खोला किनारमा संघर्ष गर्दै संसद् यात्रा तय गरेकी सीता बादी

‘अब संघीय संसद्‍मा पछि पारिएका वर्गको पनि आवाज सुनिनेछ,’ बादी समुदायका अगुवा हिक्मत बादीले भने, ‘यो हाम्रा लागि गर्वको कुरा हो । बादी समुदायको एक महिला सीता बादीलाई रास्वपाले ठूलो अवसर दिएको छ । यसलाई अवसरका रूपमा सदुपयोग गर्नुपर्नेछ ।’

चैत्र ७, २०८२

तृप्ति शाही

Sita Badi, who made her way to Parliament by struggling on the banks of a river

What you should know

वीरेन्द्रनगर — नेपालको पश्चिम क्षेत्र कर्णालीमा बस्ने बादी समुदायमा जन्मिएकी एक संघर्षशील छोरीको नाम हो– सीता बादी । दलित समुदायमा पनि ज्यादै पछि पारिएको समुदायमा गनिन्छ– बादी समुदाय । प्रायः नदी किनार, खुला जमिन वा अस्थायी बस्तीमा बसोबास गर्ने यो समुदायका नागरिकसँग जग्गाको स्वामित्व छैन । उनीहरूले सामाजिक, आर्थिक लगायतका थुप्रै समस्याको सामना गर्दै आएका छन् ।

यही समुदायकी एक छोरी भने अब देशको संसद् भवनमा देखिने छिन् । दलित महिला कलस्टरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रणालीमार्फत उनलाई प्रतिनिधिसभा सदस्य बनाएर संसद्‍मा पुर्‍याएको हो ।

२०५२ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ को झुप्राखोलामा जन्मिएकी उनले बाल्यकालमा भागेको गरिबी, छुवाछूत, बहिष्कार र अपमानमा बिताएको तीतो समय कहिल्यै बिर्सन सक्दिनन् । गरिबीलाई नियति र अपमानलाई सामान्य व्यवहार मानेर आफू हुर्किएको अनुभव उनले सुनाइन् ।

पढाइ : अधिकार होइन, संघर्ष

बादी समुदायमै जन्मिएका कारण सीताले पढाइलाई अधिकारका रूपमा पाउन सकिनन् । पढाइ आफ्नो र बादी समुदायका बालबालिकाका लागि पाएको सुविधा नभएर संघर्ष भएको बताउने उनी भन्छिन्, ‘पेट र पढाइमा एउटा छान्नुपर्ने अवस्थाबाट हुर्केकी हुँ म । १२ वर्षकी हुँदा एउटा संस्थाले पढ्ने अवसर दिएपछि मात्र आज यहाँसम्म पुग्ने अवसर पाएकी छु ।’

पढ्न र आत्मसम्मानसहित बाँच्ने आधार पाएपछि उनले पढाइलाई स्नातकोत्तरसम्म पुर्‍याइन् । सामाजिक विषयमा स्नातक पूरा गरेकी उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । कान्तिपुरसँग कुरा गर्दै उनले भनिन्, ‘मैले राजनीति पढ्नु संयोग होइन । म जान्न चाहन्थेँ, किन हाम्रो समुदाय सधैं पछाडि पारिन्छ ? किन संविधानमा लेखिएको समानता हाम्रो जीवनमा व्यवहारमा देखिँदैन ?’

भेरी नदीछेउको झुप्रा खोलामा जन्मी/हुर्किएर संसद्‍मा पुगेकी सीतालाई देखेर बादी समुदाय मात्र होइन, समग्र महिला, दलित समुदायसँगै सीमान्तकृत समुदाय पनि खुसी बनेको छ । अब उनले आफ्ना मुद्दा संसद्‍मा उठाउने उनीहरू बताउँछन् ।

बादी समुदायका अगुवा हिक्मत बादी कर्णालीको बादी समुदायबाट सांसद बन्ने सीता पहिलो व्यक्ति भएको बताउँछन् । ‘अब संघीय संसद्‍मा पछि पारिएका वर्गको आवाज सुनिनेछ,’ उनले भने, ‘यो हाम्रा लागि गर्वको कुरा हो । बादी समुदायको एक महिलालाई रास्वपाले ठूलो अवसर दिएको छ । यसलाई अवसरका रूपमा सदुपयोग गर्नुपर्नेछ ।’

सीतालाई बाल्यकालबाटै चिन्ने हिक्मत उनलाई संघर्षको खानी भएको बताउँछन् । दुःखलाई अवसर बनाएर अघि बढेकी सीताले अब पछि पारिएका वर्गको कुरा बोल्नुपर्नेमा उनले जोड दिए । बादी समुदायको ठूलो समस्याका रूपमा रहेको जमिन आफ्नो नाममा नहुनु, शिक्षामा पछि पारिनु लगायतका समस्याका बारेमा सीताले संसद्‍मा आवाज उठाएर सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनी बताउँछन् । मिहिनेत र संघर्षकै कारण सीता यहाँसम्म पुगेको सुर्खेतको जनसेवा मावि घुस्राका तत्कालीन प्रधानाध्यापक गेहेन्द्रप्रसाद दहाल बताउँछन् । सीताले यसै विद्यालयमा ४ देखि ९ कक्षासम्म पढेकी थिइन् ।

सीताको परिवार, गाउँ अझै झुप्रा खोलामा बस्छ । बालुवा उत्खनन गरेर जीविकोपार्जन गर्दै आएको छ । उनी प्रतिनिधिसभाको सदस्य बन्नु सामान्य कुरा थिएन । धेरै अपमान र अविश्वास झेल्दै यहाँसम्म पुगेको उनी बताउँछिन् । सामाजिक कार्य गर्दै गर्दा रास्वपाको राजनीतिमा जोडिएकी उनले ‘तिमी कहाँ, संसद कहाँ ?’ भन्ने प्रश्न धेरै पटक सुनेको बताइन् । 

‘जातीय व्यवस्थाले समाजको संरचना बनाएको देशमा पुँजी थोरैको हातमा केन्द्रित छ, न्याय पहुँचवालाको पक्षमा झुक्छ, राजनीति शक्तिशालीकै वरिपरि घुम्छ भन्ने मान्यता थियो,’ उनले भनीन्, ‘दलित समुदायभित्र पनि पछाडि पारिएको एक महिला, त्यसमाथि बादी समुदायकी छोरी, आज प्रतिनिधिसभा सदस्य बन्नु मेरा लागि ठूलो कुरा हो । अवसर र चुनौती दुवै हो ।’ 

लामो समय सामाजिक कार्यको अनुभव लिएर सीता संसद्‍मा गएकी छन् । अहिले पनि दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकालाई शिक्षा र महिला दिदीबहिनीलाई व्यावसायिक तालिम दिइरहेकी छन् । चुनिखेल क्षेत्रमा उनले हस्तकलाका सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसाय सुरु गरेकी छन् । यस उद्यमले उनलाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै अन्य महिलाका लागि पनि रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्‍यो । साना उद्यममार्फत महिलालाई आत्मनिर्भर बनाउने उनको प्रयास समाजका लागि उदाहरणीय बनेको छ ।

काम गर्दै गर्दा समस्या र दुःख देखेपछि निर्णय गर्ने ठाउँमा पुग्न नसकेकामा उनलाई पछुतो भयो । त्यसैले परिवर्तन बाहिरबाट नभएर राजनीतिबाटै सम्भव भएको सोचेर पार्टीमा जोडिएको उनले बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वास गरेर आफूलाई प्रतिनिधिसभा सदस्य बनाउनु व्यक्तिगत सफलता मात्र नभएर यो सम्पूर्ण महिला, दलित, बादी समुदायको पहिचान र उपस्थिति भएको उनले सुनाइन् ।

‘नेपालको संविधानमा सबै बराबरी लेखिएको छ तर व्यवहारमा यो देशका सबै नागरिक बराबर छैनन् । कसैले थरकै कारण सम्मान पाउँछन् भने कसैले जन्मकै कारण अपमान,’ उनले भनिन्, ‘हामीले शिक्षा, स्वास्थ्य, रोजगार चाहन्थ्यौं । हामी पनि सम्मानपूर्वक बाँच्न चाहन्थ्यौं । तर अहिले पनि अवसर सधैं हामीभन्दा माथिका लागि सुरक्षित रह्यो । त्यसैले अब त अघि आएर बोल्नुपर्छ भन्दै म राजनीतिमा जोडिएकी हुँ । रास्वपाले त्यो अवसर दिएको हो ।’

संसद्‍मा पुगेपछि आफ्नो समुदायका सबै समस्या एकैचोटि समाधान हुन्छन् भन्ने भ्रममा आफू नरहेको उनले सुनाइन् । तर, महिला, दलित, बादी समुदायको आवाज त्यही समुदायबाट गएको प्रतिनिधिले सत्य र साहसका साथ राख्न सक्छ भन्ने विश्वास बोकेर आफू संसद्‍मा प्रस्तुत हुने योजना बनाएको उनले सुनाइन् । ‘नीति बन्दा हामी अदृश्य हुन्छौं । कानुन लेखिँदा हाम्रा समस्या छुटिरहेका छन्,’ उनले भनिन्, ‘अब बजेट बनाउँदा हाम्रा आधारभूत आवश्यकता प्राथमिकतामा पार्न र अहिलेसम्मको मौनतालाई तोड्नका लागि नै म संसद्‍मा जान लागेकी हुँ ।’

बादी समुदायमा जन्मिएर आफूहरूले भोगेका पीडा– शिक्षा, स्वास्थ्य, रोजगार, जातीय व्यवस्थामा आधारित शासन, सामाजिक अपमान र बहिष्कार लगायतका अपमान अब कुनै पनि समुदायका छोराछोरीले भोग्न नपरोस् भन्ने समाज निर्माण गर्नु आफ्नो राजनीतिक उद्देश्य भएको उनले बताइन् । संविधान एकातिर, समाज अर्कोतिर रहेको हाम्रो देशमा मतको अधिकार त छ, तर व्यवहारमा सम्मान नभएको उनले अनुभव गरेकी छन् । यही असमानता, यही अन्याय र यही पुरानो व्यवस्थालाई चिर्दै यसलाई राजनीतिक निकास दिनका लागि संसद्‍मा आफ्नो पनि प्रतिनिधित्व भएको महसुस गरिरहेको उनी बताउँछिन् ।

अब संसद्‍मा भुइँतहको साँचो आवाज पुग्नुपर्छ, यो यात्रा मेरो मात्र होइन, हाम्रो साझा यात्रा बनाऔं भन्ने उद्देश्य लिएर अघि बढेकी सीता भन्छिन्, ‘म केवल बादी समुदायको प्रतिनिधि भएर सीमित हुने छैन, म ती सबैको आवाज बन्न चाहन्छु– जसका मुद्दा अझै किनारमा छन् ।’ आफूले दयाको नभएर अधिकारको राजनीति गर्न चाहेको उनले बताइन् । उनले भनिन्, ‘म दया माग्दिनँ । हाम्रो साझा भविष्यका लागि साथ, विश्वास र अवसर माग्छु । यसमा सबैले साथ दिन आवश्यक छ ।’

समानुपातिक सासंद-२०८२

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully