कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बालबालिकामा संक्रमण बढ्दो

शिक्षण अस्पतालमा बिहीबार एक शिशुको कोरोनाका कारण मृत्यु, ११–१८ वर्षकामा बढी संक्रमण, संक्रमितमध्ये अधिकांश विदेशबाट अभिभावकसँगै फर्किएका, बालबालिकामा संक्रमण दर उच्च रहेकाले सतर्कता अपनाउन विज्ञको आग्रह
फातिमा बानु

काठमाडौँ — नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । बुधबार अर्थात् असार १७ गते मात्रै एक शिशुको राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । म्याग्दी घर भएका उनको शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनलाई असार ९ गते घाँटीको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो । शल्यक्रियापछि श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

बालबालिकामा संक्रमण बढ्दो

सुरुवाती अवस्थामा थोरै बालबालिकामा संक्रमण देखिएको थियो, असारमा यो संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमुनिका २ हजार १ सय ९८ जना बालबालिका संक्रमित भइसकेका छन् । संक्रमितमध्ये अधिकांश ११ वर्षमाथिका छन् । ५ सय २ जना १० वर्षमुनिका छन् । बिहीबार मात्रै १० वर्षमुनिका ४८ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये अधिकांश विदेशबाट अभिभावकसँगै फर्किएका बालबालिका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बालबालिकामा संक्रमण देखिए समुदायमा रोग फैलिने जोखिम भएकाले सतर्क रहन उनले आग्रह गरेका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार एक वर्षमुनिका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूमा संक्रमण सर्ने जोखिम बढी छ । संक्रमितको घरमा कम उमेरका बालबालिका छन् भने बढी सजग हुनुपर्ने उनले बताए । ‘साना बच्चालाई नियममा बाँधेर राख्न पनि गाह्रो हुन्छ, त्यसैले घरका अरू सदस्य बढी सतर्क हुनुपर्छ,’ उनले भने, ‘संक्रमितले त बच्चालाई छुँदा पनि नछोएको राम्रो ।’ दूधबाट कोरोना संक्रमण नसर्ने भएकाले विशेष सावधानी अपनाएर आमाले शिशुलाई दूध चुसाउन सक्ने उनले बताए । ‘मास्क, पन्जा लगाएर दूध खुवाउन सकिन्छ तर माया लाग्यो भनेर काखमा खेलाउन भएन,’ उनले भने, ‘संक्रमणमुक्त नभएसम्म आमा र बच्चालाई छुट्याएर राख्नुपर्छ ।’

नेपालमा कुपोषणका बालबालिका बढी भएकाले यो उमेर समूहमा संक्रमणको जोखिम धेरै रहेको उनले बताए । कुपोषणका बालबालिका रोगसँग लड्न नसक्ने भएकाले संक्रमण भएमा मृत्युसमेत हुन सक्ने उनको भनाइ छ । बालबालिकालाई सकेसम्म घरबाहिर भीडभाडमा नलैजाने, लैजानै परे मास्क लगाएर, भौतिक दूरी कायम गरेर बचाउनुपर्ने उनले बताए ।

कान्ति बाल अस्पतालका निर्देशक तथा बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलका अनुसार अन्य मुलुकको तुलनामा नेपालका बालबालिकामा कोरोनाको संक्रमण दर उच्च देखिएको छ । कुल १४ हजार ५ सय १९ संक्रमितमा २ हजारभन्दा बढी बालबालिका हुनु निकै बढी दर भएको उनले बताए । ‘अहिले बालबालिका स्कुल गएका छैनन्, घरमै बसिरहँदा पनि यति धेरै बालबालिकामा संक्रमण देखिनु राम्रो संकेत होइन,’ उनले भने, ‘अभिभावक होसियार नहुँदा बच्चाहरूमा संक्रमण सरिरहेको छ ।’

१५ वर्षमै रोजगारीका लागि भारत जानेको संख्या बढी भएकाले पनि नेपालमा संक्रमित बालबालिकाको संख्या बढी देखिएको हुन सक्ने उनको अनुमान छ । अन्य देशसँग तुलना गर्दा नेपालमा बालबालिकाको संख्या बढी (कुल जनसंख्याको ४२ प्रतिशत) भएको हुँदा पनि संक्रमित बढी देखिएको हुन सक्ने उनले बताए । ‘संक्रमित भए पनि बालबालिका मृत्युदर कम छ तर उनीहरूले वृद्धवृद्धा र दीर्घरोगीलाई संक्रमण सार्ने उच्च जोखिम भएकाले सतर्क रहन जरुरी छ,’ उनले भने । ८० प्रतिशत धेरै संक्रमित लक्षणविहीन भएकाले यसले धेरै खतरा सिर्जना गरिरहेको उनले बताए ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट तीन बालबालिकाको मृत्यु भएको छ । शिक्षणमा एक, जनकपुरमा १२ वर्षीय बालक र बाजुरामा दुई वर्षीया बालिकाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । डा. पौडेलका अनुसार क्यान्सर, निमोनिया वा अन्य कडा रोगका बालबालिकामा संक्रमणपछि मृत्यु हुने खतरा बढी छ ।

प्रकाशित : असार १९, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?