आज हुने बन्दसत्रमा पार्टीको अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । पार्टी सभापति रवि लामिछानेले आजै राजनीतिक प्रतिवेदन पनि प्रस्तुत गर्नेछन् ।
बिहान साढे आठ बजे बन्दसत्र सुरु हुने कार्यसूची सार्वजनिक गरेको रास्वपाले अहिलेसम्म बन्दसत्र सुरु गर्न सकेको छैन । बन्दसत्रमा सहभागी हुन पुगेका महाधिवेशन प्रतिनिधिले अहिलेसम्म दर्ता समेत गर्न पाएका छैनन् ।
रास्वपाका सांसद पुकार बमले महाधिवेशन प्रतिनिधिहरूको नाम र सदस्यता नम्बर नमिलेको तथा केही नाम दोहोरिएको जस्ता समस्या देखिएकाले त्यसलाई मिलाउने काम भइरहेको बताए ।
महाधिवेशन प्रतिनिधिको विवाद समाधानमा खटिएका अर्का एक रास्वपा नेताले केही नाममा उजुरी परेको र त्यसमाथि छानबिन भइरहेको जानकारी दिए । रास्वपाका केही नेताहरू बन्दसत्रस्थल नजिकै रहेको चितवन उद्योग संघको हलभित्र बसेर विवाद टुंग्याउने प्रयास गरिरहेका छन् ।
आइतबारदेखि चितवनको गेष्ट हाउस चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन जारी छ । महाधिवेशन तालिकाअनुसार सोमबार बिहान ८:३० देखि बन्दसत्रका कार्यक्रमहरू हुने उल्लेख थियो । बन्दसत्र सुरु हुन ढिला भएपछि मनोनयन दर्ता हलमै महाधिवेशन प्रतिनिधिहरू आराम गरिरहेका छन् ।
रास्वपा महाधिवेशनको बन्दसत्रभित्रको सुरक्षाका लागि निजी सुरक्षा गार्ड प्रयोग गरिएका छन् । बाहिरी सुरक्षा जाँचका लागि नेपाल प्रहरी परिचालन गरिएको छ । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार, महाधिवेशनमा सहभागी भीभीआईपी र भीआईपीको सुरक्षा सरकारको प्रोटोकलअनुसार भइरहेको छ । केहीबेरमा बन्दसत्र सुरु हुँदै छ ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह बन्दसत्र सुरु हुनुअघि छलफलमा जुटेका छन् । प्रधानमन्त्री बसिरहेको रिसाेर्ट लटौली स्याङ्चुरीमा बिहानैदेखि दुई नेताबीच छलफल भइरहेको हो । बिहान साढे ८ बजेबाट बन्दसत्र सुरु हुने निर्धारण गरिए अझै सुरु हुन सकेको छैन ।




