कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा छन्’

बुनु थारु

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) संक्रमण हरेक उमेर समूहमा हुन सक्छ । जसमा बालबालिका पनि जोखिममा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमुनिका २ हजार १ सय ९८ जना बालबालिका संक्रमित भइसकेका छन् । संक्रमितमध्ये अधिकांश ११ वर्षमाथिका छन् । ५ सय २ जना १० वर्षमुनिका छन् । बिहीबार मात्रै १० वर्षमुनिका ४८ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ ।

‘बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा छन्’

कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलसँग नेपालका बालबालिकामा कोभिड-१९ संक्रमणको अवस्थालगायतका विषयमा बुनु थारूले गरेको कुराकानी :

बालबालिकामा कोभिड–१९ को जोखिम कत्तिको हुन्छ ?

कोरोना संक्रमण सबै उमेर समूहमा देखिए पनि सामान्यतया बालबालिकालाई वयस्कहरूले कोभिड–१९ को जोखिम गराउन सक्छन् । बालबालिकामा अभिभावक तथा घरका सदस्यबाट संक्रमण सरेको देखिएको छ । बालबालिकाबीच पनि सर्ने जोखिम त रहन्छ तर अहिले विश्वभर विद्यालय बन्द छन् । त्यसैले संक्रमण कम छ । उनीहरूलाई घरपरिवारका सदस्यबाट सर्ने जोखिमचाहिँ बढी हुन्छ । एक तथ्यांकमा चीनको वुहानमा ८२ हजार मानिस संक्रमित हुँदा २१०० जति बालबालिकामा मात्र संक्रमण देखिएको थियो । त्यो भनेको कम्तीमा २.६ प्रतिशत हुन आउँछ ।

अमेरिकामा गरिएको एक अध्ययनमा १.७ प्रतिशत बालबालिकामा संक्रमण देखिएको थियो । नेपालको तथ्यांक हेर्ने हो भने १४ हजार संक्रमित नाघिसक्दा ०–१० वर्ष उमेरकामा ४०० जनाभन्दा बढीमा संक्रमण देखिएको छ भने ११–२० वर्ष उमेर समूहका करिब ३ हजार जनामा संक्रमण पुष्टि भएको छ । बुधबारसम्म १८ वर्षमुनिका २ हजार ६१ बालबालिकामा संक्रमण देखिएको छ । यसरी नेपालमा कोभिड संक्रमित बालबालिका २० देखि ३० प्रतिशत हाराहारी छन् ।

विदेश र भारत जाने बालबालिका वा किशोरकिशोरीको जनसंख्या हेर्ने हो भने १५–१९ वर्ष उमेर समूहमा बढी देखिएको छ । त्यसमा पनि बालबालिकामा १४–१५ वर्षकामा बढी छ । त्यसैगरी १० देखि अलि सानो उमेरमा कम देखिएको छ । जो बालबालिका संक्रमित वयस्कहरूकामा बढी सम्पर्कमा आउँछन् र जो घरबाहिरका काममा धेरै जान्छन्, उनीहरूलाई बढी जोखिम हुन्छ । विद्यालय बन्द भएकाले स्कुल जाने उमेरका (५ देखि १५) लाई संक्रमणको जोखिम कम भएको हो कि भन्ने लाग्छ ।

विश्व र नेपालको तुलना गर्दा बालबालिकामा संक्रमणको अवस्था कस्तो छ ?

पक्कै पनि संक्रमणको अवस्था अन्य देशमा भन्दा फरक छ । तथ्यांक हेर्दा नेपालमा बालबालिकामा बढी संक्रमण देखिएको छ । यसका विभिन्न कारण हुन सक्छन् । जस्तै– चीनको कुरा गर्दा जनसंख्या वृद्धिदर कम छ । एक जोडीले एउटामात्र बच्चा पाउँछन् । बालबालिका कम छन् । नेपालमा अरू देशको भन्दा जनसंख्या वृद्धिदर बढी छ । १.३५ प्रतिशत छ । एउटा जोडीले कम्तीमा २ जना बच्चा जन्माइरहेका हुन्छन् ।

