धनुषा क्षेत्र नम्बर १ को मतपरिणाम कम्तीमा फागुन २९ गतेसम्ममा घोषणा नहुने भएको छ ।
What you should know
जनकपुर — धनुषा क्षेत्र नम्बर १ को मतपरिणाम कम्तीमा फागुन २९ गतेसम्ममा घोषणा नहुने भएको छ । सोमबार सर्वोच्च अदालतले निर्वाचन आयोगसहितलाई छलफलमा बोलाएपछि उक्त मितिसम्म नतिजा घोषणा रोकिने भएको हो ।
सर्वोच्च अदालतले यसअघि नै निर्वाचन आयोगले मतपरिणाम घोषणामा रोक लगाएकाले त्यसमा थप केही नगर्दै निर्वाचन आयोगलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने सक्कल फाइल पेस गर्न भनेको छ । सर्वोच्चले अर्को सुनुवाइ २९ गतेका लागि तोकेको छ । उक्त निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना आइतबार राति नै सकिए पनि अहिलेसम्म मत परिणाम घोषणा गरिएको छैन । रास्वपाका उम्मेदवार साहको उम्मेदवारी निर्वाचनको दुई दिनअघि खारेज गरेको थियो ।
निर्वाचन अधिकृत मनोज बरालले प्रत्यक्षतर्फको गणना आइतबार राति नै सकिएको र निर्वाचन आयोगको निर्देशनबमोजिम अन्तिम परिणाम घोषणा नगरिएको बताए । उम्मेदारी खारेज भएका रास्वपाको उम्मेदवार साहलाई घन्टी चुनाव चिह्नमा परेको मतसमेत गनेर गोप्य लगत राखिएको छ ।
धनुषा-१ मा रास्वपाका उम्मेदवार साहको मतबाहेक नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवले १० हजार ४ सय २८ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४ सय ८५ मत पाएका छन् । एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २ सय २० मत ल्याएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम घोषणा नगरेकोमा नेकपाले आपत्ति जनाएको छ । निर्वाचन आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखेर उक्त क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम घोषणा नगर्न निर्देशन दिएको थियो । आयोगले उम्मेदवारी खारेज गरेकाले सर्वाधिक मत ल्याएर विजयी भएको नेकपाका उम्मेदवार यादवले दाबी गरेका छन् ।
‘आयोगकै कारण धनुषा-१ मा विवाद बढेको हो,’ नेकपाका उम्मेदवार यादवले भने, ‘अन्तिम मत परिणाम घोषणा गरेर विजयी उम्मेदवारलाई प्रमाणपत्र दिनुपर्छ ।’
नेकपाका नेता–कार्यकर्ता सोमबार बिहानैदेखि धनुषाधामस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिइरहेका छन् ।
