गर्मी याममा कम पर्यटक आउने चितवनमा रास्वपाको महाधिवेशनका कारण नारायणगढ, भरतपुर र सौराहाका होटलहरूमा उल्लेख्य चहलपहल देखिएको छ।
What you should know
चितवन — गर्मी याममा चितवन घुम्न कमै आउँछन् । तर यही बेला रास्वपाले पहिलो महाधिवेशन चितवनमै राखेपछि होटलहरूमा राम्रै चहलपहल देखियो । सौराहा र भरतपुर नारायणगढ क्षेत्रका होटल महाधिवेशनका प्रतिनिधि र उद्घाटन कार्यक्रम हेर्न आउनेहरू बस्दा भीडभाड बढ्यो । उद्घाटनपछि प्रतिनिधिबाहेकका अन्य फर्कन सुरू गरेको होटल व्यवसायीले बताए ।
‘खास गरेर नारायणगढ क्षेत्रका होटलमा शनिबार र आइतबार कोठाहरू भरिभराउ थिए । उद्घाटनपछि आज सोमबारबाट प्रतिनिधिबाहेकका फर्कन सुरू गर्नु भएको छ । यहाँका कुनै होटल ७५ प्रतिशत खाली भइसके,’ चितवन होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष यज्ञबहादुर कार्कीले भने । प्रतिनिधिहरू राख्न भन्दै पार्टीले होटलको कोठा र मूल्य तथा सेवा सुविधाको विवरण मागेको थियो ।
नारायणगढ, भरतपुर, जुगेडी क्षेत्रका सबै साना-ठूला होटलका लगभग १३ सय रुमहरूको विवरण महाधिवेशन आयोजक समितिलाई उपलब्ध गराएको कार्कीले बताए । शनिबार र आइतबार सबै होटल भरिभराउ रहेको कार्की बताउँछन् । ‘यो बेला गेष्ट कमै हुन्थे । महाधिवेशनले धेरै राहत भयो,’ उनले भने ।
महाधिवेशनको आवास तथा भोजन उपसमितिका संयोजक पार्टीका केन्द्रीय सदस्य राजन गौतमले होटलमा बसेको खर्च प्रतिनिधि आफैंले बेहोर्ने बताए । प्रतिनिधिहरूका लागि होटलको नाम, सेवा सुविधा र मूल्य विवरणहरू पार्टीले पहिल्यै उपलब्ध गराएको गौतमले बताए । महाधिवेशनका लागि पहिला रत्ननगर तय गरिएको थियो । अन्तिममा भरतपुरमा सरेको हो ।
त्यसैले प्रतिनिधिहरू धेरैले सौराहा बुक गरेको कार्कीले बताए । क्षेत्रीय होटल संघ (हान) चितवन सौराहाका महासचिव महेश खनालले सौराहामा रास्वपाका महाधिवेशन प्रतिनिधि प्रशस्तै बसेको बताए । उनको होटलका ६५ वटा रुम सबै भरिए । यीमध्ये आठवटा रुममा मात्रै विदेशी पर्यटक छन् । अरू सबै महाधिवेशनमा आएका प्रतिनिधिहरु हुन् । ६ महिनाअघि बुक गरेका कारण उनीहरु बस्न पाए ।
गर्मीमा पर्यटक कम आउँछन् । त्यसैले सौराहामा बस्ने महाधिवेशन प्रतिनिधिहरूका लागि २० प्रतिशत छुटको व्यवस्था थियो । भरतपुर नारायणगढ क्षेत्रका होटलहरूले २५ प्रतिशत छुट दिएका थिए । सौराहामा ११ हजार जना सुत्न मिल्ने होटलका रुमहरू छन् । रास्वपाका महाधिवेशन प्रतिनिधि चार हजारभन्दा बढी छन् । ५० प्रतिशतभन्दा बढी प्रतिनिधि सौराहा आएको खनालले बताए ।
सौराहाका सबै होटलमा प्रतिनिधि नबसेको हान अध्यक्ष ओम पाण्डेको भनाइ छ । ‘हाम्रो नारायणगढमा पनि होटल छ । सौराहामा पनि होटल छ । सौराहाको होटल खाली जस्तै छ । नारायणगढको होटलमा महाधिवेशनका प्रतिनिधिहरू बसेका छन्,’ पाण्डेले भने ।
रेस्टुरेन्ट क्षेत्रमा पनि चहलपहल बढेको छ । ‘शनिबार र आइतबार बिदा थियो । आइतबारदेखि नै रास्वपाको महाधिवेशन सुरू भयो । हिजोआज सौराहा क्षेत्रमा राम्रै चहलपहल छ । रेस्टुरेन्टमा पनि राम्रो छ,’ रेबान सौराहाका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाले भने । रेबानमा ५६ वटा रेस्टुरेन्ट आबद्ध छन् । रेबानमा आबद्ध नभएका पनि जोड्दा सौराहामा ६५ जति बार र रेस्टुरेन्ट रहेको खतिवडा बताउँछन् । ‘दुई-तीन दिनयता रेस्टुरेन्टमा चहलपहल छ,’ उनले भने ।
हान महासचिव खनालका अनुसार महाधिवेशन प्रतिनिधि बन्दसत्रका कारण जंगल सफारी र अन्य पर्यटकीय गतिविधिमा संलग्न भएका छैनन् । उनले भने, 'सोधखोज गरिरहेका छन् । अन्तिम एक दिन भए पनि जंगल घुम्न जाने संकेत गरेका छन् ।'
पछिल्लो समय बिदाका दिन नेपाली र केही मात्रामा चीन तथा भारतका पर्यटक घुम्न आइरहेका छन् । महाधिवेशनले होटल व्यवसायीहरूलाई थप राहत दिएको महासचिव खनालले बताए । ‘महाधिवेशनका लागि शनिबारदेखि मंगलबारसम्म कोठा बुक भएका छन् । समग्र कारोबार के कति बढ्यो यसै भनिहाल्न सकिएन । तर राहत भएको छ,’ खनालले भने ।
