तनहुँ–२ बाट निर्वाचित श्रीराम न्यौपाने को हुन् ?

२०७९ फागुन १४ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका तनहुँ-२ बाट निर्वाचित न्याैपानेले इन्जिनियरिङ शिक्षामा १४ वर्ष अध्यापन र जलविद्युत तथा सुरुङ क्षेत्रमा १४ वर्ष काम गरेका छन् ।

फाल्गुन २८, २०८२

सम्झना रसाइली

Who is Shriram Neupane, elected from Tanahun-2?

What you should know

तनहुँ — तनहुँ–२ मा रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका इन्जिनियर श्रीराम न्यौपाने २०२६ असार २१ तनहुँको भानु नगरपालिका–५ सेपाबगैंचा जन्मिएका हुन् । उनी हाल अस्थायी रुपमा काठमाडौंमा बस्छन् । उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।  

उनी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । २०४४ मा नेपाल विद्यार्थी संघबाट प्रतिनिधित्व गर्दै स्ववियुमा प्रतिनिधित्व गरेका थिए । यससँगै नेविसंघका सहसचिव एक कार्यकाल र अध्यक्ष एक कार्यकाल समालेका थिए । नेपाली कांग्रेसमा आवद्ध रही २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को जनआन्दोलमा पनि उनको सक्रिय भूमिका रहेको थियो । 

न्यौपाने २०५१ सालमा नेपाल सरकार, तनहुँ जिल्ला खानेपानी कार्यालयको निमित्त कार्यालय प्रमुखको रुपमा ९ महिना सेवा पनि गरेका थिए । त्यसपछि सरकारी सेवाबाट राजीनामा दिई आफ्नै लगानीमा निजी इन्जिनियरिङ कलेज (एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट) स्थापना गरे । उनी अध्ययनपन तथा व्यवस्थापनमा पनि रहे ।

न्यौपाने २०७९ फागुन १४ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । तनहुँ–१ को उपनिर्वाचनमा उनी निर्वाचन परिचालन समितिको संयोजक थिए । उनले इन्जिनियरिङ शिक्षामा १४ वर्ष अध्यापन र जलविद्युत तथा सुरुङ क्षेत्रमा १४ वर्ष काम गरेका छन् । उनी २०७८ सालमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रबल जनसेवश्री पदकद्वारा सम्मानित भएका थिए । 

२०८२ को प्रतिनिधिसभा सदस्यमा न्यौपाने रास्वपबाट तनहुँ–२ बाट उम्मेदवारी दिएर निर्वाचित भएका छन् । उनले ३२ हजार ६ सय ८७ मत प्राप्त गरे भने उनलाई पच्छाउँदै आएका नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले १४ हजार १ सय ३५ मत प्राप्त गरे । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully