२०१८ माघ २६ गते राति मुक्ति सेनाले भरतपुरका सरकारी अड्डा 'क्याप्चर' गर्यो । विजयोत्सव चलिरहँदा शाही सेनाले घेरा हालेर ११ जनालाई एउटै डोरीले बाँधेर लतार्दैपछार्दै चौबीसकोठी पुर्यायो । त्यसपछि के भयो ? चितवन कांग्रेसका पूर्वसभापति तोपमानसिंह गुरुङले बर्बरतापूर्ण दृश्य यसरी सम्झिएका छन् ।
What you should know
चितवन — कांग्रेस सभापति गगन थापाले रास्वपा महाधिवेशको उद्घाटन सत्रमा आइतबार २०१८ सालमा भरतपुरमा भएको एउटा घटनाको प्रसंग उक्काए । थापाले सम्झाएको त्यही घटनाबारे अहिले सामाजिक सञ्जालमा चर्चा/परिचर्चा भइरहेको छ । विशेषगरी २०१८ को 'भरतपुर कब्जा घटना'बारे उनले उप्काएको ऐतिहासिक प्रसंगबारे सामाजिक सञ्जालमा पत्रकारदेखि राजनीतिक विश्लेषकसम्मले चर्चा गरेका छन् ।
कांग्रेस सभापति थापाले आफ्नो सम्बोधनका क्रममा भने, 'कृपया एकैपटक ३५ वर्षमा केही पनि भएन भनेर नभनिदिनुहोला । कृपया पञ्चायतका ३० वर्षका संघर्षका कथाहरूलाई अन्डरमाइन पनि नगर्दिनुहोला । तपाईं जुन ठाउँमा उभिनुभएको छ नि, त्यहीँ मुनि करिब ५० जना मानिसहरूको लास गाडिएको छ २०१८ सालमा ।'
चितवन ऐतिहासिक रूपमै क्रान्तिको भूमि रहेको स्मरण गराउँदै थापाले भने, 'पञ्चायतको सरकारले काटेर गाडेको छ त्यहीँ मुनि उभिनु भएको छ । तपाईंले भोलि कार्यक्रम गर्ने ठाउँमा पनि थुप्रै साथीहरू गाडिएका छन् । यी सबैले कांग्रेसको चारतारे झण्डा उठाएका थिए । जय नेपाल भनेका थिए । तर आफ्ना लागि होइन । आफ्नो परिवारका लागि होइन । टाउको काटियो, रेटियो, तर तिनले बोलेको त्यो कुरा तपाईंको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो । आज नीलो झण्डा फहराउन तपाईंले पाउनुभएको छ । झण्डा फहराउँदै गर्दा भुइँमा हेर्नुहोला, चितवनको भुइँमा पनि हेर्नुहोला, त्यहाँ अलिअलि रातो छ । त्यो रातो थुप्रै तीनै सहिदहरूले लगाएको रातो हो ।'
के हो भरतपुर कब्जा घटना ?
पत्रकार सीताराम बरालले २०१७ मा तत्कालीन राजा महेन्द्रको ‘कु’ पछि जगतप्रकाशजंग शाह सशस्त्र संघर्षमा होमिएर चितवन कब्जाको नेतृत्व गर्दै चितवन पुगेको प्रसंग उल्लेख गरेका छन् । 'उहाँको नेतृत्वमा चितवन कब्जा त भयो । तर, काठमाडौंबाट गएको सरकारी सेनाले छलकपटद्वारा उहाँलाई गिरफ्तार गर्यो । अन्य योद्धाहरू मारिए पनि नातामा राजा महेन्द्रको नाताभित्रको पर्ने भएकाले उहाँलाई तत्काल मारिएन, नारायणहिटी ल्याइयो । राजा महेन्द्रले उहाँलाई आत्मसमर्पण गर्न भन्नुभयो । तर, जगतप्रकाशले आत्मसमर्पण गर्नुभएन । फेरि उहाँलाई चितवन फर्काइयो र क्रमैसँग हातखुट्टा काटियो, हातखुट्टाबिनाको शरीर खाल्डोमा हालियो र शिरोच्छेदन गरियो । अनि, हत्या भएको प्रमाणका लागि उहाँको शिर दरबारमा ल्याइयो,' बरालले फेसबुकमा लेखेका छन् ।
यसै सन्दर्भमा चितवन कांग्रेसका पूर्वजिल्ला सभापति तोपमानसिंह गुरुङले आफू त्यसबेला मुक्ति सेनाका तर्फबाट पत्रवाहकको भूमिकामा रहेको बताएका छन् । २००२ सालमा तनहुँमा जन्मिएका तोपमानसिंह पञ्चायत शासनविरुद्धको क्रान्तिमा सानै उमेरमा होमिएका थिए । नेपाली कांग्रेसले तत्कालीन पञ्चायत शासनविरुद्ध लडेर मुलुकमा लोकतन्त्र स्थापनाको लक्ष्य लिएको थियो ।
तोपमानसिंहले त्यसबेलाको घटना सम्झिँदै कान्तिपुरसँग भने, 'भरतपुर क्याप्चर गर्ने सिलसिलामा पहलमानसिंह राईको नेतृत्वमा लालध्वज गुरुङ, सूर्यभक्त अधिकारी, इमानसिंह गुरुङ, हरिप्रसाद गुरुङलगायतका साथीहरू आउनुभएको थियो । तत्कालीन सुरक्षा प्रमुख थानेदार भरत गुरुङ हुनुहुन्थ्यो । 'हामी भरतपुर कब्जा गर्न आउँदै छौँ माघ २६ गते राति १२ बजे । तपाईंहरूले सरेन्डर गरिदिनुपर्यो भनेको पत्र सूर्यभक्त अधिकारी र लालध्वज गुरुङले पुर्याइदिन भनेर मलाई दिनुभयो । मैले त्यो पत्र लगेर थानेदार गुरुङलाई बुझाएँ ।'
आफूले उक्त पत्र २०१८ माघ २४ गते लगेर थानेदार गुरुङलाई बुझाएको तोपमानसिंह बताउँछन् । त्यसपछि थानेदार गुरुङले उक्त पत्रको जवाफ दिँदै भने : हुन्छ, मैले सरेन्डर गर्छु । भरत गुरुङ २००७ सालको संघर्षका मुक्ति सेना थिए । पछि रक्षा दल हुँदै समायोजनबाट नेपाल प्रहरीमा आएका थिए । माघ २६ गते ठीक १२ बजे राति मुक्ति सेना क्याप्चरका लागि भरतपुर पुगेको थियो ।
तोपमानसिंह भन्छन्, 'थानेदार गुरुङले सरेन्डर गर्नुभयो । उहाँले छाडिदिनुभयो र चितवन ४८ घण्टाका लागि क्याप्चर भयो । ४८ घण्टा मुक्ति सेनाले चहलपहल गरे । ४८ घण्टापछि शाही सेनाले रिक्याप्चर गर्यो । त्यसपछि जगतप्रसादजंग शाह, बुद्धसिंह राना र हरिप्रसाद गुरुङलगायतका साथीहरू थुप्रै साथीहरूलाई शाही सेनाले मारेर पुल्चोकमुनि नगरवनको छेउछाउ लगेर गाडेका हुन् । त्यतिखेर अरू थुप्रै साथीहरूलाई पनि मारेका हुन् । मोटामोटी ८०/९० जना मान्छे मारेर त्यहाँ गाडेका हुन् ।'
तोपमानसिंहका अनुसार शाहीले सैनिकले त्यो अत्याचारविरुद्ध लालध्वज गुरुङको नेतृत्वमा मुक्ति सेना गोरखा लमजुङ र तनहुँ क्याप्चर गर्ने भनेर पहाडतिर लाको थियो । तर तनहुँ भिमादको मानपाङमा लालध्वज र सूर्यभक्तहरू गिरफ्तारमा परे ।
भरतपुर घटना र कांग्रेसको क्रान्तिकथालाई विषयवस्तु बनाएर 'बखान' उपन्यास लेखेका चितवनका पत्रकार वसन्त पराजुलीले प्राध्यापक ईश्वरीराज लौडारीलाई उद्धृत गर्दै गोरखापत्रमा लेखेका छन्, 'भरतपुर कब्जाका क्रममा गैँडागस्ती क्याम्प, राप्ती दुन परियोजनाको कार्यालय, झुवानीको प्रहरी थाना सबै कब्जामा लिइएको थियो । कांग्रेसको मुक्तिसेनाले भरतपुरको थानाबाट १८० थान नाल हतियार, गैँडागस्ती क्याम्पबाट २७ नाल बन्दुक कब्जामा लिएको थियो ।'
भरतपुरको भरतपुरकै देउती खोलानजिकै चौरमा मुक्तिसेनाले विजयोत्सव मनाइरहँदा शाही सेनाले घेरा हालेको प्रसंग पराजुलीले लेखेका छन् । शाही सेनाको क्रुरता वर्णन गर्दै उनी लेख्छन्, 'मुक्ति सेनाका ११ जनालाई नियन्त्रणमा लिई एउटै डोरीले बाँधेर सेनाले लतार्दैपछार्दै चौबिसकोठी पुर्यायो । त्यहाँ तीन जनालाई गोली ठोकेर मारियो । अन्यलाई त्यहीँबाट लतार्दै घिसार्दै टिकौली जङ्गल पुर्यायो । बाँकी सात जना जनमुक्ति सेनालाई सङ्गिन रोपेर तड्पाई तड्पाई हत्या गरिएको इतिहासकारले उल्लेख गरेको पाइन्छ ।'
भरतपुर कब्जा घटनामा कति जनाको मृत्यु भयो भन्नेबारे भने फरक-फरक प्रसंग उल्लेख छ । पत्रकार पराजुलीले हेमराज अधिकारीको 'आजको नेपाल' पुस्तकको सन्दर्भ दिँदै ८५ जनाको मृत्यु भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘आजको नेपाल’ मा लेखिएको छ, त्यस दिन गेस्टहाउसमा मारिएका मानिसका ८५ जोर जुत्ता थिए । उनीहरूलाई हस्पिटल (भरतपुर) पछाडि खनिएको विशाल खाल्टोमा जिउँदै पुरेर मारियो । त्यसबेला विभिन्न ठाउँबाट पक्रिएर ल्याइएका मानिसलाई जिउँदै खाल्टोमा पुरेर सामूहिक हत्या गरियो ।'
हिमाल खबरमा २०७७ चैत २४ गते प्रकाशित लेखमा श्रीभक्त खनालले भरतपुर कब्जा घटनाको नालीबेली वर्णन गरेका छन् । खनालले भरतपुर घटनामा संलग्न भएको आरोपमा सेनाले ३४ जनाभन्दा बढीलाई समातेर मारेको प्रसंग पुस्तकमा उल्लेख गरेका छन् । उनको लेखमा उक्त घटनामा मारिनेको सूचीसमेत छ । कांग्रेसका पाका नेताहरूसँगको कुराकानी र अनुसन्धानमा आधारित लेखमा श्रीभक्त लेख्छन्, 'जगतप्रकाशजंग, बुद्धसिंह, हरिप्रसाद, हरिनाथ, धनबहादुर, सन्त सिंह, शमशेरबहादुरलगायत ११ जनालाई शाही सेनाले डोरीले बाँधेर टिकौलीको जंगलतर्फ लग्यो। २९ माघमा टिकौलीतर्फ लगिएकामध्ये जगतप्रकाशजंगबाहेक अरू सबैलाई शाही सेनाले निर्ममतापूर्वक मार्यो । जगतप्रकाशजंग शाह राजखलकका थिए । त्यसैले उनलाई के गर्ने भन्नेबारे दरबारमा खबर पठाइयो । राजा महेन्द्रको अनुमति र गृहमन्त्री विश्वबन्धु थापाको निर्देशनपछि उनलाई मारियो ।'
कांग्रेसका पूर्वजिल्ला सभापति तोपमानसिंह गुरुङ उक्त घटनापछि आफू प्रवास गएको बताउँछन् । माघ २६ को घटनापछि २८ गते गेस्टहाउस जाँदै गरेका उनी शाही सेना र मुक्ति सेनाबीच गोली हानाहान भइरहेको देखेपछि बाटैबाट फर्किए । 'भरतपुर काण्डपछि मलाई पनि वारेन्ट जारी भयो । म इन्डिया गएर ८ वर्ष बसेँ । प्रवास बस्ने क्रममा पार्टीकै काम गरिरहेको थिएँ,' उनले भने । बीचमा उनी झण्डा गाड्ने र प्रचा बाँड्न २०२१ सालमा चितवन आए । जिल्ला शिक्षा अधिकारी थिए भोजविक्रम राई । उनीसँग उनको भेट भयो । उनलाई सरकारले समाउन सक्ने भएकाले सतर्क रहन राईले आग्रह गरे । 'मलाई देखेपछि ओहो ! तिमीलाई त समातिहाल्छ नि भनेर मलाई गेस्ट हाउस लगेर जानुभयो । चितवन गेस्ट हाउस उहाँको बस्ने ठाउँ रहेछ,' तोपमानसिंहले भने ।
घटनाको ३ वर्षपछि फर्किंदा पनि गेस्टहाउसका कोठा र बरन्डामा रगतका टाटा देखेको बताउँछन् । उनले त्यसबेलाको दृश्य सम्झिँदै भने, 'त्यहाँ हेर्दा खेरी मुक्ति सेनाका कमान्डरहरूलाई गोली हानेका कोठा माकुराका जाला लागेका थिए । अनि भित्ता रगतले लेस्सिएको रगतको टाटाहरू । बरन्डामा रगतको आहालको टाटा देखेँ ।'
