कांग्रेस र एमालेभित्रका अफ्ठ्यारा मिलाउनुहोला, शुभकामना : सभापति लामिछाने

आफ्नो दलमात्र होइन, अरू दलका अफ्ठ्यारा सुल्झिए भने देश राम्रो बाटोमा जानेछ : सभापति लामिछाने

असार ७, २०८३

जयसिंह महरा

May the problems within the Congress and UML be resolved, best wishes: Chairman Lamichhane

चितवन — रास्वपा सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेलाई आन्तरिक विवाद मिलाउनका लागि सुझाव दिएका छन् । राजनीतिक दलभित्रका विवादले मुलुकलाई कहीँ न कहीँ समस्या पार्ने भएकाले राष्ट्रिय राजनीतिक दलका समस्या समाधान गर्न सुझाएका हुन् । 

आइतबार चितवनमा पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै लामिछानेले विपक्षी दलहरूलाई उक्त सुझाव दिएका हुन् । 'राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठीक भएर हुँदैन, राष्ट्रिय राजनितिमा रहेका सबै दल राम्रो हुनुपर्छ । कांग्रेस र एमालेभित्र कहीँ न कहीँ केही अफ्ठ्यारा देखिएका छन्, त्यो अफ्ठ्यारा त्यो दलको मात्रै होइन त्यो दलका अफ्ठ्यारा सुल्झिएनन् भने समग्र देशको अफ्ठ्यारो बन्न सक्छ,' सभापति लामिछानेले भने, 'मेरो शुभकामना छ, आफ्ना दलभित्रका अफ्ठ्यारा मिलाउनुहोला । आफ्नो दलमात्र होइन अरु दलका अफ्ठ्यारा सुल्झिए भने देश राम्रो बाटोमा जानेछ ।'

सभापति लामिछानेले राजनीतिक दलहरूले मुलुकका लागि साझा प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए । 'यसअघि राजनीतिक दलहरू प्रतिस्पर्धी बने । हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन,' उनले भने ।

राजनीतिक दल र नेताहरूका व्यक्तिगत वैमन्यसयता निजी रहन नहुने पनि सभापति लामिछानेको भनाइ थियो । 'हामी वैमनस्यता बोकेर बाँच्ने होइन, ठूलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नुपर्छ,' उनले भने । सभापति लामिछानेले इतिहासका लागि पार्टीका वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताए ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully