सौम्य र शान्त पहाडका चुचुराहरुमा ‘टावर’ बनाएर आफूलाई अग्लो सावित गर्ने होडमा लागेका छन्, नेताहरु । राजनीतिक दलका शीर्ष भनिने नेताहरुले जनताको मत जितेका छन्, मन जित्न सकेका छैनन्।
What you should know
जेन–जी विद्रोहको परिणामका रुपमा सम्पन्न भएको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा आफ्नो पहिलो महाधिवेशनको ‘भव्य’ आयोजना गरेको छ । यसका लागि पार्टीका अध्यक्ष रवि लामिछानेलाई बधाई दिनुपर्छ । जसले जे भने पनि, रास्वपाको परिकल्पना र निर्माण गर्ने, यसलाई हुर्काउने र सत्तारोहण गराउने व्यक्तित्व लामिछाने नै हुन् । यसका लागि उनीसँग सहमत भए पनि र नभए पनि उनलाई बधाई दिनै पर्छ । पार्टी निर्माणको क्रममा उनले राम्रा–नराम्रा र असल–खराव अनेकन काम गरेका होलान् । तर, मुद्दा–मामिलाका अनेक जन्जाल छिमल्दै उनी पार्टी निर्माणमा सफल भए । त्यसका लागि उनले कतिपय सही र गलत सम्झौता पक्कै गरे होलान् । त्यो विषय आफ्नै ठाउँमा छ । निकट अतीतका घटना र दुर्घटनाबाट उनी विचलित भएनन् । नेपाली कांग्रेसका विद्वान नेता सीके प्रसाईं भन्नुहुन्थ्यो– ‘राजनीतिमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैनन् ।’ रविले यो यथार्थको अवलम्वन गरे । समकालीन राजनीतिको परिचालनका लागि ‘नभै नहुने’ आर्थिक स्रोत जुटाउन उनले निकै बठ्याईं गरे । निकै कष्ट सहे । उप–प्रधानमन्त्री पनि भए । अन्ततः संगठित राजनीतिक दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमा आयो । रविको महत्त्वाकांक्षा साकार भयो ।
जेन–जी विद्रोहको परिणामस्वरुप सम्पन्न भएको निर्वाचनमा देशका प्रखर राजनीतिक बिश्लेषकहरु राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको विजयको श्रेय वालेन्द्र शाहलाई दिन चाहन्छन् । वालेन्द्रको चमत्कारिक ब्यक्तित्वको उपस्थिति नभएको भए रास्वपाको पक्षमा यति ‘वृहत’ जनमत देखिने थिएन । तर, यो सांकेतिक विषय हो । रास्वपा नभएको भए वालेन्द्र एक्लैले चुनाव जित्ने र जिताउने कुरै थिएन । नेपाली निर्वाचनलाई नजीकबाट हेरेर निष्कर्षमा पुग्ने निर्वाचन बिशेषज्ञहरुको संख्या निकै ठूलो छ । उनीहरुले रास्वपा अध्यक्ष रवि र बरिष्ठ नेता वालेन्द्रबीचको समन्वयलाई यसरी नै हेरेको पाइन्छ ।
यो सत्य हो, सम्पन्न निर्वाचनको केन्द्रविन्दूमा वालेन्द्र शाह थिए । उनको ब्यक्तित्वलाई रास्वपाका कार्यकर्ता र समर्थकहरुले चम्काएका थिए । अध्यक्ष रवि लामिछाने चुनावी अभियानमा त्यति सक्रिय देखिएका थिएनन् । चुनाव जित्न वालेन्द्र शाहको ‘नामै काफी छ’ भन्नेमा उनी ढुक्क थिए । नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरुप्रति जनताको बढ्दो उव्दिग्नताका बारेमा रवि र उनका सहयोगीहरु बिश्वस्त थिए । रास्वपाले वालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा उभ्याउनुको तात्पर्य यही थियो । वालेन्द्रलाई प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अघि बढाउने रास्वपको निर्णय रणनीतिक थियो । यो रणनीति रास्वपा नेताहरुको कूटनीतिक कौशलको परिणाम मात्रै थिएन । सम्पन्न निर्वाचनका बारेमा चर्चा–परिचर्चाहरु अहिले पनि जारी नै छन् ।
जेन–जी आन्दोलनका नाममा भएको गत बर्ष भदौ २४ को विध्वंशले निम्त्याएको सम्पन्न निर्वाचनको स्पष्ट र समीचिन ब्याख्या अहिलेसम्म हुन सकेको छैन । जेन–जी आन्दोलनको परिणामका रुपमा आएको चुनाव सुरक्षा निकायबाट परिचालित रहेको आशंका अहिले पनि यथावत छ । नेपाली जनताको बढी चासो लोकतान्त्रिक अभ्यासमा भन्दा सुशासनमा रहेका भाष्यहरु खडा गर्न थालिएको छ ।
प्रधानमन्त्रीका रुपमा वालेन्द्र शाहको प्रस्तुति पनि नेपालको संविधानको मर्यादा अनुकूल देखिएका छैनन् । प्रधानमन्त्रीले नव–निर्वाचित संसद्को मान र मर्यादा राखेका पनि छैनन् । संसद्मा उनी अत्यन्त चन्चल देखिएका छन् भने सरकारमा पनि उनी सानो समूहमा सीमित देखिन थालेका छन् । प्रधानमन्त्रीका रुपमा वालेन्द्रका ब्यबहारका बारेमा संसद्मा छलफल हुनुपर्ने हो । त्यो हुन सकेको छैन । स्वयं रास्वपाका लागि यो राम्रो संकेत मान्न सकिदैन ।
चुनावमा वहुमत पाउने वित्तिकै राजनीतिक दलहरुले संवैधानिक र संसदीय मर्यादाहरुको उल्लंघन गर्नु भनेको उच्छृंखल ब्यबहार हो । रास्वपा क्रान्तिको माध्यमबाट सत्तामा आएको पार्टी होइन । यो कुरामा रास्वपा अध्यक्ष र प्रधानमन्त्री दुबैले अहिलेसम्म विचार पुर्याएको देखिएको छैन ।
देशको संविधानप्रति प्रधानमन्त्री वालेन्द्रको वितृष्णा स्पष्ट देखिन थालेको छ । सडकका मानिस भन्न थालेका छन्– यो संविधान त राम्रै लागेको थियो । तर, यो हाम्रा लागि गतिलो संविधान रहेनछ । यसले नेतातन्त्रको बिकास गर्यो । तर, जनताका लागि बिश्वसनीय काम गरेन । राजनीति गर्नेहरुको संरक्षणमा भ्रष्टाचार बढ्यो । देशमा चलेका बिकास आयोजना पारदर्शी भएनन् । कृषि उब्जनी र औद्योगिक गतिविधि बढाउन किसानहरुलाई प्रोत्साहित गरिएन । जलस्रोतको धनी भनेर चिनिएको देशमा जलशक्तिको ब्यवसायिक विकास भएन । नेपाली जन–जीवनको सबै क्षेत्रमा पर–निर्भरता बढदै गयो । देश र जनताका लागि अत्यन्त प्रतिकूल अवस्थाको सिर्जना भयो । कामको खोजीमा बिदेश जानेको लर्को बढन थाल्यो । हाम्रा दलका मुख्य नेताहरु नै निर्लज्जताका साथ जनशक्तिलाई विदेश निर्यात गर्ने गुमास्ता सावित हुन पुगे । उनीहरु देश र जनताप्रति जिम्मेवार भएनन् । राजनीति गर्ने मानिस आफूलाई जनताका सेवक होइन, शासक हौं भन्ने दम्भमा रमाउन थाले । दुर्भाग्यवशः प्रधानमन्त्री वालेन्द्रको ब्यवहारमा पनि यो दम्भ देखिएको छ । उनको चरित्र पनि फरक देखिएको छैन ।
परिवर्तनपछि नेपाली राजनीतिमा आएका नेताहरुको अनुहार र ब्यबहारमा देश बनाउने कल्पनाशील शैली कहिले पनि परिलक्षित हुन सकेको छैन । नेताहरुको आवाजमा विकासका स्वरहरु गुन्जिए पनि जनताले ती आवाज लक्ष्यतिर बढ्न थालेको देख्न पाएका छैनन् । अहिले देश संघीय गणतन्त्रमा रुपान्तरित भइसकेको छ । र पनि, नेताहरुमा परिवर्तनको चाहना देखिएको त छ, तर त्यो चाहनामा हुटहुटी छैन । प्रधानमन्त्री जो भए पनि, उनीहरु सत्ताको खेलमा रमाएका छन् । देशका नेताहरु जनताप्रति बिबेकशून्य देखिएका छन् । उनीहरु न कल्पनाशील छन्, न उनीहरुमा कुनै ब्यबहार कुशल ज्ञान नै देखिएको छ । सौम्य र शान्त पहाडका चुचुराहरुमा ‘टावर’ बनाएर आफूलाई अग्लो सावित गर्ने होडमा लागेका छन्, नेताहरु । राजनीतिक दलका शीर्ष भनिने नेताहरुले जनताको मत जितेका छन्, मन जित्न सकेका छैनन् ।
अहिले प्रधानमन्त्री वालेन्द्रका वरिपरि रहेका बिव्दानहरु संविधान पुनरावलोकन प्रस्तावको तयारीमा लागेको सूचनाहरु आइरहेका छन् । वालेन्द्र र उनका सहयोगीहरुले यो देशमा चल्दै आएको परिवर्तनको नियमित चक्रब्यूहको ध्यान राखेर संविधान संशोधनको तयारी गर्न थालेको हुनुपर्छ । २०६२ को परिवर्तनपछि २०७२ मा संघीय गणतन्त्र नेपालको ‘समावेशी’ संविधान बन्यो । तर, संबिधानको आत्मा नभएको बिचार ब्यक्त गरेका थिए, संविधानविद्हरुले । संविधानका बारेमा अहिले पनि संविधानविदहरुले छलफल गर्न छाडेका छैनन् । तर, संविधानको लेखाइ मात्रै राम्रो भएर पुग्दैन । यसको प्रयोग कसरी हुन्छ ? त्यसैमा धेरै विषय निर्भर हुन्छ ।
आगामी दिनमा संविधानको आत्मा जगाउने हो भने सबभन्दा पहिले दलका शीर्ष नेताहरुलाई ब्यबहारिक राजनीतिको प्रशिक्षण दिनुपर्ने छ । तर, धेरै नेताले उमेरको हद पार गरिसकेका छन । संविधानको पुनरावलोकन गर्दा नेताहरुको उमेरको पनि हेक्का राख्नुपर्ने हुन्छ । २००७ सालको क्रान्तिपछिको समयमा हाम्रा नेताहरुले देशका लागि जति पनि संघर्ष गरेका थिए, त्यसको मूल्य ब्याजसहित असूल गरीसकेका छन् । संविधानको गल्ती गनेर मात्रै देशमा परिवर्तन आउने होइन । परिवर्तनका लागि सबभन्दा पहिले समाजको चाहना बुझ्नु पर्छ । राजनीतिमा अहिले सक्रिय रहेका र अव आउने दिनमा राजनीतिमा लाग्ने नेताहरुले नेपाली समाजलाई संवैधानिक अधिकारको प्र्रयोगका सम्बन्धमा विशेष ध्यान दिनुपर्छ । त्यसो भयो भने, देश अलिकति सहज अवस्थामा पुग्ने आशा गर्न सकिन्छ ।
रास्वपाको अधिवेशनमा नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसलाई रास्वपाको दुश्मन होइन, प्रतिस्पर्ध्दी हो भनेका छन् । कांग्रेस अहिलेकै अवस्थामा विभाजित रहने हो भने नेता थापाको यो भनाइले खास कुनै अर्थ राख्दैन । राजनीतिमा प्रतिस्पर्ध्दाले दुश्मनीको रुप लिन धेरै समय लाग्दैन । यो कुराको ज्ञान नेता थापालाई भइसकेको हुनुपर्छ । राजनीतिलाई पेशाको रुपमा ग्रहण गर्ने परिपाटीले संगठनलाई ध्वस्त पार्छ । राजनीतिक सफलताका लागि कार्यकारी र न्याय प्रणालीका सूत्र समात्नु सजिलो होला । तर, त्यो प्रबृत्तिले राजनीतिलाई ध्वस्त पार्दछ ।
संसद्मा वहुमत प्राप्त पार्टीले देश विकासका लागि आमूल परिवर्तनको कार्यक्रम ल्याउन खोज्नु अस्वाभाविक होइन । रास्वपाले अहिले वहुमत मात्रै पाएको होइन । यसले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरु र तिनका नेताहरुलाई नराम्रोसंग झस्काएको हुनुपर्छ । यतातिर, कांग्रेसका प्रभावशाली नेताहरुले ध्यान दिएको देखिएको छैन । चुनावको मुखैमा आएर विशेष अधिवेशनको रंगमन्च सजाउने भूमिकामा देखिएका कांग्रेसका नेता गगन थापा यतिखेर छक्क परेका होलान् । समय र परिस्थितिको बिश्लेषण गर्न नसक्दा कांग्रेस चुनावमा निकै पछि पर्यो । अहिले उनले यो कुरा पक्कै अनूभूत गरेका होलान्– राजनीतिमा लोकप्रिय हुनु सजिलो छ । तर, विवेकपूर्ण निर्णय लिनु कठिन छ । आजको समयमा राजनीतिको आधार बनेको हुन्छ– शक्ति । त्यस्तो शक्तिले राजालाई रंक र रंकलाई राजाको रुपमा स्थापित गरेका उदाहरण एक होइन, अनेक छन् ।
यतिबेलाको विश्व राजनीति बीस बर्षअघिको जस्तो छैन । साना र अविकसित देशहरु चाहेर–नचाहेर अनेकौ झमेलामा अल्झिएका छन । हाम्रो आफ्नै सन्दर्भमा हेर्दा जेन–जी आन्दोलनका क्रममा सक्रिय रहेका अनेकन संस्था र ती संस्थासंग जोडिएका अनेकन ब्यक्तित्वको चर्चाले हाम्रो सामाजिक, राजनीतिक र कूटनीतिक अवस्थाको गहन परिचय दिन्छ । हामी आफ्ना राष्ट्रिय र आन्तरिक स्वार्थहरुका बारेमा सोच्न नसक्ने अवस्थामा पुगेका छौं । त्यसबाहेक, हाम्रो मनमा आन्तरिक व्दन्व्दका खतराहरु पनि माडारिएका छन् । हाम्रा राजनीतिक दलहरु आन्तरिक कलहमा फँसेका छन् । यो अवस्थामा हाम्रो राष्ट्रिय सुरक्षा प्रणाली र राजनीतिक नेतृत्वका बीच समझदारी हुन सकेन भने देश व्दन्व्दमा फँस्ने पक्का छ ।
