रास्वपाको पहिलो महाधिवेशनमै प्रतिनिधि विवाद, अधिकांश पदमा प्रतिस्पर्धाकै सम्भावना

मुख्य विवाद मधेश प्रदेशको प्रतिनिधि छनोट, मधेशको ५९२ प्रतिनिधिका नाममा सबैभन्दा धेरै दाबी विरोध।

असार ९, २०८३

रमेशकुमार पौडेल, गौरव पोखरेल, जयसिंह महरा

Dispute over delegates at first general convention of RSVP, possibility of competition for most positions

What you should know

भरतपुर — रास्वपाको नयाँ नेतृत्व चयनका लागि बागलुङबाट आएका ७५ वर्षीय महाधिवेशन प्रतिनिधि पाराश्वर कँडेल चितवनको ३६ डिग्री गर्मीमा पाँच घण्टादेखि बन्दसत्र सुरु हुने प्रतीक्षामा थिए । आइतबारझैं सोमबार पनि पानी पर्ला कि भन्ने आशा एकातिर थियो, अर्कोतिर नयाँ नेतृत्व चयन गर्ने मतदान कहिले सुरु होला भन्ने प्रतीक्षा थियो । साँझ ५ बजेतिर ठूलो पानी परेर शीतल त भयो तर बन्दसत्र सुरु भएन ।

‘रवि–वालेनका लागि सारथि छान्ने अवसर हो भनेर आएको थिएँ,’ कँडेलले भने, ‘नयाँ नेतृत्व छान्न मत दिन आएको थिएँ, तर दिनभर कुर्दा पनि त्यो अवसर पाइएन ।’ कँडेलजस्तै रास्वपाको नयाँ नेतृत्व चयन गर्न देशभरबाट भरतपुर पुगेका सयौं महाधिवेशन प्रतिनिधिले बन्दसत्र पटक–पटक स्थगित हुँदा दिनभर प्रतीक्षामै समय बिताउनुपर्‍यो ।

मुख्य विवाद मधेश प्रदेशको प्रतिनिधि छनोट, मधेशको ५९२ प्रतिनिधिका नाममा सबैभन्दा धेरै दाबी विरोध।कान्तिपुरसँग कुरा गरेका महाधिवेशन प्रतिनिधिहरूले पार्टीले राम्रो व्यवस्थापन नगर्दा र गुटगत राजनीति हुँदा दिनभर चर्को घाममा बस्नुपरेको सुनाए । ‘जानकारी लिनलाई सचिवालयको व्यवस्थापन पनि रहेनछ, कसैले केही जवाफ दिएनन्,’ काभ्रेबाट गएका एक प्रतिनिधिले भने, ‘यो त दुःख दिने काम मात्र भयो ।’

नेता तथा कार्यकर्ताहरूका अनुसार, महाधिवेशन प्रतिनिधि छनोटको विषय विवादमा परेपछि सोमबार हुने भनिएको पार्टीको बन्दसत्र नै भएन । विवादको विषयमा प्रतिनिधि छनोटको प्राविधिक विषय मात्र जोडिएको छैन, रास्वपा पार्टी समायोजनमा आएको वालेन्द्र शाह पक्ष, विवेकशील साझा पार्टी पक्ष, थरुहट/थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा ८ सय बढी महाधिवेशन प्रतिनिधि थप्नुपर्ने प्रस्ताव सभापति रवि लामिछानेसम्म पुगेपछि विवाद लम्बिन पुगेको हो ।

जानकार स्रोतका अनुसार, विवाद बढेपछि सोमबार अपराह्नदेखि सभापति लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता शाह शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा छलफलमा जुटेका छन् । दुवैले छलफल गरेर विवादलाई टुंगो लगाउने एक नेताले जानकारी दिए ।

कोशी प्रदेशका एक सांसदले व्यवस्थापन असाध्यै कमजोर भएको बताए । ‘यो कुरा पहिल्यै मिलाउनुपर्थ्यो, अन्तिम समयमा हेर्दा यस्तो गर्मीमा सबैले दुःख पाउनुपर्‍यो,’ उनले भने । बिहान साढे ८ बजेदेखि सुरु हुने भनिएको रास्वपाको बन्दसत्र साढे ३ बजेसम्म पनि सुरु हुन नसकेपछि कतिपय प्रतिनिधि हलमै सुत्न थालेका थिए । बन्दसत्रको मुख्य हलमा कडा सुरक्षाबीच कसैलाई प्रवेश गर्न दिइएको थिएन भने मनोनयन दर्ताका लागि तोकिएको हलभित्र प्रतिनिधिहरू सुतेका थिए ।

महाधिवेशन प्रतिनिधि रमेश अधिकारीले लामो समयसम्म बन्दसत्र सुरु नहुँदा हैरानी भएको बताए । ‘भोट हाल्नलाई आएको हो, कुरेर पनि हाल्नै पर्‍यो,’ उनले कान्तिपुरसँग भने, ‘तर, गर्मीमा पर्खाइचाहिँ असाध्यै गाह्रो भयो ।’

रास्वपा केन्द्रीय निर्वाचन समितिले साँझ पौने ६ बजे मात्र निर्वाचन स्थगित भएको घोषणा गर्‍यो । केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले भने आइतबार साँझ महाधिवेशन प्रतिनिधिको प्रारम्भिक सूची जारी गरेपछि आएका दाबी विरोध र तीमाथि छानबिन गर्ने कार्यले समस्या सिर्जना भएको बताए । ‘प्रदेश अधिवेशन हुनेबित्तिकै महाधिवेशन भयो, त्यसक्रममा प्रतिनिधिमा समेट्नुपर्ने कतिपयको नाम प्राविधिक कारणले छुटेपछि समस्या भएको हो,’ उनले कान्तिपुरसँग भने, ‘कानुनी प्रावधानअनुसार प्रतिनिधिको प्रारम्भिक सूची निकालेपछि २४ घण्टाको दाबी विरोधको समय दिनुपर्छ, छानबिन र प्रमाणित गर्नुपर्छ । त्यो कुरामा समय लागेको हो ।’

रास्वपा केन्द्रीय सदस्य राजन गौतमका अनुसार, मुख्य विवादचाहिँ मधेश प्रदेशको प्रतिनिधि छनोटबाट सुरु भएको थियो । नेताहरूका अनुसार, मधेशको ५९२ प्रतिनिधिका नाममा सबैभन्दा धेरै दाबी विरोध आएको छ । ‘कतिपय छानिएका महाधिवेशन प्रतिनिधिको नामै देखिएन, फरक मान्छेसमेत आएको देखियो,’ उनले भने, ‘त्यो रुजु गर्नसमेत समय लाग्ने स्थिति बन्यो ।’ पार्टीले कारबाही गरेकाहरूको नामसमेत महाधिवेशन प्रतिनिधिमा परेको नेताहरूको भनाइ छ ।

रास्वपा पार्टी समायोजनमा आएको वालेन्द्र शाह पक्ष, विवेकशील साझा पार्टी पक्ष, थरुहट/थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा ८ सय बढी महाधिवेशन प्रतिनिधिको नयाँ नाम आएपछि बन्दसत्र नै सुरु हुन सकेन।निर्वाचनमा समानुपातिकतर्फ ५७.३३ प्रतिशत मत पाएको मधेशमा रास्वपाले आन्तरिक विवादका कारण पर्साबाहेकका जिल्लामा अधिवेशन हुन सकेको थिएन । पर्सामा समेत कुटपिट र तनावका बीच अधिवेशन भएको थियो । जिल्लामा नयाँ नेतृत्व छनोट हुन नसकेपछि रास्वपाले तदर्थ समितिकै आधारमा महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो । त्यस्तोमा तदर्थ समिति र पालिका अधिवेशनका आधारमा प्रतिनिधिहरू चितवनमा भइरहेको महाधिवेशनमा आएको रास्वपा मधेश प्रदेशका नेता रणजित राम बताउँछन् । ‘जिल्ला समिति र प्रदेश समितिबाट समेत पहिल्यैका आधारमा प्रतिनिधि तोकिएको छ,’ उनले कान्तिपुरसँग भने, ‘बाँकी केहीलाई मनोनीतसमेत गरेर ५९२ प्रतिनिधि मधेशबाट आइपुग्नुभएको छ ।’

२१ फागुनमा भएको चुनावमा मधेशका ३२ मध्ये ३० सिट जितेको रास्वपाले आन्तरिक विवाद, पार्टीमा सुरुदेखि नै सक्रिय र पछि जोडिएकाहरूबीचको किचलोलगायतका कारण अधिवेशन हुन नसकेको नेताहरू बताउँछन् । त्यही विवादका क्रममा विभिन्न जिल्लामा नेता, कार्यकर्ताबीच कुटाकुटसमेत भएको थियो ।

