धनुषा-१: मुद्दा प्रक्रियामै, मातृका यादव विजयी

सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ को मत परिणाम घोषणा नगर्न आदेश दिँदै अर्को पेसी फागुन २९ गतेका लागि तोके पनि निर्वाचन आयोगको निर्देशन अनुसार नेकपाका मातृका यादव निर्वाचित भएको घोषणा गरिएको हो ।

फाल्गुन २५, २०८२

अजित तिवारी

Dhanusha-1: Case still in process, Matrika Yadav wins

जनकपुर — निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी भएको भन्दै प्रमाणपत्र वितरण गरेको छ ।

सोमबार अबेर साँझ आयोगको निर्देशन बमोजिम यादवलाई विजयी भएको भन्दै प्रमाणपत्र दिइएको हो । सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ को मत परिणाम घोषणा नगर्न आदेश दिँदै अर्को पेसी फागुन २९ गतेका लागि तोके पनि निर्वाचन आयोगको निर्देशन अनुसार विजेता घोषणा गरिएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फको मतगणना आइतबार राति नै सकिए पनि अहिले मत परिणाम घोषणा गरेर यादवलाई विजयीको प्रमाणपत्र दिइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचनको दुई दिनअघि खारेज भएपछि विवाद चुलिएको छ । उम्मेदवारी खारेज भएका रास्वपाको उम्मेदवार साहलाई घण्टी चुनाव चिह्नमा परेको मतसमेत गनेर गोप्य लगत राखिएको छ । 

धनुषा क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार साहको मतबाहेक नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवले १० हजार ४ सय २८ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४ सय ८५ मत पाएका छन् । एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २ सय २० मत ल्याएका छन् । 

प्रतिनिधिसभा निर्वाचन २०८२

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully