त्यहीँ छ । 

जोखिम मोलेर उपचार, भत्ता लिन आन्दोलन

जोखिम भत्ता माग गर्दै पटकपटक आन्दोलन गर्दै आएका स्वास्थ्यकर्मीले आइतबार धर्ना सुरु गरेका थिए । तर प्रहरीले हस्तक्षेप गरेपछि कर्मचारीले आन्दोलन झन् कडा बनाएका छन् । डा. गौतम सरुवा भए पनि जोखिम भत्ताबारे सरकारले स्पष्ट बताएको छैन ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारी कोभिड जोखिम भत्ता माग गरेका स्वास्थ्य संस्थालाई भुक्तानी गरिसकेको दाबी गर्छन् । ‘कोरोना उपचार गर्ने संस्थाले उपचारमा संलग्न कर्मचारी र स्वास्थ्यकर्मीको विवरणसहित कसलाई कति दिने भनेर सिफारिस नै गरेका थिए,’ उनी भन्छन्, ‘सिफारिसअनुसार नै भुक्तानी गरिसक्यौं ।’

तर वीर अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्की भने स्वास्थ्यकर्मी तथा कर्मचारीले गत वर्षकै जोखिम भत्ता पाउन बाँकी रहेको बताउँछन् । ‘गत वर्ष वैशाख र जेठको पूरा तथा असार महिनाको १५ दिनको मात्र भत्ता पायौं,’ उनले भने, ‘त्यसपछि हालसम्म जोखिम भत्ता पाएका छैनौं । सरकारले पठाइसक्यो भन्ने सुने पनि हामीले पाएका छैनौं ।’

त्यस्तै अस्पतालले नै दिने तलबको ५० प्रतिशत सेवा विस्तार भत्ता पनि ६/७ महिनादेखि नपाएको गुनासो उनले गरे । ‘अस्पतालले कर्मचारीलाई औषधि उपचार खर्च भनेर आर्थिक वर्षको अन्त्यमा दिन्थ्यो, त्यो पनि पाएका छैनौं,’ उनले भने, ‘अस्पतालले अधिकृतस्तरका कर्मचारीलाई तलब बराबरको एक महिनाको र अरूलाई डेढ महिनाको दिइन्थ्यो । अहिलेसम्म गत वर्षको पनि पाएका छैनौं ।’

त्यस्तै, निजामती कर्मचारी अस्पतालका स्वास्थ्यकर्मी डा. दीपक पौडेलले अहिलेसम्म कोभिड जोखिम भत्ता नै नपाएको गुनासो गरे । ‘अहिले सरकारले पैसा पठायो भन्ने जानकारी आएको छ, तर कहिलेदेखि दिन्छ अथवा दिँदैन भन्ने केही जानकारी छैन ।’ अस्पतालकै कोभिड फोकल पर्सन डा. सुमनबाबु मरहठ्ठाले कोभिडको पहिलो लहरमा थोरैथोरै भत्ता पाएको र दोस्रो लहरको भत्ता मन्त्रालयबाट आएपछि अब वितरणको प्रक्रियामा रहेको बताए । ‘दोस्रो लहरमा भत्ता पाएका छैनौं तर अस्पताल प्रशासनले हिसाबकिताब गरिरहेको र छिट्टै वितरण हुने आश्वासन पाएका छौं,’ उनले भने, ‘तर यसका लागि कति समय लाग्ने हो, थाहा छैन ।’ कोभिडको पहिलो लहरमा समेत सरकारले पठाएको सबै खर्च कटाएर बाँकी रहेको रकम मात्र वितरण गरिएको उनले बताए ।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी डा. रामविक्रम अधिकारीले सरकारले घोषणा गरेअनुसार भत्ता नपाएको बताए । सरकाले जोखिम भत्ताको मापदण्ड तोके पनि त्योअनुसार पैसा नपठाउँदा जोखिम भत्ता वितरण गर्न गाह्रो भएको उनले बताए । ‘सरकारले बिरामीको संख्या गनेर पैसा पठाउने हो,’ उनले भने, ‘बिरामीको उपचारमा कति पैसा लाग्छ भने यकिन हुँदैन, त्यसैले बाँकी रहेको पैसा सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई बाँड्यौं ।’

फ्रन्टलाइनरहरूलाई ६० प्रतिशत तथा अन्य कर्मचारीलाई तलबको ३० प्रतिशतको हिसाबले भत्ता दिएको उनले जानकारी दिए । उनले भने, ‘कोभिडको पहिलो लहरमा ५/६ महिनाको जोखिम भत्ता भन्दै केही रकम दियौं । त्यसपछि दिएका छैनौं ।’ सरकारले घोषणा गरेअनुसार पैसा नपठाएकाले अस्पतालहरू पनि अन्योलमा रहेको उनको भनाइ छ ।

उता, सशस्त्र प्रहरी बल अस्पतालका डा. प्रवीन नेपाल यस वर्षको असारसम्मको भत्ता पाए पनि गत वर्षको पाए/नपाएको भन्ने विषयमा द्विविधामा परे । ‘गत वर्ष जम्मा ४२ दिनको भत्ता पायौं,’ उनले भने, ‘त्यसैले पायौं भन्ने कि पाएनौं भन्ने हो, आफैं अलमलमा छौं ।’ तर ४२ दिनको भत्ता पनि कोभिडकै बजेटबाट होइन, अस्पतालले आन्तरिक स्रोतबाट जुटाइएको उनले बताए ।

उपत्यकाकै अन्य अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले भत्ता नपाए पनि नेपाल प्रहरी अस्पताल र पाटन अस्पतालका कर्मचारीले भनेर भत्ता पाइरहेको जनाएको छ । प्रहरी अस्पतालका डीआईजीपी डा. सुन्दर हैजुले सरकारले तोकेअनुसार जेठसम्मको जोखिम भत्ता पाइसकेको जानकारी दिए । असारदेखि यताको मात्र पाउन बाँकी रहेको उनले बताए । त्यस्तै पाटन अस्पतालका कोभिड फोकल पर्सन डा. आशिष श्रेष्ठले पनि असारसम्मको भत्ता पाइसकेको जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले कोरोना पहिलो लहरमा गत वर्षको कात्तिकसम्म र दोस्रो लहरमा यस वर्षको वैशाखदेखि असारसम्मको भत्ता पाएको जानकारी दिए । ‘कोरोनाको पहिलो र दोस्रो लहरको बीचमा गत वर्षको मंसिरदेखि चैतसम्म पनि हाम्रो अस्पतालमा बिरामी थिए, हामीले काम गरेका थियौं भनेर मन्त्रालयलाई चिठी काटेका छौं,’ उनले भने, ‘त्यसको पनि छिट्टै शोधभर्ना हुनेवाला छ ।’

प्रकाशित : श्रावण १९, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?