मधेश प्रदेशका ८ वटै जिल्लाका रास्वपा जिल्ला सभापतिहरू पद दोहोर्‍याउने इच्छा राख्थे । अधिवेशन भएको एक मात्र जिल्ला पर्सामा पनि जिल्ला सभापति हरि पन्त नै कुटाकुट र तनावका बीच दोहोरिएका छन् । रास्वपाका प्रदेश सभापति तपेश्वर यादवले एउटा जातीय समूह र आफूअनुकूलको व्यक्तिलाई काखी च्यापेका कारण अधिवेशन प्रभावित बनेको भन्दै मधेश प्रदेशका जिल्ला सभापतिहरूले रास्वपा केन्द्रीय समितिमा उजुरीसमेत गरेका थिए ।

महाधिवेशनअघि रास्वपा सभापति लामिछानेले मधेशका नेताहरूसँग भेटेर विवाद मिलाउने प्रयास गरेका थिए । यद्यपि, विवाद महाधिवेशनसम्म आइपुगेको छ । रास्वपा प्रवक्ता मनीष झाले २०७९ मा भएको चुनावमा रास्वपा मधेशमा जम्मा ७२ हजार मत आएको स्मरण गराउँदै निर्वाचनपछि एकाएक आकर्षण बढेकाले संगठन विस्तार नै ढिलो हुँदा समस्या देखिएको बताए ।

सिरहाबाट महाधिवेशन प्रतिनिधि बनेर आएका रामेश्वर यादवले अधिवेशनबाट आउन पाएको भए अझ राम्रो हुने भए पनि केन्द्रले तत्काललाई मिलाएकाले आफूहरू सहभागी भएको बताए । ‘अधिवेशनबाट कसैलाई वञ्चित गराउने कुरा भएन, सबैलाई सहभागी गराउने गरेर केन्द्रबाट सर्कुलर आयो र तत्काललाई प्रतिनिधि बनेर आएका छौं,’ उनले भने, ‘आशा छ, चाँडै अधिवेशन हुन्छ ।’

रास्वपा केन्द्रीय सदस्य गौतमका अनुसार, मधेशको विवादसँगै अन्यत्रको महाधिवेशन प्रतिनिधि छनोटमा समेत विवाद देखिन थाल्यो । ‘मुख्य गरी मधेश प्रदेशको समस्या भएको हो, त्यो भएपछि अरू प्रदेशबाट समेत समस्या भएको सुनिन थाल्यो,’ उनले थपे, ‘सदस्यता नम्बर, माइन्युट सबै हेर्नुपर्ने भएकाले समय लाग्यो ।’

महाधिवेशन प्रतिनिधिको नामावली टुंगो नलागे पनि केन्द्रीय सदस्य पदका आकांक्षीहरूले बन्दसत्र स्थलमै भोट माग्न सुरु गरिसकेका छन् । केन्द्रीय सदस्य पदका लागि ई. वीरेन्द्र श्रेष्ठ, लुम्बिनी प्रदेश भूगोलबाट ज्ञानु पौड्याल, भरतप्रसाद पनेरू, हेमराज थापा, रमेशप्रसाद ओझा, कृष्णबहादुर बटाला, अमृता विक, जानिका जोशी, गुणानन्द महतो, टंकबहादुर धामीलगायतले महाधिवेशन स्थलमा त्यस्ता प्रचार बाँडेका हुन् । निर्वाचन समितिले भने त्यसरी प्रचार बाँड्नलाई निषेध गरेको थियो ।

रास्वपा प्रवक्ता मनीष झाले समेत महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । शिक्षामन्त्री सस्मित खनाल, कृषिमन्त्री गीता चौधरी, सांसद प्रकाशचन्द्र परियार, केपी खनाल, ज्वाला संग्रौला, यज्ञमणि न्यौपाने, निशा डाँगी, टासी ल्हाजोमलगायतले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

रास्वपा सहमहामन्त्री विपिन आचार्यचाहिँ पार्टी आचारसंहिताले प्रतिनिधिको टुंगो लगाउनुअगावै उम्मेदवारी घोषणा गर्न नमिल्ने बताउँछन् । ‘उम्मेदवारहरूले प्रचारका कार्ड वितरण गर्ने कुराबारे समेत निर्वाचन आयोगले हेरिरहेको होला,’ उनले भने, ‘यो विषयमा गर्नुपर्ने प्रक्रियाका कुराहरू निर्वाचन आयोगले पक्कै गर्ला ।’

