बादी समुदायकी पहिलो मन्त्री सीताले बोक्नेछिन् महिला बालबालिका तथा ज्येष्ठ नागरिकका एजेण्डा  

बालविवाह, दाइजो प्रथा, घरेलु हिंसा र छाउपडी जस्ता कुरीति कानुनी रूपमा निषेध भए पनि व्यवहारमा अझै कायम छन् । नीतिलाई कार्यान्वयन गर्नु, मूल्यांकन प्रणाली सक्षम बनाउनु मन्त्रालयका मुख्य चुनौती

चैत्र १३, २०८२

प्रकृति दाहाल

Sita, the first minister from the Badi community, will carry the agenda of women, children and senior citizens

What you should know

काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको सरकारको मन्त्रिमण्डलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सीता बादीले पाएकी छन् । उनले बादी समुदायको पहिलो मन्त्रीको इतिहास रचेकी छिन् । दलित महिला क्लस्टरतर्फ रास्वपाबाट समानुपातिक प्रणालीमार्फत संसद् पुगेकी उनले अब मन्त्रालय हाँक्ने भएकी छन् ।

२०५२ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ को झुप्राखोलामा जन्मिएकी उनले बाल्यकाल गरिबी, छुवाछूत बहिष्कार र अपमानमा नै बित्यो । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।  लामो समयदेखि उनी सामाजिक कार्यमा सक्रिय छन् । अहिले पनि दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकालाई शिक्षा र महिला दिदीबहिनीलाई व्यावसायिक तालिम दिइरहेकी छन् । चुनिखेल क्षेत्रमा उनले हस्तकलाका सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसाय सुरू गरेकी छन् । यस उद्यमले उनलाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै अन्य महिलाका लागि पनि रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्‍यो ।Sita, the first minister from the Badi community, will carry the agenda of women, children and senior citizens

साना उद्यममार्फत महिलालाई आत्मनिर्भर बनाउने उनको प्रयास समाजका लागि उदाहरणीय बनेको छ । बादी समुदायमा जन्मिएर आफूहरूले भोगेका पीडा शिक्षा, स्वास्थ्य, रोजगार, जातीय व्यवस्थामा आधारित शासन, सामाजिक अपमान र बहिष्कारलगायतका अपमान अब कुनै पनि समुदायका छोराछोरीले भोग्न नपरोस् भन्ने समाज निर्माण गर्नु आफ्नो राजनीतिक उद्देश्य भएको उनले कान्तिपुरसँग बताएकी छन् ।

देशको ठूलो जनसंख्या समेट्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नीति निर्माणमा सक्रिय देखिए पनि कार्यान्वयन पक्षमा भने चुनौतीहरूको सामना गरिरहेको छ । समावेशी विकास र सामाजिक सुरक्षाको मुख्य जिम्मेवारी बोकेको यो मन्त्रालय संरचनागत कमजोरी, सीमित स्रोत र कमजोर समन्वयका कारण अपेक्षित परिणाम हासिल गर्न सकेको छैन ।  

मन्त्रालयले पछिल्लो दशकमा सामाजिक सुरक्षा,लैंगिक समानता र बाल अधिकार सुनिश्चित गर्न विभिन्न नीति तथा कार्यविधिहरू निर्माण गरेको छ । मानव बेचबिखन नियन्त्रण,लैंगिक उत्तरदायी बजेट, बालमैत्री बजेट तथालैंगिक हिंसाविरुद्धका राष्ट्रिय योजन बने पनि तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । तीन तहका सरकारबीच स्पष्ट जिम्मेवारी निर्धारण नहुनु, कार्यान्वयन योजना कमजोर हुनु र अनुगमन प्रणाली प्रभावकारी नहुनुले नीति कागजमै सीमित हुने अवस्था देखिएको छ । 

संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अत्यन्त महत्त्वपूर्ण भए पनि व्यवहारमा यसको अभाव स्पष्ट देखिन्छ । अपांगता परिचयपत्र र ज्येष्ठ नागरिक परिचयपत्र वितरण, बाल सुधार गृह व्यवस्थापन तथा लैंगिक हिंसा पीडितका लागि सेवा प्रवाहमा स्पष्ट भूमिका नहुँदा कतै सेवा दोहोरिने र कतै पूर्ण रूपमा अभाव हुने समस्या देखिएको छ ।  कतिपय स्थानीय तहमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् भने कतै आधारभूत सेवा उपलब्ध गराउन नसक्नु सरोकारवालाहरुले चुनौती औंल्याएका छन् । 

महिला अधिकारकर्मी इन्दु तुलाधार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय देशको सामाजिक सुरक्षा र समावेशी विकास सुनिश्चित गर्ने प्रमुख निकाय रहेको बताउदै यस मन्त्रालयले देशको आधा भन्दा बढी जनसंख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समेट्दै बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सुरक्षा र कल्याण सुनिश्चित गर्ने जिम्मेवारी बहन गर्नुपर्ने बताइन् । लोकतान्त्रिक र कल्याणकारी राज्य निर्माणका लागि संवेदनशील वर्गलाई संरक्षण गर्न आवश्यक सबै जिम्मेवारी यही मन्त्रालयमा केन्द्रित रहेकाले मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । उनले भनिन्, ‘नेपालमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको जनसंख्या निरन्तर बढिरहेको छ अपाङ्गता भएका व्यक्तिहरूको संख्या पनि धेरै छ यस मन्त्रालयको मुख्य चुनौती भनेको बजेट हो । थोरै बजेट मात्र उपलब्ध भएको र प्रायः बेवास्ता गरिएको मन्त्रालय हो ।’

स्रोत साधनको अभावले चाहेर पनि मन्त्रालयले क्षमता पूर्ण रूपमा देखाउन सकेको छैन । दक्ष र योग्य व्यक्तिहरू पनि जिम्मेवारी लिन अग्रसर हुन सकेका छैनन् । उनले मन्त्रालय आकर्षक नभएको कारण जिम्मेवारी लिन इच्छुक व्यक्तिहरूको अग्रसर नहुने बताइन । उनले मन्त्रालयलाई क्षमता अभिवृद्धि गर्न प्राथमिकतामा राख्नु अपरिहार्य रहेको बताइन् । सामाजिक सुरक्षा र संवेदनशील वर्गको हकहित सुनिश्चित गर्न बजेट, स्रोत साधन र दक्ष जनशक्ति उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि सञ्चालन हुने कार्यक्रमहरू प्रभावकारी बनाउन बजेट पर्याप्त हुनुका साथै पूर्वाधार र जनशक्तिमा सुधार आवश्यक छ । वृद्धाश्रममा स्वास्थ्यकर्मी, औषधि तथा एम्बुलेन्सको अभाव, बाल सुधार गृहमा सुरक्षित आवास र मनोसामाजिक परामर्शको कमी तथा दुर्गम क्षेत्रमा सेवा केन्द्रको अभावले लक्षित समूहलाई प्रत्यक्ष असर गरेको छ । ‘यो मन्त्रालय जनसंख्याको मौलिक हक कार्यान्वयन गर्ने निकाय हो यसको महत्व धेरै ठूलो छ यसलाई बेवास्ता गरेर अगाडि बढ्न सकिने अवस्था छैन सामाजिक सुरक्षा, महिला सशक्तीकरण, अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री वितरण, बाल सुधार गृह व्यवस्थापन, महिला उद्यमशीलता प्रवर्द्धन र जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी बनाउन मन्त्रालय बलियो, सक्षम र पर्याप्त स्रोत साधनसहित सक्षम हुनुपर्ने आवश्यक छ,’ तुलाधरले मन्त्रालयको महत्त्वबारे जोड दिँदै भनिन् । 

मुलुकको कुल जनसंख्याको ५१ प्रतिशत महिला, ३३.८ प्रतिशत बालबालिका, १०.२१ प्रतिशत ज्येष्ठ नागरिक र २.२ प्रतिशत अपाङ्गता भएका व्यक्ति गरी कुल जनसंख्याको ठूलो हिस्सा यस मन्त्रालयले बोकेको छ । २०८१/८२ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड बजेट छुट्याइएको थियो । मन्त्रालयलाई बेवास्ता गरिएको र कम बजेट विनियोजन गरिएको सरोकारवालाहरूले बताउँदै आइरहेका छन् । 

महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सेवा, पुन:स्थापना, सशक्तीकरण र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न ठूलो बजेट आवश्यक रहेको र विनियोजित बजेट पनि प्रभावकारी रूपमा खर्च हुन नसक्नु, कार्यक्रम ढिलो हुनु र अपेक्षित परिणाम नआउनुजस्ता समस्या देखिएको राष्ट्रिय महिला अपाङ्ग महासंघकी महासचिव देवी पराजुलीले बताइन् । पराजुलीका अनुसार कानुन कार्यान्वयन नै मन्त्रलयको मुख्या मुख्य चुनौती रहेको जानकारी दिइन् । अपाङ्गता ऐन निर्माण भए पनि अपाङ्गता व्यक्तिहरूले अधिकार नपाएको उनको भनाइ छ । 

कानुन कार्यान्वयन पनि मन्त्रालयको जिम्मेवारीमा रहेकाले मुख्य कुरा नै कडाइका साथ कानुन कार्यान्वयन गर्नुपर्ने उनको जोड छ । अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुन:स्थापना दुई मन्त्रालयबीच बाझिएको बताउँदै उनले भनिन्, ‘अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुन:स्थापना मन्त्रालयको जिम्मेवारी स्पष्ट नभएकाले यसबाट वञ्चित छन्, यो कुरा अबको सरकारले स्पष्ट पार्नुपर्ने छ ।’ 

संघ, प्रदेश र स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी समावेश गर्ने स्पष्ट धारणा नभएको उनको भनाइ छ । अपाङ्गता भएका व्यक्तिहरूलाई च्यारिटीका रूपमा नभई अधिकारको प्रतिबद्धता जनाउनुपर्ने उनले बताइन् ।  उनले भनिन्, ‘महिला मन्त्रालयमा चुनौतीका चाङ छन् । बालविवाह, दाइजो प्रथा, घरेलु हिंसा र छाउपडी जस्ता कुरीति कानुनी रूपमा निषेध भए पनि व्यवहारमा अझै कायम छन् । नीतिलाई कार्यान्वयन गर्नु, मूल्यांकन प्रणाली सक्षम बनाउनु मन्त्रालयका मुख्य समस्या देखिन्छ ।’

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully