उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापालाई तत्काल राजीनामा नदिन सुझाव दिएका छन् ।
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिन लागेको जानकारी दिएका छन् । उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सभापति थापाले निर्वाचनमा पार्टी हारेकोमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन लागेको जानकारी गराएका हुन् । 'पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । अब म राजीनामा दिन्छु,' सभापति थापाको भनाइ उद्धृत गर्दै उपसभापति शर्माले भने ।
तर, उपसभापति शर्माले उनलाई तत्काल राजीनामा नदिन सुझाव दिए ।
शर्माले भने, 'रास्वपाको जित भन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो । नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सूक्ष्म समिक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अफ्ठ्यारो अवस्थामा पुग्न दिनुहुन्न ।'
सोमबार साँझ सुरु भएको दुई जनाको छलफल नयाँ बानेश्वरमा जारी छ ।