आचार्यले प्रिन्ट गर्न बाँकी रहेको महाधिवेशन प्रतिनिधिको कार्ड सोमबार रातभर प्रिन्ट गरेर बिहान ७ बजेबाट वितरण गर्न सुरु गर्ने बताए । कार्ड वितरणको कार्य सम्पन्न भएलगत्तै बन्दसत्र सुरु हुने उनको भनाइ छ ।

रास्वपा नेताहरूका अनुसार, अहिलेसम्मको अवस्थामा पार्टी सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा वालेन्द्र शाहको सर्वसम्मत नेतृत्व चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र ९९ केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने अवस्था छ । सभापति लामिछाने र वरिष्ठ नेता शाह स्वयंले त्यो प्रतिस्पर्धा स्वच्छ होस् भन्दै उद्घाटन सत्रमा सम्बोधन गरिसकेका छन् ।

तीन उपसभापतिमा एक खुला, एक महिला र एक मनोनीत हुनेछन् । खुला उपसभापतिमा स्वर्णिम वाग्ले प्रबल दाबेदार रहेको रास्वपाका नेताहरू बताउँछन् । खुला उपसभापतिमा स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने हालसम्म देखिएका छैनन् । त्यो अवस्थामा पदाधिकारीमध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना प्रबल रहेको नेताहरूको भनाइ छ । तर महिला उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा सहमतिको प्रयास भइरहेको छ ।

यसपालि विधान संशोधन गरेर रास्वपामा पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ । यसअघि यो संख्या १२ थियो ।महिला उपसभापतिमा चुनाव भएको खण्डमा कानुनमन्त्री सोविता गौतम, कोषाध्यक्ष लिमा अधिकारी, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सम्भावित उम्मेदवार हुन् । उपसभापति वा महामन्त्रीमध्ये एक पदमा डा. तोसिमा कार्की सम्भावित उम्मेदवार रहेको चर्चा छ । मनोनीत उपसभापतिमा भने भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका नेता सुनील लम्साललाई जिम्मेवारी दिने तयारी छ । उनी शाहसँगै रास्वपामा समाहित भएका नेता हुन् ।

खुला महामन्त्रीमा सहमति जुट्न नसके निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनीष झा, गणेश पराजुली, यज्ञमणि न्यौपाने उम्मेदवार बन्ने सम्भावना छ । महिला उपसभापतिमा उम्मेदवारी नदिए महामन्त्रीको दाबेदारमा डा. कार्कीलाई पनि हेरिएको छ । मनोनीत महामन्त्रीमा भने भूपदेव शाह लगभग निश्चित रहेका रास्वपा नेताहरू बताउँछन् ।

खुला सहमहामन्त्रीमा हालसम्म हरि ढकाल, प्रकाशचन्द्र परियारलगायत दाबेदार रहेको नेताहरूले बताएका छन् । सहमहामन्त्रीमा नेता असिम शाह पनि सम्भावित उम्मेदवार छन् । उनी पूर्वसांसद तथा प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार पनि हुन् । महिला सहमहामन्त्रीमा निशा डाँगीलगायत सम्भावित उम्मेदवार हुन् ।

यसपालि विधान संशोधन गरेर रास्वपामा पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ । यसअघि यो संख्या १२ थियो । यस पटक विधान संशोधन गरेर पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (१ महिला, २ मनोनीत), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १, सहकोषाध्यक्ष २ (१ महिला) छन् ।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले सोमबार बेलुकीसम्ममा सबै प्रतिनिधिको नाम टुंगो लागिसकेको दाबी गरे । ‘सांसदहरूको सूची अन्तिम चरणमा पुर्‍याउन गाह्रो हुँदैन, त्यसैले हामीले पहिले प्रदेश र जिल्लाको प्रतिनिधि सम्पन्न गर्नतिर लाग्यौं,’ उनले कान्तिपुरसँग भने, ‘तर सांसदहरूले भने आफ्नो नाम नभएको भनेर भन्नुभयो, त्यो सहज काम भएकाले पछि गरेका हौं ।’

सबै प्रतिनिधिको टुंगो लगाएर प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु गरिएको उनले बताए । ‘मंगलबार बिहान ११ बजेसम्म समय लाग्छ होला, त्यसपछि बन्दसत्र सुरु हुनेछ,’ उनले भने, ‘भोलि उम्मेदवारी मनोनयनलगायतका निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’

रास्वपा महाधिवेशन

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully