सामाजिक तथा शैक्षिक अभियन्ताका रूपमा परिचित बुढाथोकी यसअघि रामेछाप–काठमाडौं सृजनशील समाज नेपालका संस्थापक अध्यक्ष तथा संयोजक पनि रहेका थिए ।
What you should know
रामेछाप — प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी विजयी भए । बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेललाई ७ हजार १९९ मतान्तरले पराजित गरेका हुन्। ढुङ्गेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गरेका छन्। यसै गरी नेपाल कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २१० मत पाएका छन्।
को हुन् बुढाथोकी
डा. बुढाथोकी रामेछापको मन्थली नगरपालिका–१२ गेलुमा जन्मिएका हुन् । उनले विभिन्न विषयमा मास्टर डिग्री हासिल गर्नुका साथै अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका छन् । बुढाथोकीसँग बैंक तथा वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढीको कार्य अनुभव छ । वित्तीय क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि उनीसँग अनुसन्धानमूलक कार्यमा समेत काम गरेको अनुभव छ ।
विगत १० वर्षदेखि उनले ‘रामेछाप विकास बहस’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उक्त कार्यक्रममार्फत जिल्लाको समृद्धिका लागि उद्यमशीलता विकास, उत्पादन वृद्धि, बजारीकरण तथा शिक्षालाई सीपसँग जोड्ने कुरालाई जोड दिइएको थियो ।
रामेछापका धेरै स्थानीयले ‘रामेछाप विकास बहस’लाई जिल्लाको विकासका विषयमा बहस सुरु गराउने महत्त्वपूर्ण पहलका रूपमा लिने गरेका छन् । सामाजिक तथा शैक्षिक अभियन्ताका रूपमा परिचित बुढाथोकी यसअघि रामेछाप–काठमाडौं सृजनशील समाज नेपालका संस्थापक अध्यक्ष तथा संयोजक पनि रहेका थिए ।
सो संस्थामार्फत उनले सामाजिक तथा मानवीय सेवामा योगदान दिएका छन् ।
रास्वपा रामेछापका उपसभापित मोहन कार्कीका अनुसार विसं २०३८ भदौ १० गते जन्मिएका बुढाथोकी २०८२ माघ ३ गते मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य बनेका हुन् ।
