कडा स्वभावका यादव मन्त्री हुँदा कर्मचारीलाई शौचालयमा थुनेको घटना अझै चर्चामा छ ।
जनकपुर — पञ्चायती व्यवस्थाविरुद्ध थालिएको आन्दोलनमा ०३३ सालबाट कांग्रेसमा लागेर राजनीति यात्रा थालेका मातृका यादव(७८ वर्ष) धनुषा निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएका छन् ।
यादवले १० हजार ४ सय २८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४ सय ८५ मत पाए । धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको थियो । उनको उम्मेदवारी खारेज भए पनि मतचाहिँ परेको छ ।
धनुषा सबैला निवासी नेपाली कम्युनिस्ट पार्टीका नेता यादवको योसहित चौथो संसदीय यात्रा हो । अन्तरिम व्यवस्थापिकाका सदस्य र एक पटक समानुपातिक सांसद रहेका यादव प्रत्यक्षतर्फ जितेको यो दोस्रो पटक हो । पञ्चायतकालमा कांग्रेसमा रहेका यादव बीपी कोइरालाको मेलमिलाप नीतिपछि अलग भए । २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य रहेका उनी २०६४ को संविधानसभामा समानुपातिक सदस्य भएका थिए । त्यस्तै २०७४ मा उनी धनुषा-१ मा विजयी भए पनि २०७९ मा हार बेहोरे ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग कुरा नमिलेपछि उनले ०६५ मा मन्त्रीबाटै राजीनामा दिएका थिए । त्यसै वर्ष ०६५ माघमा नेकपा (माओवादी) पुनर्गठन गरेर संयोजक बने भएका थिए । ८ वर्षपछि उनी २०७३ मा नेकपा (माओवादी केन्द्र)मा फर्किएका थिए ।
०३४ सालमा नेकपाको चौथो महाधिवेशनमा उनी सहभागिता जनाए । ०३५/०३६ सालको आन्दोलनमा भाग लिनुका साथै मातृका जनमत संग्रहमा पनि सहभागी थिए । सिरहा क्याम्पसका दुई पटक स्ववियु सभापति बनेका यादव कम्युनिस्ट राजनीतिमा लाग्दा जेलनेल पनि खेपे ।
०५०/०५१ मा पुष्पकमल दाहाल नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । ०५१ मा एकता केन्द्र नेकपा माओवादी हुँदै भूमिगत विद्रोह थाल्दा यादवलाई धनुषाको कमान्ड दिइएको थियो । माओवादीको सशस्त्र लडाइँदेखि वार्ता समितिको सदस्यसमेत रहिसकेका यादव माओवादी मूलधारको राजनीतिमा आएपछि तीनपटक मन्त्री बनिसकेका छन् ।
कडा स्वभावका यादव मन्त्री हुँदा कर्मचारीलाई शौचालयमा थुनेको घटना अझै चर्चामा छ । आफ्नो क्षेत्रमा देखिएको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिँचाइ र बाढी–डुबानको मुद्दालाई चुनावी एजेन्डा बनाएका यादवले जितेपछि जनतासँग गरेको प्रतिबद्धअनुसार नै काम गर्ने प्रतिक्रिया दिएका छन् ।