त्यसैगरी बाहिर र नेपालको कुरा गर्दा बालबालिका हेर्ने चलन पनि फरक छ । हामी बच्चाहरूलाई काखमै राखेर बोक्छौं, सँगै सुताउँछौं । आमाबाबुले नै ठूलो हुँदासम्म खुवाइदिने गर्छन् । विदेशतिर बच्चाहरूलाई छुट्टै सुताइरहेका हुन्छन् । छुट्टै हिँडाउँछन् । नेपालमा अरू देशको तुलनामा बढी देखिनुको कारण आमाबाबुसँगको बढी सामीप्यता पनि हुन सक्छ । त्यसका साथै १५–१६ वर्षका किशोरकिशोरी धेरै कमाउन जाने गर्दछन् । बालबालिकामा जोखिम बढ्नुका कारण सानो उमेरमै काम गर्न विदेश जानुपर्ने पनि एउटा कारण हुन सक्छ ।

कान्ति बाल अस्पतालमा बालबालिकाको उपचार कसरी भइरहेको छ ?

हामीले १५ वर्षभन्दा मुनिका बालबालिकाको मात्र उपचार गर्दै आएका थियौं । अब १८ वर्ष उमेर समूहसम्मका लागि पनि उपचार गर्ने सोचेका छौं । किनकि विश्व स्वास्थ्य संगठनले पनि १८ वर्षसम्मका लागि बालबालिका मानेको छ ।

ओपीडी र इमर्जेन्सीमा आउने बालबालिकालाई हात धुन लगाएर, ज्वरो नापेर पठाउने गरेका छौं । त्यसैगरी धेरै कुरुवा नआउन् भनेर गेटमा पासको व्यवस्था गरिएको छ । यद्यपि त्यो हाम्रा लागि चुनौतीपूर्ण छ । एउटै बच्चाका लागि कम्तीमा २ जना कुरुवा आउने गरेका छन् । ज्वरोबाहेक अन्य बिरामीलाई छुट्टै कक्षमा हेर्ने व्यवस्था छ । लकडाउनपछि पनि ओपीडी नियमित चलिरहेको छ । सबै पेइङ क्लिनिक वा विस्तारित सेवा र मिति दिएर सार्न मिल्ने अप्रेसन भने सुरु गरिएको छैन ।

लकडाउनले बिरामीको संख्यामा कमी आएको छ । लकडाउन तथा सार्वजनिक यातायात नखुलेर पनि हो, बिरामी आएका छैनन् । ओपीडीमा यो समयमा सामान्यतया ४०० देखि ५०० बालबालिका आउँथे । अहिले १०० जनाजति मात्रै आइरहेका छन् । इमर्जेन्सीमा दैनिक ३०० देखि ४०० सम्म आउँथे, अहिले ६० देखि ७० जनाजति आउने गरेका छन् । अहिले धेरै टाढाबाट मात्रै आउने गरेका छन् । कोही रेफर गरिएका, आईसीयू चाहिनेहरू महँगो भाडा तिरेर, एम्बुलेन्स रिजर्भ गरेर आउने गरेका छन् । त्यसैले आईसीयू बेड लकडाउनभरि कहिल्यै पनि खाली भएको छैन । सर्जिकल प्रक्रियाहरूमा इमर्जेन्सी अप्रेसनहरू भइरहेको छ । लकडाउनले गर्दा बिरामीको संख्यामा कम भए पनि सेवाहरू रोकिएको छैन ।

कोभिड रोकथामका लागि अस्पतालले कस्तो तयारी गरेको छ ?

