रास्वपा महामन्त्री कर्विन्द्र बुर्लाकोटी र भूपदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरेर विवाद टुंगोमा पुर्याएका हुन् ।
काठमाडौँ — महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको रास्वपाको बन्दसत्र अब सुरु हुने भएको छ । रास्वपा महामन्त्री कर्विन्द्र बुर्लाकोटी र भूपदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरेर विवाद टुंगोमा पुर्याएका हुन् ।
महामन्त्री भूपदेव शाहका अनुसार अबको एकदेखि डेढ घण्टाभित्र बन्दसत्र सुरु गर्ने तयारी भइरहेको छ । छलफलमा सहभागी एक नेताका अनुसार महाधिवेशन प्रतिनिधिको नाम दोहोरिएको विषयमा समेत टुंगो लगाउने काम सकिएको छ । चाँडै दर्ता (रजिस्ट्रेसन) खुलाउने तयारी भइरहेको उनले बताए ।
महाधिवेशन प्रतिनिधिको विवाद समाधान भएपछि बन्दसत्रमा सहभागी हुनेको संख्या करिब ३८ सयदेखि ४ हजार पुग्ने अनुमान गरिएको छ ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता, दाबी विरोध लगायतका कामहरु साँझसम्म सकिने र मतदानको काम पनि आजै सुरु हुने जानकारी दिएका हुन् । उनले भने, ‘बन्दसत्रको प्रतिवेदन सत्रपछि निर्वाचन आयोगलाई हस्तान्तरण हुन्छ । आज बेलुका नै मतदानको काम सुरु हुने सम्भावना छ । उम्मेदवारी दर्ता, दाबी विरोध, मतदाता नामवली लगायतका काम बेलुकासम्म सकिने छन् ।’
