बंगलादेशका गार्मेन्ट खुले

आर्थिक संकट निम्तने चेतावनीपछि सरकारले कारखानामा काम सुचारु गर्न दियो अनुमति

वैशाख १७, २०७७

एजेन्सी

ढाका — कोरोना भाइरस (कोभिड–१९) का कारण बंगलादेशमा देशव्यापी लकडाउन जारी भए पनि गार्मेन्ट कारखानमा काम सुचारु गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार कारखानाका हजारौं मजदुर मंगलबार काममा फर्किएका छन् । भाइरसको संक्रमण बढ्ने क्रममा रहेकै बेला मजदुरहरू काममा फर्किएपछि समस्या थप जटिल हुन सक्ने आकलन गरिएको छ ।

राजधानी ढाका र चटगाउँका कारखानाहरू खोल्न सरकारले अनुमति दिएसँगै सोमबारदेखि कारखानामा काम हुन थालेको थियो । सोमबार निकै कम मात्र मजदुरले काम गरेका भए पनि मंगलबार हजारौं काममा फर्किएका जनाइएको छ ।

बंगलादेशमा सरकारले मे ५ सम्म देशव्यापी लकडाउन हुने घोषणा यसअघि नै गरेको थियो । तर स्थितिको समीक्षा गर्दै थप कदम चालिने सरकारी अधिकारीको भनाइ छ ।

बंगलादेशका गार्मेन्ट कारखाना मार्चको अन्त्यदेखि बन्द भएका थिए । तर निर्यातका लागि यसअघि नै लिइएको अर्डर पूरा गर्न कारखाना खोल्नुको विकल्प नभएको बताइएपछि सरकारले काम सुचारु गर्न अनुमति दिएको थियो । ढाका, चटगाउँ र अन्य क्षेत्रका गरी कम्तीमा हजार कारखाना खुला गरिने योजना रहेको जनाइएको छ ।

बंगलादेशको कुल निर्यातको करिब ८० प्रतिशत हिस्सा तयारी पोसाकले ओगटेको छ । तर कोभिड–१९ को संकट गहिरिएसँगै तयारी पोसाकको माग घटेको छ । कतिपयले आफ्ना अर्डर रद्द गरेका छन् । जसका कारण बंगलादेशले यस आर्थिक वर्षमा करिब ६ अर्ब डलरको नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको जनाइएको छ ।

गार्मेन्ट कारखानाका मजदुर मोफज्जल होसेनले कारखानामा तत्काल फर्कन आफू बाध्य भएको बताए । उनले मासिक करिब १ सय १५ अमेरिकी डलर कमाउँछन् । बंगलादेशमा कोभिड–१९ का कारण मंगलबार साँझसम्म १ सय ५५ जनाले ज्यान गुमाइसकेका छन् । ६ हजार ४ सय ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य अधिकारवादीहरूले मजदुरका कारण कोभिड–१९ को महामारी थप फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । बंगलादेशका गार्मेन्ट कारखानामा ४० लाखभन्दा बढीले काम गर्दछन् । बंगलादेशबाट विश्वका चर्चित एचएन्डएम, इन्डिटेक्स र वाल्मार्ट जस्ता कम्पनीका लागि गत वर्ष ३५ अर्ब डलरभन्दा बढीको तयारी पोसाक निर्यात भएको थियो ।

बंगलादेश तयारी पोसाक उत्पादक तथा निर्यात संघका उपाध्यक्ष मोहम्मद हातिमले कोभिड–१९ लाई जीवनको एक हिस्साका रूपमा स्विकार्नुको विकल्प नभएको बताए । कारखाना तत्काल नखोले बंगलादेशमा भयावह आर्थिक संकट उत्पन्न हुने उनको दाबी छ ।

सरकारले गत महिन निर्यातमुखी क्षेत्रका मजदुरको तलब भुक्तानीका लागि ५८ करोड ८० लाख अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको थियो । तर गार्मेन्ट उद्योगीहरूले सरकारी प्याकेज अपर्याप्त रहेको गुनासो गर्दै आएका छन् ।

राजधानी ढाकाका सडकहरूमा लकडाउनकै बीच आइतबार सामाजिक दूरीको समेत बेवास्ता गर्दै सयौं गार्मेन्ट मजदुरले प्रदर्शन गरेका थिए । उनीहरूले लकडाउन अवधिमा आफूहरूलाई तलब तथा ज्याला दिइनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । आफ्ना माग पूरा नभए लकडाउन उल्लंघन गर्दै प्रदर्शन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् । यसअघि धार्मिक भेला र प्रदर्शनमा रोक लगाउने सरकारी घोषणा अबज्ञा भएपछि सेना परिचालन गर्नुपरेको थियो ।

लकडाउनसीमानाका

एजेन्सी

Link copied successfully