हामी सफा हुन चाहन्छौँ तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ : गगन थापा
काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताएका छन् ।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताएका हुन् ।
आफूलाई रास्वपाको जनमत देखेर लोभ लागेको भन्दै कांग्रेसलाई रास्वपाबाट अग्लो बनाउने दाबी पनि उनले गरे । आफूहरूले अरूलाई कमजोर बनाएर नभई इमानदार काम गरेर राजनीतिक रूपमा उचाइ हासिल गर्न चाहेको उनको भनाइ छ ।
के भने गगनले ?
कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुनु चाहन्छौँ । तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । तर हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौँ । बन्छौँ पनि एकदिन । तर तपाईंहरूलाई सानो बनाएर, खुट्टा काटेर होइन । मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर हामी अग्लो बन्न चाहन्छौँ ।
हामी सफा हुन चाहन्छौँ तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ । हामी तपाईंहरूको दुश्मन होइनौँ । हामी संसद्मा प्रतिस्पर्धी छौँ । जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउँछौँ । जहाँ थपडी बजाउनुपर्ने हो त्यहाँ थपडी बजाउँछौँ ।
