कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत र दैलेखमा धेरै मत बदर भएका छन् ।
What you should know
सुर्खेत — यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको संख्या निकै धेरै छ । १० जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५ सय रहेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा समानुपातिकतर्फ १ लाख ४२ हजार मत खस्यो भने प्रत्यक्षतर्फ १ लाख ३९ हजार ६०३ मत खसेको थियो । दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ १० हजार ४०७ मत बदर भएको छ । यस्तै, दैलेख जिल्लामा पनि दुवै निर्वाचन क्षेत्र छन् । दैलेखको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार दैलेखमा ८१ हजार १ स य ११८ मत समानुपातिकमा खसेको थियो । जसमा ९ हजार ८ सय ९२ मत बदर रहेको छ ।
कर्णाली प्रदेश निर्वाचन कार्यालयले दिएको तथ्यांक अनुसार दैलेख र सुर्खेत मात्र हैन कर्णालीका सबै जिल्लाको बदर तथ्यांक प्रत्यक्षभन्दा समानुपातिक मत बदर भएको छ । यस्तै, कालीकोट जिल्लामा प्रत्यक्ष र समानुपातिकतर्फ ३ हजार ८४३ मत बदर भएको छ ।
प्रत्यक्षतर्फ ४१ हजार ३ सय ५० मत खसेको थियो भने समानुपातिक तर्फ ४२ हजार २३७ मत खसेको हो । यस्तै, मुगु जिल्लामा २२ हजार ७१ मत मध्ये ८ सय ४६ मत बदर भएको छ । हुम्ला जिल्लामा प्रत्यक्षतर्फ खसेको मत २२ हजार ३ सय ५१ मत थियो जसमा ४ सय १६ बदर छ भने समानुपातिकतर्फ ३ सय ९३ मत बदर भएको छ ।
२०७९ को निर्वाचन हेर्ने हो भने यसपालिको निर्वाचनमा ४ प्रतिशतले सुधार भएको कर्णाली प्रदेश मुख्य निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । ‘मतदाताले आफूलाई मन परेको जति वटा चिह्नमा पनि छाप लगाउने भएकाले बढी बदर देखिन्छ । समानुपातिक भन्दा प्रत्यक्षमा धेरै बदर देखिन्छ,’ उनले भने, ‘मतदाता शिक्षा दिने भन्दा पनि मतदाताहरुले लापरबाही गरेको धेरै देखियो । यो पटकको निर्वाचनमा मतदाता शिक्षा दिने समय पनि कम थियो ।’
अझै पनि रुकुम पश्चिम र डोल्पाको समानुपातिक मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । रुकुम पश्चिममा प्रत्यक्षतर्फ ५९ हजार ५ सय २३ मत खसेकोमध्ये ३ हजार १६ मत बदर भएको छ । जाजरकोटमा प्रत्यक्ष र समानुपातिकतर्फ ६ हजार ४४४ मत बदर छ । डोल्पामा १६ हजार १९ मतमध्ये ५ सय १३ मत बदर भएको हो ।
सल्यानमा ६ हजार ४ सय ८० मत बदर प्रत्यक्ष र समानुपातिकतर्फ ८३ हजार ६ सय ९२ मत खसेको थियो । जुम्लामा ४१ हजार सय ५१ खसेको समानुपातिकमा खसेको थियो त्यसमा १ हजार ३ सय ३२ मत बदर भएको थियो । प्रत्यक्षतर्फ १ हजार ७ सय ५ मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले दैलेखमा खसेको बदर मत दोहोरो चिह्नमा छाप लगाएको बताए ।
