सुदूरपश्चिम रोयल्सले त्रिवि रंगशालामा टस हारेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रनको प्रतिस्पर्धी योगफल तयार पारेको छ।
What you should know
काठमाडौँ — ओपनरद्वय जोस ब्राउन र विनोद भण्डारीको शतकीय साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार पोखरा एभेन्जर्सलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।
पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि क्रिकेट अर्न्ताष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङको निम्तो दिएपछि आएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९३ रन बनाएको हो ।
ब्राउन र विनोदले पहिलो १० ओभरमै बिना क्षति ९९ रन जोडेर सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । ११ औं ओभरमा जिम्मी निसमले ब्राउनलाई आउट गरी यो साझेदारी तोडेका थिए, जतिखेर सुदूरपश्चिमको स्कोर १ सय ८ रन थियो ।
ब्राउनले ३५ बल खेली ६ चौका र ५ छक्कासहित ६८ रन बनाए । विनोदले ४२ बल खेली ६ चौकासहित ४३ रन बनाए । ब्राउन र विनोदको बीचमा क्रिस लिन १३ बलमा ३१ र कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १३ रन बनाई आउट भएका थिए । लिनले ४ चौका र २ छक्का तथा दीपेन्द्रले समान १ चौका र १ छक्का प्रहार गरे ।
काठमान्डु गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेका हरमित सिंह ६ बलमा ४ रन, स्कट कुग्लेन ८ र आरिफ शून्यमा आउट भए । पोखराका जिम्मी निसमले ४ ओभरमा ४७ रन खर्चेर ३ तथा ड्यान डाउथवेटले ४ ओभरमा २४, आकाश चन्दले ४ ओभरमा ४३ रन खर्चेर २–२ विकेट लिए ।
पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो । सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो । गत वर्षको लिग यी दुई बीचको खेलमा सुदूरपश्चिम ५ रनले विजयी भएको थियो ।
पोखराले अघिल्लो खेलको टोलीबाट तृतराज दासको स्थानमा विपिन खत्री र म्याट टेलरको स्थानमा सुमित बर्मालाई खेलाएको छ ।
