विक्रम तिमिल्सिना : अब साहित्यकार सांसद

विक्रम तिमिल्सिना राजनीतिलाई शक्ति संचयको साधनको रुपमा होइन, नागरिक र भुँइमान्छेप्रतिको जिम्मेवारी वहन गर्ने माध्यम बनाउनु पर्नेमा विश्वास राख्छन् ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

Vikram Timilsina: Now a writer MP

What you should know

नुवाकोट — प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाबाट नुवाकोट-१ मा उम्मेदवारी दिएका डाक्टर विक्रम तिमिल्सिनाले पहिलो प्रयासमै जित हासिल गरेका छन् । राजनीतिमा लामो यात्रा गरिसकेका कांग्रेसका  डा. प्रकाशशरण महत, नेकपाका हितबहादुर तामाङ, एमालेका बद्री मैनालीलगायतलाई पछि पार्दै उनले संसद्को यात्रा सुरु गरेका हुन् ।

तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. महतलाई ४ हजार १२ मतान्तरले पराजित गरि संसद् प्रवेशको बाटो खोलेका हुन् । तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी महतले १८ हजार ५९७ र तामाङले १३ हजार ३७७ मत प्राप्त गरेका थिए ।

२०३९ सालमा नुवाकोटको साविक चौघडा-९ तथा हालको पञ्चकन्या गाउँपालिका-१ मा जन्मेका तिमिल्सिना सामान्य परिवारका हुन् । उनको परिवारका कुनै पनि सदस्य राजनीतिसँग जोडिएका छैनन् । तर, उनी भने विद्यालय तहदेखि नै राजनीतिमा चासो राख्थे । बाल्यकालको यही राजनीतिक चेतले उनलाई संसद्सम्म पुर्याएको छ ।

उनले विद्यालय तहको शिक्षा गाउँबाटै र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाज शास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यसपछि अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीति तथा अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।

विद्यावारिधि गरेको करिब साढे ३ वर्षपछि उनी नेपाल फर्किए । २०८० उनी रास्वपासँग आबद्ध भए र रास्वपाको केन्द्रीय अन्तर्राष्ट्रिय विभागको सदस्यका रुपमा पार्टीमा जोडिएका थिए । यो नै उनको राजनीतिको पहिलो पाइला थियो ।  

तिमिल्सिनाले आफ्नो चुनावी प्रचारमा नाराभन्दा पनि नीति निर्माण र जवाफदेहितालाई जोड दिएका थिए । राजनीतिलाई शक्ति संचयको साधनको रुपमा होइन, नागरिक र भुँइमान्छेप्रतिको जिम्मेवारी वहन गर्ने माध्यम बनाउनु पर्नेमा विश्वास राख्छन् । उनले भने, 'चुनाव प्रचारमा गरेका प्रतिबद्धता मेरो मार्गदर्शन हुनेछ ।'  उनले आफ्नो जित र जिम्मेवारीलाई दैनिक परीक्षाका रुपमा लिएको समेत बताए । 

उनीसँग रेडियो पत्रकारिताका साथै अनुशन्धान, अध्यापन र नीति बहसको लामो अनुभव छ । यो अनुभवलाई कानुन निर्माण र संसदिय प्रक्रियामा सदुपयोग गर्ने उनले बताए । उनी रेडियो सगरमाथामा २०६० देखि २०७० सम्म आबद्ध थिए । साहित्यिक गतिविधिमा पनि उनी सक्रिय छन् । अलिअलि चोट देउ...गजल संग्रहसमेत प्रकाशन गरेका छन् । यसबाहेक धेरै फुटकर कविता प्रकाशन भएको तिमिल्सिनाले बताए । 

विद्यालय तहदेखि नै राजनीतिक चेतना विकास गरेका तिमल्सिनाले २०६२/ ०६३ को जनआन्दोलनमा सचेत नागरिकका रुपमा सक्रिय भूमिका निभाएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

कान्तिपुर

Link copied successfully