काठमाडौँ — संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ महामारी प्रतिकार्यमा उपयोग गर्न ८ सय थान अक्सिजन सिलिन्डर स्वास्थ्य सेवा विभागलाई सहयोग गरेको छ ।
नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि हसिना बेगमले सोमबार १ करोड १९ लाख रुपैयाँ (१ लाख अमेरिकी डलर) मूल्य बराबरको सिलिन्डर विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई हस्तान्तरण गरेकी हुन् ।
प्राप्त सहयोग नेपाल सरकार, चीन सरकार र यूएनएफपीएबीचको विद्यमान दक्षिण–दक्षिण र त्रिकोणीय सहयोग परियोजना सम्झौताअन्तर्गत चीन सरकारबाट प्राप्त आर्थिक सहयोगका कारण सम्भव भएको विज्ञप्तीमा उल्लेख छ ।
कोभिड–१९ को दोस्रो लहरविरुद्ध संघर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभाव भोग्नुपरेको थियो । ‘हामीलाई अहिलेको आपतकालीन स्थितिको सामना गर्न र सम्भावित तेस्रो लहरका लागि तयारी गर्न अक्सिजन चाहिन्छ । यो सहयोगले अक्सिजन आपूर्ति सहज हुन नसकेका स्वास्थ्य संस्थामा पहुँच बढाउन मद्दत गर्नेछ,’ टिंकरीले भने, ‘कोभिड–१९ प्रतिकार्यमा अन्तर्राष्ट्रिय विकास साझेदारसँगको साझेदारीको हामी कदर गर्दछौं ।’
