कबिलासी नगरपालिका -१० सलेमपुरका रविन महतोले सर्लाही-२ बाट पहिलाे पटक जित्दै संसदीय यात्रा प्रारम्भ गरेका छन् ।
सर्लाही — प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन महतो निर्वाचित भएका छन् । उनले मधेसका पुराना नेता राजेन्द्र महतो र महिन्द्र राय यादवलाई हराउँदै संसदीय यात्रा तय गरेका हुन् ।
रविन ४२ हजार ५ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका महिन्द्र राय यादवले ८ हजार ५ सय २३ मत प्राप्त गरे ।उनले आफ्नो प्रतिस्पर्धीसँग ३३ हजार ९ सय ८९ मतको फराकिलो अन्तर बनाउँदै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेको क्षेत्र २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कबिलासी नगरपालिका -१० सलेमपुरका रविनले सर्लाही-२ बाट पहिलाे पटक जित्दै संसदीय यात्रा प्रारम्भ गरेका छन् । ३८ वर्षीय महतोले परिवर्तनकालागि आफू उम्मेदवार बनेर जित निकालेको बताए । उनले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता रहेकाले यसमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जेनजी आन्दोलनपछि रास्वपा प्रवेश गरेका महतो यस क्षेत्रकालागि नयाँ अनुहार भए पनि उनले निवर्तमान सांसद तथा पूर्व खानेपानी मन्त्री समेत रहेका नेकपाका यादव तथा पूर्व सांसद एवं पूर्व स्वास्थ्य मन्त्री समेत रहेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पराजित गर्दै जित निकाल्न सफल भएका हुन् । निर्वाचित महतोले १२ कक्षासम्म अध्ययन गरेका छन् ।
