२०४९ चैतमा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका उनी २०७९ साउनसम्म सेवामा रहे । ५६ वर्षे उमेर हदका कारण निवृत्त भएका थिए । प्रहरी सेवा प्रवेश गर्नुअघि उनले ५ वर्ष न्याय सेवा र २ वर्ष प्रशासनतर्फ कर्मचारी बनेर सेवा गरेका थिए ।
What you should know
काठमाडौँ — नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)बाट अवकाश पाएका विश्वराज पोखरेल ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पोखरेलले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतको अन्तरले पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् । उनी पहिलो चुनावी प्रतिस्पर्धामै पोखरेल विजयी भएर सांसद बनेका हुन् । पोखरेलले १३ हजार ९ सय ५३ मत ल्याउँदा दोस्रो भएका लुइँटेलले १३ हजार ९ सय ५३ मत ल्याए ।
२०२३ साउन २० मा ओखलढुंगाको रुम्जाटारमा जन्मेका पोखरेल घरका दोस्रो सन्तान हुन् । बुबा लक्ष्मण पोखरेल र आमा सूर्यकुमारी पोखरेलका ४ सन्तान (तीन जना दाजुभाइ र एक बहिनी)मध्ये उनी माइला हुन् । स्नातकोत्तर अध्ययन पूरा गरेका पोखरेलले २०४९ चैतमा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका थिए । पोखरेल २०७९ साउनसम्म सेवामा रहे । ५६ वर्षे उमेर हदका कारण निवृत्त भएका थिए । प्रहरी सेवा प्रवेश गर्नुअघि पोखरेलले ५ वर्ष न्याय सेवा र २ वर्ष प्रशासनतर्फ कर्मचारी बनेर सेवा गरेका थिए ।
पछि प्रहरी निरीक्षक बनेपछि फौजी यात्रा सुरु गरी उनी करिब २९ वर्षसम्म बहालमा रहे । अब भने उनको भूमिका पूर्व सुरक्षा अधिकारीका अलवा कानुन बनाउने नीतिनिर्माताका रुपमा प्रवेश गरेको हो । अवकाशको साढे ३ वर्षपछि गैरदलीय र गैरराजनीतिक भूमिकाबाट बाहिर निस्किेर २०८२ मंसिर १२ गते उनी रास्वपा प्रवेश गरेका थिए । पार्टी प्रवेशको केही महिनाभित्रै उनी २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विजयी हुँदै संसदीय यात्रा तय गरेका हुन् ।
प्रहरी महानिरीक्षक बढुवाका लागि पोखरेल डेढ वर्ष सिनियर हुँदाहुँदै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले अर्का एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेपछि उनी नेतृत्वमा पुग्नबाट बञ्चित भए । त्यसविरुद्ध सर्वोच्च अदालत गएका पोखरेलका पक्षमा आदेश नआएपछि तीन महिना बिदा बसेर उनले अनिवार्य अवकाश पाएका थिए । करिब तीन दशकसम्म फौजी जीवन बिताएका पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनी नयाँ जिम्मेवारी र भूमिकामा संसदीय यात्रामा प्रवेश गरेका हुन् ।
