एमालेको गढ मानिने कास्की-२ मा सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रास्वपाका उत्तमप्रसाद पौडेलले छलाङ मारेका छन् ।
What you should know
पोखरा — दशकौंदेखि एमालेको अभेद्य किल्लाको रूपमा चिनिँदै आएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक इतिहास नै फेरियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्वसञ्चारकर्मी उत्तमप्रसाद पौडेलले आफ्ना निकटतम प्रतिस्पर्धीलाई मात्र हराएनन्, उनले ल्याएको मतभारले पुराना राजनीतिक शक्तिहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य पारिदिएको छ ।
कुल खसेको ५२ हजार ५ सय १९ मतमध्ये पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरे, जुन कुल सदर मतको ६० प्रतिशत हिस्सा हो । उनका निकटतम प्रतिस्पर्धी एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत प्राप्त गरे । पौडेलले आचार्यभन्दा चार गुणा बढी मत ल्याएर संसद्को यात्रा तय गरेका हुन् ।
नेपालको निर्वाचन इतिहासमा विरलै देखिने यस्तो एकपक्षीय जितले कास्कीमा रास्वपाको आँधी आएको स्पष्ट सन्देश दियो । ८४ हजार १ सय ३४ दर्ता मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ५ सय १९ मत खस्यो । खसेका मतमध्ये १ हजार ८ सय ४४ बदर हुँदा बाँकी वैध मतमध्ये पौडेलको जित एकपक्षीय रह्यो । १२ दल र ५ स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ६ हजार ५ सय मत, राप्रपाका हेमजंग गुरूङले १ हजार ६ सय ४३ मत, नेकपाका हेमबहादुर थापाले १ हजार २ सय ७६ मत र उज्यालो नेपाल पार्टीका कुशल गुरूङले १ हजार २ सय १ मत प्राप्त गरे । सबै स्थापित दलका उम्मेदवार मिलाएको भन्दा पनि बढी पौडेल एक्लैले मत ल्याए । एमालेको गढ मानिने यस क्षेत्रमा पौडेलको पक्षमा उर्लिएको यो जनलहरले पुराना दलहरूको कार्यशैलीप्रति नागरिकको वितृष्णा स्पष्ट झल्काएको छ ।
कास्कीको रूपा गाउँपालिकास्थित देउरालीका मूल बासिन्दा ४४ वर्षीय उत्तमप्रसाद पौडेलको राजनीतिमा प्रवेशको कथा पत्रकारिताको जगबाट उम्रेको हो । माछापुच्छ्रे एफएम, पोखरा एफएम र सुनौलो एफएममा काम गरेपछि उनी टेलिभिजन पत्रकारितामा जोडिए । ‘न्युज २४’ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासँग’को गण्डकी ब्युरो प्रमुखका रूपमा उनले समाजका विसंगति, भ्रष्टाचार र बेथितिलाई क्यामेराको आँखाबाट नजिकबाट देखे । रवि लामिछाने टेलिभिजन छोडेर राजनीतिमा प्रवेश गरेपछि पौडेलले पनि उनैलाई पछ्याउँदै रास्वपाको अभियानमा साथ दिए ।
लामिछानेमाथि लागेका विभिन्न मुद्दाविरुद्ध पौडेलले सार्वजनिक रूपमै दरिलो बचाउ गर्दै आएका थिए । ‘पत्रकारितामार्फत मैले बेथितिका विरुद्ध आवाज उठाएको थिएँ, अब संसद् पुगेर ती समस्या समाधानका लागि कानुन निर्माणमा लाग्नेछु,’ जितपछि उनले भने ।
उनका लागि चुनावी यात्रा सुरुमा सहज थिएन । रास्वपा सभापति रवि लामिछानेका विश्वासपात्र मानिने उनले टिकट पाएपछि पार्टीभित्रै असन्तुष्टिको भुमरी चलेको थियो । पोखरा महानगरका ११ वटा वडाका सभापतिहरूले उनको उम्मेदवारीप्रति असहमति जनाउँदै पार्टीमा ज्ञापनपत्र नै बुझाएका थिए । १२ कक्षा उत्तीर्ण गरेका पौडेललाई ‘पहुँचको आधारमा टिकट पाएको’ आरोप लागिरहँदा उनले त्यसको जवाफ चुनावी मैदानबाटै दिए । ‘नागरिकले जेन–जी आन्दोलनपछिको परिवर्तन खोजेका रहेछन् भन्ने यो नतिजाले देखाएको छ,’ उनले जितपछि प्रतिक्रिया दिँदै भने ।
उनका लागि राजनीति नितान्त नौलो विषय थिएन । उनका बुबा चिरञ्जीवीप्रसाद उपाध्याय कास्कीको साबिक रूपा गाउँ पञ्चायतका अध्यक्ष हुनुका साथै सामाजिक र शैक्षिक विकासमा सक्रिय व्यक्तित्व थिए । उनकी आमाले २०५१ सालको मध्यावधि निर्वाचनमा राष्ट्रिय जनता परिषद्बाट यही कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएकी थिइन् । घरकै राजनीतिक र सामाजिक परिवेशका कारण सानैदेखि उनी सार्वजनिक सेवाप्रति जागरुक भएका थिए ।
उनको जित जेन–जी आन्दोलनपछि बदलिएको नेपाली राजनीतिक परिदृश्यको प्रतिबिम्ब हो । परम्परागत दलका अनुहारहरूलाई नकारेर युवा मतदाताले नयाँ अनुहार रोज्ने प्रवृत्ति यस निर्वाचनमा कास्कीमा स्पष्टसँग देखियो । उनले सुशासन, विधिको शासन र भ्रष्टाचारमुक्त समाज निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनका लागि राज्यले विशेष लगानी गर्नुपर्ने उनको चुनावी एजेन्डा थियो ।
विजयी भएलगत्तै पौडेलले आफ्नो जितलाई लोकतान्त्रिक पद्धतिको सुन्दर पक्षका रूपमा व्याख्या गरे । उनले भने, ‘यो जटिल परिस्थितिमा जेन-जी आन्दोलन र यो निर्वाचनले दिएको म्यान्डेट अनुसार काम गर्नेछु । आम नेपाली नागरिक र नेपालको पक्षमा अब आउने ५ वर्ष खर्चिने मेरो प्रतिबद्धता छ ।’
सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणलाई मुख्य एजेन्डा बनाएका पौडेलको अबको परीक्षा भने संसद्को रोस्ट्रममा हुनेछ, जहाँ उनले सञ्चारकर्मीको रूपमा उठाएका प्रश्नहरूको उत्तर नीति निर्माणमार्फत खोज्नुपर्नेछ ।
