डा. कार्की राजनीतिमा प्रवेश गर्नुअघि विभिन्न शैक्षिक तथा संस्थागत भूमिकामा सक्रिय थिए ।
संखुवासभा — संखुवासभा खाँदबारी–९, तुम्लिङटार निवासी ६२ वर्षीय डा.अर्जुन कार्की लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । विकासमुखी, दूरदर्शी नेतृत्व र व्यवहारिक कार्यशैलीका कारण लोकप्रिय नेता कार्कीले जिल्लाको सम्भावना, आवश्यकता र चुनौतीलाई नजिकबाट नियालेका छन् ।
डा. कार्की राजनीतिमा प्रवेश गर्नुअघि विभिन्न शैक्षिक तथा संस्थागत भूमिकामा सक्रिय थिए । उनी हिमालयन योगमाया आयुर्वेदिक विश्वविद्यालयका अध्यक्षसमेत रहेका थिए । उक्त पदबाट राजीनामा दिएपछि उनी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्कीको लामो अनुभव रहेको उनी निकट नेताहरु बताउँछन् ।
कूटनीतिक क्षेत्रमा समेत डा. कार्कीले महत्वपूर्ण भूमिका खेलेका छन् । उनी नेपाल सरकारका तर्फबाट संयुक्त राज्य अमेरिकाका लागि दुई पटक राजदूत भइसकेका छन् । अन्तर्राष्ट्रिय कूटनीति, नीति निर्माण र विकासका विषयमा उनले अनुभव हासिल गरेका छन् । यही अनुभवलाई अब जिल्लाको विकासमा प्रयोग गर्ने अपेक्षा मतदाताले गरेका छन् ।
लामो समयदेखि एमालेमा सक्रिय डा. कार्कीले यस पटकको चुनावमा १५ हजार ६ सय ३६ मतसहित विजय भएका हुन् । सोमबार मध्यरातमा सम्पन्न मतगणनामा उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङ्मा शेर्पालाई ६ सय ३६ मतान्तरले पराजित गरेका हुन् । शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको राजकुमार कोइरालाका अनुसार कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले १३ हजार २ सय ७१ मत प्राप्त गरे भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा राईले ९ हजार ८ सय ५७ मत प्राप्त गरेकी छन् ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि डा. कार्कीले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरे । उनले संखुवासभाको समग्र विकासका लागि निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । उनले भने, 'अब मेरो सम्पूर्ण ध्यान संखुवासभाको समग्र विकासतर्फ केन्द्रित हुनेछ ।'
डा. कार्कीले जिल्लाको विकासका लागि दीर्घकालीन योजना र स्पष्ट मार्गचित्र आवश्यक रहेको बताउँदै पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पर्यटन विकासलाई आफ्नो प्राथमिकतामा राख्ने बताए । विशेषगरी जिल्लामा रहेका प्राकृतिक स्रोत, पर्यटकीय सम्भावना र कृषि उत्पादनलाई उपयोग गर्दै आर्थिक समृद्धिको आधार निर्माण गर्ने उनको धारणा छ ।
एमालेका स्थानीय नेताहरूका अनुसार डा. कार्कीलाई उम्मेदवार बनाउनु संखुवासभाको विकासलाई नयाँ गति दिने महत्वपूर्ण निर्णय थियो । विकासको स्पष्ट दृष्टिकोण, प्रशासनिक अनुभव र कूटनीतिक क्षमता भएका कारण उनले जिल्लामा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास पार्टी नेतृत्वले गरेका छन् ।
संखुवासभा प्राकृतिक स्रोत, पर्यटन र कृषि सम्भावनाले सम्पन्न जिल्ला मानिन्छ । तर पर्याप्त पूर्वाधार, लगानी र योजना अभावमा ती सम्भावनाहरू पूर्ण रूपमा उपयोग हुन सकेका छैनन् । यही अवस्थालाई परिवर्तन गर्दै जिल्लालाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्यका साथ आफू अघि बढ्ने डा. कार्कीले बताएका छन् ।
स्थानीयवासीहरू पनि अनुभवी नेतृत्वका रूपमा चिनिएका कार्कीबाट जिल्लामा ठोस विकासको अपेक्षा गरिरहेका छन् । राजनीतिक अनुभव, कूटनीतिक पृष्ठभूमि र विकासप्रतिको प्रतिबद्धताले संखुवासभाको समग्र विकासमा नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरिएको छ ।
