युवराज दुलाल: ‘बिग्रेड कमाण्डर’देखि संघीय सांसद्‌सम्म

२०५१ सालदेखि अखिल क्रान्तिकारीमा संगठित भई २०५२ सालदेखि माओवादी आन्दोलनमा सक्रिय रहँदै उनले विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए । उनी दुई पटक बागमती प्रदेशसभामा मन्त्रीसमेत भएका थिए ।

फाल्गुन २५, २०८२

अनिश तिवारी

Yubaraj Dulal: From 'Bagrade Commander' to Federal MP

What you should know

सिन्धुपाल्चोक — सिन्धुपाल्चोक-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ४३ वर्षीय युवराज दुलाल संघीय संसद्‌‌को यात्रामा पुगेका छन् । जनआन्दोलनको भूमिगत संघर्ष जनमुक्ति सेनाको 'बिग्रेड कमाण्डर'देखि प्रदेश सरकारको मन्त्रिपरिषद् हुँदै संघीय संसदीय यात्रामा आइपुगेका उनी निवर्तमान प्रदेशसभा सदस्यसमेत हुन् । उनी यही क्षेत्रबाट यसअघि दुई पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भइसकेका छन् । 

२०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (क) बाट प्रतिस्पर्धा गरेका उनले जित निकालेका थिए । त्यतिबेला २० हजार ९ सय ६ मत ल्याएर एमाले र राप्रपाका उम्मेदवारलाई पराजित गरेका थिए । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७, सानो सिरुवारीमा जन्मिएका थिए । उनका बुबा गुरुप्रसाद दुलाल र आमा झम्कमाया दुलाल हुन् । पारिवारिक जीवनमा उनका श्रीमती पार्वती दुलाल, छोरी अनिशा र छोरा अनिश रहेका छन् । 

२०५१ सालदेखि अखिल क्रान्तिकारीमा संगठित भई २०५२ सालदेखि माओवादी आन्दोलनमा सक्रिय रहँदै उनले विभिन्न जिम्मेवारीहरु निर्वाह गरेका थिए । शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा प्रवेश गरेका दुलाल २०७४ देखि २०७९ र २०७९ देखि २०८२ माघसम्म गरी दुई पटक बागमती प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भए ।

यस अवधिमा उनले बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्री (२०७४ फागुन–२०७७ पुस) तथा भौतिक पूर्वाधार विकासमन्त्री (२०७९ माघ–२०८१ साउन) को जिम्मेवारी कुशलतापूर्वक सम्हाले । मन्त्रीका रुपमा उनले जनमुखी, योजनाबद्ध विकास, सामाजिक न्याय, पूर्वाधार विस्तार र संस्थागत सहकार्यलाई प्राथमिकतामा राख्दै कार्य सम्पादन गरे । 

हाल दुलाल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यका रुपमा सक्रिय छन् । उनले यस पटक शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधारजस्ता आधारभूत अधिकार नागरिकसम्म गुणस्तरीय र सुलभ रुपमा दिने एजेन्डा बनाएका छन् । संघीय सांसद पुगेर क्षेत्रको विकास र जनआवाजलाई राष्ट्रिय तहमा पुर्‍याउने उनको प्रतिबद्धता रहेको देखिन्छ । 'यसअघि वाचा गरेका सबै काम पूरा गरेको छु, अबको लक्ष्य त्यतिखेरका योजना पूरा गर्ने विकासको बाकस, र सुदृढ स्वास्थ्य पूर्वाधार, समृद्ध सिन्धुपाल्चोकको आधार, स्वास्थ्य सेवा घरदैलो, विकासको यात्रा, सडकदेखि पुलसम्मजस्ता नारा छन्, प्रमुख कुरा समृद्ध जिल्लावासी र सिन्धुपाल्चोक मेरो लक्ष्य हो,' उनले भने । 

युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रवर्द्धन गर्ने विशेष कार्यक्रम ल्याउने तयारीसमेत उनले सार्वजनिक गरेका छन् । वैदेशिक रोजगारीलाई मात्र विकल्प मान्ने प्रवृत्तिमा परिवर्तन ल्याउँदै स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उनको योजना छ । प्रदेश तहमा जिम्मेवारी सम्हालिसकेको अनुभवलाई संघीय स्तरमा उपयोग गर्दै क्षेत्र नम्बर २ लाई नमूना विकास क्षेत्र बनाउने लक्ष्य उनले अघि सारेका छन् । २०७९ को निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका मोहनबहादुर बस्नेतले जितेका थिए । यस पटक कांग्रेसका लोकप्रिय उम्मेदवार नेता वंशलाल तामाङलाई पराजित गरेर दुलालले जित हात पारेका हुन् । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully