साहित्यकार गनेसले कसरी सुधार्लान् पर्यटन ?

हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य छन् । तर मन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा उनले सामना गर्नुपर्ने चुनौतीहरू भने निकै छन् ।

चैत्र १३, २०८२

सुरज कुँवर

How will literary genius Ganesha improve tourism?

What you should know

काठमाडौँ — गनेस पौडेलका नामले परिचित खडकराज पौडेललाई बालेन नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरिएको छ । साहित्य, शिक्षा र सामाजिक अभियानबाट परिचित पोखराका पौडेलको आगमनसँगै पर्यटन तथा उड्डयन क्षेत्रका दीर्घकालीन समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ।पोखरा–१४ मझेरीपाटनका स्थायी बासिन्दा पौडेल एक लेखक, शिक्षक र सामाजिक अभियन्ता हुन् ।

अंग्रेजी साहित्यमा स्नातक र पोखरा विश्वविद्यालयबाट एमबिए गरेका उनले १५ वर्षभन्दा बढी शिक्षण अनुभव हासिल गरेका छन् । ‘र्‍यान्डम रिडर्स सोसाइटी’मार्फत पठन संस्कृतिको विकासमा सक्रिय उनले ‘पैताला’ जस्तो प्रयोगवादी कृतिमार्फत साहित्यमा नयाँ धार भित्र्याएका छन् ।

‘विचारले जित्ने, चरित्रले टिक्ने’ भन्ने वैकल्पिक राजनीतिक धारका समर्थक पौडेल ‘अटेरी’ अभियानका प्रवर्तकसमेत हुन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य छन् । तर मन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा उनले सामना गर्नुपर्ने चुनौतीहरू भने निकै छन् ।

हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य छन् । तर मन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा उनले सामना गर्नुपर्ने चुनौतीहरू भने निकै छन् ।नेपालको पर्यटन क्षेत्र, जसलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ, अझै संरचनात्मक समस्या, कमजोर व्यवस्थापन र नीतिगत अस्पष्टताबाट ग्रस्त छ । विशेषतः उड्डयन क्षेत्र अन्तर्राष्ट्रिय स्तरमै प्रश्नको घेरामा छ । सन् २०१३ देखि युरोपियन युनियनले नेपाली वायुसेवालाई आफ्नो आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको अवस्था अझै कायम छ, जसले नेपालको हवाई सुरक्षामाथि अन्तर्राष्ट्रिय अविश्वास झल्काउँछ । 

नेपाल वायुसेवा निगम करिब ५२ अर्ब रुपैयाँ ऋणमा डुबेको छ । व्यवस्थापन कमजोरी, राजनीतिक हस्तक्षेप र स्पष्ट व्यावसायिक योजनाको अभावका कारण निगमले अपेक्षित प्रदर्शन गर्न सकेको छैन । सीमित जहाज, कमजोर बजार रणनीति र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका कारण नेपालले ४२ देशसँग हवाई सम्झौता गरे पनि धेरै गन्तव्यमा उडान विस्तार हुन सकेको छैन ।

पूर्वाधारतर्फ, अर्बौं लगानीमा बनेका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापले व्यवस्थापन थप जटिल बनाएको छ भने गुरुयोजना कार्यान्वयनमा ढिलाइ भइरहेको छ ।

संस्थागत संरचनामा पनि सुधारको खाँचो छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमनकारी र सेवा प्रदायक दुवै भूमिका निर्वाह गरिरहेकाले पारदर्शिता र प्रभावकारितामा प्रश्न उठेको छ ।

पर्यटनसँग सम्बन्धित अन्य क्षेत्रहरू पनि समस्याग्रस्त छन्—हयात होटलको शेयर विवाद, पशुपति क्षेत्रको सम्पत्ति अतिक्रमण, लुम्बिनी विकास योजनाको ढिलाइ, जनकपुर विकास समितिको निष्क्रियता लगायतका विषयले समग्र व्यवस्थापन कमजोर देखिन्छ ।

हिमाल पर्यटनमा बढ्दो फोहोर, अव्यवस्थित व्यवस्थापन र सम्पर्क अधिकृत नियुक्तिमा विवादले नेपालको अन्तर्राष्ट्रिय छविमा असर पर्ने जोखिम बढाएको छ । साथै, आन्तरिक उडानमा विदेशी यात्रुलाई डलरमा भाडा लिने प्रचलन र कोभिड–१९ कालका टिकट मिलेमतो सम्बन्धी प्रतिवेदन कार्यान्वयन नहुनुले नीतिगत अस्पष्टता झल्काउँछ ।

यस्तो अवस्थामा गनेस पौडेलको नियुक्ति अवसर र चुनौती दुवैका रूपमा आएको छ । उनले आफ्नो वैकल्पिक सोच र सुधारमुखी दृष्टिकोणलाई व्यवहारमा उतार्दै संरचनात्मक सुधार, पारदर्शिता र अन्तर्राष्ट्रिय विश्वसनीयता निर्माण गर्न सके मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने अपेक्षा गरिएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully