मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य पात्र ठानेको छु : मनीष झा
काठमाडौँ — रास्वपा प्रवक्ता मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । सुरूमा केही द्विविधामा रहे पनि अब मानसिक रूपमा तयार भएको उनको भनाइ छ ।
'जसरी मिडियामा चर्चा आएको छ त्यो स्वीकारोक्तिका साथ आएको छ । जुन दाबी र अपेक्षा छ त्यसलाई स्वभाविक रूपमा लिन सकिन्छ । यो देशको प्रधानमन्त्री नै हुन्छु, पार्टीको सभापति नै हुन्छु भन्ने मेरो कहिल्यै पनि अपेक्षा छैन । तर अहिलेसम्म जुन तहसम्मको नेतृत्व लिएर आएँ, त्योभन्दा अगाडि बढ्छु भन्ने अपेक्षा हुन्छ नै,' झाले भने ।
राजनीतिमा लागेपछि थप चुनौती लिन तयार हुनुपर्ने पनि उनले बताए । 'पार्टीको आगामी दुई निर्वाचनको तयारी र देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महत्त्वपूर्ण छ । मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य पात्र ठानेको छु,' झाले भने ।
महामन्त्री पदलाई ठूलो जिम्मेवारी र जोखिमका रूपमा व्याख्या गर्दै आफूले पदसँग न्याय गर्नसक्ने आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रने निर्णय गरेको उनले बताए ।
९ गते नै महाधिवेशनका सबै कार्यक्रम सक्ने लक्ष्य राखे पनि प्रतिनिधिको ठूलो संख्या र उम्मेदवारीमा धेरैको आकांक्षाका कारण १० गतेसम्म लम्बिन सक्ने पनि उनले जानकारी दिए ।
