सुदूरपश्चिमको लगातार दोस्रो जित र पोखराको हार

पहिलो जितपछि उत्साहित सुदूरपश्चिमले पोखरालाई १८ रनले हराउँदै प्रतियोगितामा अपराजित यात्रा कायम राख्दा, पोखराले दोस्रो हारको सामना गर्नुपर्‍यो।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

Sudurpaschim's second consecutive win and Pokhara's loss

What you should know

काठमाडौँ — ओपनरद्वय जोस ब्राउन र विनोद भण्डारीको शतकीय साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । रोयल्सले शुक्रबार पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्‍यो ।

पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङको निम्तो दिएपछि आएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ९३ रन बनाएको थियो । भुर्तेलले अर्धशतक बनाए पनि जबाफमा आएको पोखराले ८ विकेट गुमाई १ सय ७५ रन मात्र बनाउन सक्यो ।

रोयल्सको यो लगातार दोस्रो जित हो । रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो । पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो । गत वर्षको लिग यी दुईबीचको खेलमा सुदूरपश्चिम ५ रनले विजयी भएको थियो ।

भुर्तेलले ३२ बल खेली समान ४ चौका र छक्कासहित ५३ रन बनाए । स्कट कुग्लेनको बलमा क्रस गरेर खेल्न खोज्दा उनले लेग स्टम्प गुमाएका थिए । पोखराले पावर प्लेको ६ ओभरमा २५ रन मात्र जोड्न सकी ३ विकेट गुमाए पनि भुर्तेल र जिम्मी निसमले चौथो विकेटका लागि ४३ बलमा ७५ रन जोडेका थिए ।

गत सिजन जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका निसमले २५ बल खेली २ चौका र ५ छक्कासहित ४७ रन बनाए । उनलाई रोयल्सका कप्तान दीपेन्द्रले लो बलमा बोल्ड गरे । सुमित बर्मा ६, अभिषेक तिवारी १३ बलमा ३ रन बनाई आउट भए ।

पोखराको सुरुआत राम्रो थिएन । पहिलो ओभरमै एडम रोसिङटन रनआउट भए । उनका ओपनिङ जोडि दीनेश खरेलले पनि ६ रन मात्र बनाउन सके । किरण ठगुन्ना पनि ९ रनमै आउट भए । तल्लो क्रममा ड्यान डाउथवेटले १६ बल खेली १ चौका र ५ छक्काका साथ ३७ रन बनाए । विपिन खत्री ७ रनमा अविजित रहे ।

रोयल्सका हरमित सिंहले ४ ओभरमा २२ रन खर्चेर २ तथा कुग्लेन, दीपेन्द्र, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले १–१ विकेट लिए ।

यसअघि ब्राउन र विनोदले पहिलो १० ओभरमै विना क्षति ९९ रन जोडेर सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । ११ औँ ओभरमा निसमले ब्राउनलाई आउट गरी यो साझेदारी तोडेका थिए, जति खेर सुदूरपश्चिमको स्कोर १ सय ८ रन थियो ।

ब्राउनले ३५ बल खेली ६ चौका र ५ छक्कासहित ६८ रन बनाए । विनोदले ४२ बल खेली ६ चौकासहित ४३ रन बनाए । ब्राउन र विनोदको बीचमा क्रिस लिन १३ बलमा ३१ र कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १३ रन बनाई आउट भएका थिए । लिनले ४ चौका र २ छक्का तथा दीपेन्द्रले समान १ चौका र १ छक्का प्रहार गरे ।

काठमान्डु गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेका हरमित सिंह ६ बलमा ४ रन, स्कट कुग्लेन ८ र आरिफ शून्यमा आउट भए । पोखरा निसमले ४ ओभरमा ४७ रन खर्चेर ३ तथा डाउथवेटले ४ ओभरमा २४, आकाश चन्दले ४ ओभरमा ४३ रन खर्चेर २–२ विकेट लिए । 

कान्तिपुर संवाददाता

Link copied successfully