कोभिड शंकास्पद बिरामीका लागि हामीले इमर्जेन्सी र बहिरंग कक्षमा जाँचका लागि छुट्याएका छौं । ज्वरो र श्वासप्रश्वासका बिरामीलाई स्वास्थ्यकर्मीले पीपीई लगाएर हेर्छन् । शंकास्पद लक्षण छ र परीक्षण गर्नुपर्छ भने आइसोलेसन वार्डमा राख्छौं । आइसोलेसन बेड ३ वटा लेभलमा बनाएका छौं । स्वास्थ्यकर्मीले परीक्षण गर्दा बच्चाको स्वास्थ्य स्थिर छ र मुखको औषधि वा ज्वरोको औषधि दिएर हुनेलाई लेबल १ को आइसोलनमा राख्छौं । यसमा अभिभावक सावधानी अपनाएर बस्न सक्छन् र स्वाब लिएर परीक्षणका लागि पठाइन्छ ।

बच्चामा निमोनियाको लक्षण छ, सुईबाट औषधि दिनुपर्ने, स्लाइन दिनुपर्ने तथा अक्सिजन लिनुपर्ने छ भने लेभल २ को आइसोलेसनमा राख्छौं । सास फेर्न गाह्रो हुने, रेस्पिरेटरी फेलियर हुन लागेका बच्चा छन् र कुनै जोखिमयुक्त ठाउँबाट सम्पर्कमा आएका छन् भने लेभल ३ को आइसोलेसनमा राख्छौं । त्यसमा आईसीयूसरहको सुविधा हुन्छ । लेभल १ को आइसोलेसनमा १० बेड छ, लेभल २ मा ८ र लेभल ३ मा ३ बेड छ । आवश्यकताअनुसार यसलाई बढाउँदै लानुपर्ने हुन्छ ।

हालसम्म कतिवटा स्वाब परीक्षण गरिएको छ ?

दैनिक ४ देखि ६ जनाको स्वाब परीक्षणका लागि पठाउने गरेका छौं । आरडीटी परीक्षण हालसम्म ५२८ जनाको भएको छ भने पीसीआर १७५ जनाको गरिएको छ । भाग्यमानी भन्नुपर्छ, हालसम्म कुनै पनि नमुना पोजिटिभ देखिएको छैन ।

अहिले कस्ता खालका बिरामी बढी आएका छन् ?

यो मौसममा अघिल्ला वर्षजस्तै प्राय: रुघाखोकी, श्वासप्रश्वास र निमोनियाका बिरामी आउने गरेका छन् । वर्षातको मौसममा पानीबाट सर्ने रोगहरू बढी छन् । झाडापखाला, आउँ, जन्डिस, टाइफाइड बढी देखिएको छ । त्यसैगरी मलेरिया, डेंगु आदि पनि देखिन्छन् । पोहोर यो समयमा डेंगुका बिरामी धेरै थिए । अहिले झाडापखाला र श्वासप्रश्वासका बिरामी बढी आएका छन् ।

सेवा विस्तारको तयारी कस्तो छ ?

आईसीयू पूर्ण रूपमा चलाउँदा अहिले ३६५ बेड हुन्छ । स्वीकृत बेड भने ३२२ हो । अहिले हामीले ३३० देखि ३४० वटा बेड चलाएका छौं । आईसीयूको पूर्ण बेडका लागि दरबन्दी छैन । पूर्ण क्षमतामा आईसीयू चलाउन सकिएको छैन । त्यसबाहेक बिस्तारै अस्पताललाई ५०० बेडदेखि ७५० बेडको बनाउने हिसाबले गुरुयोजना तयार गरेका छौं । यो वर्षको नीति तथा कार्यक्रममा पनि कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थान बनाउने कार्यक्रम छ । यसका लागि अवधारणापत्र तयार हुँदै छ, त्यसमा अस्पताल विस्तार बनाउने कुरा आउँछ ।

त्यसैगरी अस्पतालमा कोभिड जोखिमका लागि इन्फेक्सन प्रिभेन्सन कमिटीलाई सक्रिय बनाएका छौं । कमिटीले अस्पतालमा भएका सरसफाइको निरीक्षण, स्वास्थ्यर्मीहरूलाई सुरक्षित रहन तालिम दिने आदि काम गर्छ । संक्रमणको जोखिम कम होस् भनेर स्टाफहरूको सिफ्ट पनि त्यहीअनुसार मिलाइएको छ ।

प्रकाशित : असार १९, २०७७ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?