पूर्वशिक्षामन्त्री शिशिर खनालको संसद्मा ‘सेकेण्ड इनिङ्स’

४७ वर्षीय शिशिर खनालको पुर्ख्यौली थलो तनहुँ हो तर केही वर्षदेखि काठमाडौंको टोखामा बसोबास गर्दै आएका छन् ।

फाल्गुन २६, २०८२

सुदीप कैनी

Former Education Minister Shishir Khanal's 'second innings' in Parliament

What you should know

काठमाडौँ — रास्वपाका उम्मेदवार तथा पूर्वशिक्षामन्त्री शिशिर खनाल काठमाडौं–६ बाट दाेस्राेपटक विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार खनालले २७ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ (सबुज)ले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अमन मास्के ४ हजार ३७३ मतसहित तेस्रो भए । यहाँ ४३ हजार ८६८ मत खसेको थियो । २०७९ मा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

४७ वर्षीय खनालको पुर्ख्यौली थलो तनहुँ हो तर केही वर्षदेखि काठमाडौंको टोखामा बसोबास गर्दै आएका छन् । सार्वजनिक शिक्षा सुधारका अभियन्ता खनाल टिच फर नेपाल (२०१२–२०१९)का संस्थापक पनि हुन् । रास्वपाका केन्द्रीय सचिवालय सदस्य खनाल ३ माघ २०७९ मा शिक्षामन्त्री समेत भइसकेका छन् । त्यतिबेला उनी १९ दिनमात्रै शिक्षामन्त्री भएका थिए । राजनीतिमा लाग्नुअघि उनी शिक्षा र नीति निर्माण क्षेत्रमा सक्रिय थिए । 

उनले अमेरिकाको युनिभर्सिटी अफ वीसकोन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र ब्रिजपोर्ट विश्वविद्यालयबाट अन्तराष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् । राजनीतिमा लाग्नुअघि उनी सर्वोदय श्रमदान अभियान (२००५–२०१२)मा सक्रिय थिए ।

यस्तै सन् २०२३ देखि २०२५ सम्म तुलसीपुर उपमहानगरपालिकाको शिक्षा सल्लाहकारका रुपमा समेत काम गरेका छन् । सर्वोदय श्रमदान अभियानका क्रममा बालबालिकाहरूको गुणस्तरीय शिक्षामा पहुँचको कमी देखेपछि सन् २०१२ मा ‘टिच फर नेपाल’ स्थापना गरेका थिए । यो संस्थाले नेपालका सामुदायिक विद्यालयमा भएको गणित र अंग्रेजी विषय शिक्षकको अभावलाई परिपूर्ति गर्न हरेक शैक्षिक सत्रमा युवा स्वयंसेवकहरू परिचालन गर्दै आएको छ ।

खनालले सिद्धार्थ वनस्थली विद्यालयबाट विद्यालय तहको अध्ययन पूरा गरेका हुन् । यसपछि त्रिचन्द्र क्याम्पसबाट बीएससी गरेका थिए ।

अमेरिकाको ब्रिजपोर्ट विश्वविद्यालयमा उनले अन्तर्राष्ट्रिय कलेज सिनेटरको रूपमा विद्यार्थी राजनीति र कनेक्टिकट राज्य सभा (प्रदेश संसद्)का सिनेटरसँग काम गरी अमेरिकी संसदीय अभ्यासको बारेमा सिक्दै सिनेटरलाई नीति र निर्वाचन क्षेत्रका मुद्दामा सहयोग गरेको उनको व्यक्तिगत वेवसाइटमा उल्लेख छ ।

एक स्थानबाट अर्को स्थानमा सामान पुर्याइदिने सेवा प्रदायक कम्पनी ‘पिक एण्ड ड्रप’को सह–संस्थापक रहँदै गर्दा खनाल २०७९ संसदीय निर्वाचनमा होमिएका थिए । त्यतिबेला स्थानीय तहको निर्वाचनमा कांग्रेसको घोषणापत्र निर्माण कार्यदलको सदस्यका रुपमा समेत काम गरेका थिए । खनालले संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्ने घोषणा गरेका थिए, पछि रास्वपाबाट उम्मेदवार बने । 

शिक्षाविद् तथा काठमाडौं विश्वविद्यलायका पूर्वडिन मनप्रसाद वाग्लेले खनालसँग १५ वर्षअघि गरेको सहकार्यको स्मरण गरे । ‘कार्यालयमै भेट भएको थियो । टिच फर नेपालमा सँगै काम गरौं भन्नुभयो । शिशिर त्यतिबेला राजनीतिकभन्दा पनि प्राज्ञिक लिडर थिए । धेरैपछि मात्र रास्वपामा जोडिनु भयो । प्रभुद्धहरूको समूह बनाएर हामीले टिचर फर नेपालमा काम गरेका थियौं ।’ खनालले सधैं सार्वजनिक शिक्षा सुधारमा जोड दिने गरेको वाग्ले सुनाए । ‘शिशिर अनुभव र आडिया भएका प्राज्ञिक मान्छे हुन् । रास्वपाले उनको काम देखेरै टिपेको जस्तो लाग्छ,’ उनले भने ।

२०७९ सालमा तत्कालिन सत्ताधारी गठबन्धनका भिमसेनदास प्रधान र प्रमुख प्रतिपक्षी दल एमालेका सर्वेन्द्र खनालसँग चुनावी प्रतिस्पर्धा गरेका खनाल ५ हजार २ सय ९३ मतान्तरमा विजयी भएका थिए । उनले १४ हजार २ सय ४ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत ल्याएका थिए । कांग्रेसका प्रधानले ८ हजार ८ सय ५ मत प्राप्त गरेका थिए ।

दोस्रो जितबारे खनालले परिवर्तन र पुस्तान्तरणको पक्षमा मतदाताले मत दिएको बताए । आमजनताले रास्वपामार्फत सुशासन र समृद्धिको बाटो तय गर्न खोजेको उनको भनाइ छ । ‘मतदाताले देखाएको अभूतपूर्व जनलहरलाई न्याय हुने गरी रास्वपा सरकारले सय दिनमै परिणाम दिने गरी काम गर्छ,’ उनले भने ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully