छैटौं खेलसम्म पुग्दा अम्पायर तथा टिभी अम्पायरबाट दुई दर्जनभन्दा बढी गलत निर्णय भइसकेको छ ।
What you should know
काठमाडौँ — पोखरा एभेन्जर्सका बलर म्याट टेलरले कट बिहाइन्डको जोडदार अपिल गरे, तर अम्पायर बुद्धिबहादुर प्रधानले त्यसलाई वाइड करार गरिदिए । अचम्म त्यतिबेला भयो- जतिबेला विराटनगरका ब्याटर बसिर अहमद आउट भएकामा आफैं पवेलियन फर्किए ।
नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको तेस्रो खेलमा अम्पायरको यस्तो गलत निर्णय आएको थियो । छैटौं खेलसम्म पुग्दा त अम्पायर तथा टीभी अम्पायरबाट दुई दर्जनभन्दा बढी गलत निर्णय भइसकेका छन् ।
शुक्रबारमात्र नेपाल क्रिकेट संघ (क्यान) ले चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकालमाथि लेभल १ को अफेन्स लगाउँदै चेतावनीसहित १ डेमेरिट अंक काट्ने निर्णय गरेको थियो । बिहीबार उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा कप्तान रोहित पौडेलविरुद्ध आत्मविश्वासी अपिल गरेका थिए । तर अम्पायरले त्यसलाई ठुक्र्याइ दिएपछि उनले मैदानमा लडीबुडी गरेर आक्रोश पोखेका थिए ।
सोही खेलमा दुई गम्भीर त्रुटि टीभी अम्पायरमा रहेका विनयकुमार झाबाट भयो । रिजनकै बलमा लुम्बिनीका ओपनिङ ब्याटर सन्दीप जोरा क्याचआउट भए । निर्णय चेकका लागि जाँदा टेलिभिजन रिप्लेमा रिजनको खुट्टाले अम्पायर लाइनक्रस गरेको देखाइएको थियो । टेलिभिजन अम्पायर झाले त्यसलाई नो बल दिनुपर्नेमा आउट दिए ।
चितवनको खेलमा फर्किने आशा त्यतिबेला समाप्त भयो, जतिबेला लुम्बिनीका कप्तान रोहितमाथिको स्टम्पआउट दिइएन । कुशल मल्लको बलमा रोहितलाई गरिएको स्टम्पिङको निर्णय टीभी अम्पायरसम्म पुगेको थियो । तर टेलिभिजन अम्पायर झाले झन्डै ६–७ मिनेट लगाएर दिएको निर्णयमा रोहित नटआउट थिए ।
रोहितको खुट्टा लाइनभित्र नरहेको भन्दै चितवनका विदेशी खेलाडीहरू रवि बोपारा, डेविड मलानले अनफिल्ड अम्पायरसामु आश्चर्य जनाएका थिए । अझ चितवनका विकेटकिपर अर्जुन साउदले झाको निर्णयमा असन्तुष्टि जनाउँदै ताली बजाएर विकेटकिपिङ पोजिसिनतिर लागेका थिए ।
खेलपछि बोपाराले अम्पायरको निर्णयमा असन्तुष्टि पोखे । ‘अम्पायरको केही निर्णय हाम्रो पक्षमा रहेन । मलाई लाग्छ, केही क्लोज एलबीडब्लू थिए,’ बोपाराले रोहितमाथिको स्टम्पआउट नदिएको विषयमा भने, ‘स्टम्पआउटका निर्णयहरू पनि त्यस्तै थिए । यो निर्णयमा सबै प्रविधिहरू प्रयोग गरिएको थियो तर गलत निर्णय आयो, यो उदाहरणीय होइन । यसमा विवाद गर्न सकिँदैन, स्वीकार्दै अघि बढ्नुपर्छ ।’
यस हारले उपाधिको दाबेदारमा देखिएको चितवनलाई जोडदार धक्का लागेको थियो । स्वयं लुम्बिनीका कप्तान रोहित पनि अम्पायरहरूको निर्णयप्रति सन्तुष्ट थिएनन् । चितवनसँगको खेलपछि रोहितले भने, ‘यी मानवीय गल्तीहरू हुन्, कहिलेकाहीं यस्तो गल्ती हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा पनि यस स्तरको गल्ती हुन्छ, तर त्यहाँ डीआरएस छ । एनपीएलमा अन्तर्राष्ट्रिय अम्पायरहरू पनि छन्, तर पनि निरन्तर गल्ती भइरहेको छ । कसैलाई दोष देखाउनु भन्दा पनि त्यसमा सुधार गर्दै अगाडि बढ्नु राम्रो हो ।’
रोहितले आफूविरुद्धको स्टम्पआउट निर्णयमा अम्पायरको कमजोरी रहेको संकेत पनि गरेका थिए । ‘विपक्षी टोलीमा भएको भए मलाई पनि नरमाइलो लाग्थ्यो । निर्णयहरू गलत भइरहेका छन्, यसलाई अब कसरी लिने भन्ने कुरा हो,’ रोहितले भने, ‘म आउट थिएँ कि थिइनँ, त्यो मलाई थाहा भएन । म क्रिजमै थिएँ । यस्तो निर्णयमा पराजित टोलीको सदस्य भएको भए मलाई पनि नराम्रो लाग्थ्यो ।’
सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजविरुद्धको खेलमा गल्तीहरूको शृंखला नै थियो । खेलको दोस्रो बलमै श्रीलंकाली अम्पायर प्रगिथ रम्बुकवेलाले जोस ब्राउनलाई एलबीडब्लू आउट दिन पुगे । जबकि करण केसीको बलमा ठूलो एज लागेपछि प्याडसम्म पुगेको थियो । केही समयपछि श्रीलंकाली अम्पायर रम्बुकवेलाले नै अर्को ठूलो गल्ती गरे । सन्नी पटेलको बलमा आरिफ शेखमाथि कट बिहाइन्डको अपिल उनले स्वीकारेनन् । जबकि बलले एज लागेर किनारा परिवर्तन गरेपछि गोर्खाजका विकेटकिपर जोहन सिम्पसनले बल समातेको टेलिभिजन रिप्लेमा देखाइएको थियो ।
उक्त खेलको दोस्रो इनिङ्समा सिम्पसन आफैं अम्पायरको गलत निर्णयको सिकार भए । इशान पाण्डेको बलमा उनलाई एलबीडब्लू आउट दिइएको थियो । टेलिभिजन रिप्लेमा भने बल सिम्पसनको ग्लोभ्समा लागेर प्याडलाई पनि नछोइ गएको देखाइएको थियो । अम्पायरले आउट दिएको निर्णय लगत्तै सिम्पसनले अम्पायरतर्फ हात क्रस गरी डीआरएसको संकेत गरेका थिए ।
जारी एनपीएलमा डीआरएस राखिएको छैन । अनफिल्ड अम्पायरले स्टम्पिङ, रनआउट, बाउन्ड्री चेकिङ, ओभर स्टेपिङ लगायत केही निश्चितमात्र टेलिभिजन अम्पायरलाई अन्तिम निर्णयका लागि पठाउन सक्छ । हाइटको नो बल र वाइड बलको निर्णयमा अम्पायरहरू आँखा चिम्लिएर बसे जस्तो देखिएका आरोप टिमहरूले लगाएका छन् । तर उनीहरूलाई खुलेर बोल्ने यो छुट छैन । दुई विदेशी अम्पायर आए पनि उनीहरूले एकोहोरो गलत निर्णयहरू दिएपछि चर्चाले भरिएको एनपीएल विवादित बनेको थियो ।
सुदूरपश्चिमसँगको खेलपछि आउट हुने गोर्खाजका अन्तिम खेलाडी सन्नी पटेलले अनफिल्ड अम्पायरसँग लामो प्रतिवाद गरेका थिए । तर गोर्खाजका प्रशिक्षक मोन्टी देसाई यो विषयमा आउन चाहँदैनन् । ‘अम्पायरहरूले आफ्नो भूमिका जसरी राम्रो हुन्छ, त्यसरी नै निभाउन खोजिरहेका छन् । म त्यता कहिल्यै जान चाहन्नँ । ब्याट र बलको हिसाबमा मात्र यो खेल खेल्न चाहन्छु,’ अम्पायरको गलत निर्णयको शृंखलालाई उनले यसरी टुंग्याइदिए ।
चितवनले पहिलो खेलमै पनि यस्तो निर्णय भोगेको थियो । कमलसिंह ऐरीले प्रियान्क पञ्चालविरुद्ध ३३ रनमा एलबीडब्लूको जोडदार अपिल गरेका थिए । तर अम्पायरले त्यसलाई पत्याएनन् । कमल आफ्नो पक्षमा निर्णय नआएपछि टाउको समात्दै मैदानमा थच्चिए । भाग्यमानी पञ्चालले ४८ बल खेल्दै ७ चौका र ६ छक्कासहित ९० रन बनाए ।
सुदूरपश्चिम र पोखरा एभेन्जर्सबीचको खेलमा पनि शुक्रबार त्यस्तै भयो । स्कट कुग्लेइनको प्रहार कुशल भूर्तेलले बाउन्ड्री लाइनमा सानदार डाइभ हान्दै क्याच लिए । तर, टेलिभिजन अम्पायरले बाउन्ड्री छोएर क्याच लिएको भन्दै छक्का करार दिएपछि भूर्तेलले चर्को स्वरमा आक्रोश पोखेका थिए ।
