सामूहिक भावनाकै कारण निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थापन: महानिरीक्षक कार्की

निर्वाचन सुरक्षामा प्रहरी प्रधान कार्यालय र मातहत युनिटहरुबाट करिब ७५ हजार जनशक्ति र १ लाख ३३ हजार ९० निर्वाचन प्रहरी खटाएको थियो ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Effective security management in elections due to collective spirit: Inspector General Karki

What you should know

काठमाडौँ — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएसँगै नेपाल प्रहरीको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको बताएका छन् । उनले सामूहिक भावना र सांगठनिक लक्ष्यमा दृढ भएकै कारण चुनौतीकाबीच निर्वाचन सुरक्षा व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ छ ।

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको भूमिका र योगदान प्रशंसनीय रहेको भन्दै महानिरीक्षक कार्कीले सीमित स्रोत/साधनका बीच उच्च मनोबलका साथ प्रहरीले निर्वाचन सुरक्षा व्यवस्थापन प्रभावकारी रुपमा सम्पन्न गराएको पनि बताए । निर्वाचन सुरक्षामा प्रहरी प्रधान कार्यालय र मातहत युनिटहरुबाट करिब ७५ हजार जनशक्ति र १ लाख ३३ हजार ९० निर्वाचन प्रहरी खटाएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार यो पटकको निर्वाचनमा एक जनाको पनि मानवीय क्षति नभएको र सुझबुझपूर्ण सुरक्षा व्यवस्थापनका कारण यो सम्पन्न भएको जनाएको छ ।

निर्वाचन सुरक्षा व्यवस्थापनमा खटिएका उपत्यकाभित्रका कार्यालय तथा मातहत युनिटका अधिकृत तथा जवानहरुलाई सोमबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले भने, ‘सीमित साधनस्रोत,  भौतिक पूर्वाधारहरूको अभाव एवं प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका चिन्तन एवं आकांक्षाका बाबजुद निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले उच्च मनोबल, सामूहिक भावना एवं जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको उच्च व्यावसायिकता प्रशंसनीय छ ।’

प्रतिकूल परिस्थितिका बाबजुद मुलुकप्रतिको समर्पण भावका साथ आफूलाई तोकिएको जिम्मेवारीमा केन्द्रित रहेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको व्यावसायिक भूमिकाप्रति उनले आभार व्यक्त गरे ।

प्रहरीको अथक सक्रियता र क्रियाशीलताका कारण समाजमा शान्ति सुरक्षा कायम राख्न सम्भव भएको उनको भनाइ छ । सबै प्रहरी कर्मचारीहरूले परिवर्तनलाई आत्मसात् गर्न जरूरी रहेको बताउँदै समयानुकूल अझ शिष्ट बोली, वचन र आचरणका साथै जनउत्तरदायी भई नागरिकहरूप्रति पूर्णरूपमा समर्पित भएर काम गर्न पनि निर्देशन दिए ।

कार्कीले प्रहरी पेसा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमानदारिता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवं दृढ अनुशासन आवश्यक रहेको पनि उल्लेख गरे ।

कान्तिपुर

Link copied successfully