२०४६ सालपछि देशमा बहुदलीय व्यवस्था पुनः स्थापित भएपछि यज्ञबहादुर बाेगटी विद्यार्थी संगठनमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । विद्यार्थी संगठनमा काम गर्ने क्रममा उनले नेतृत्व, संगठन विस्तार र कार्यकर्ता परिचालनमा विशेष भूमिका खेलेका थिए ।
अछाम — अछामको राजनीतिमा सक्रिय नाम हो यज्ञबहादुर बोगटी । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका एमालेका उम्मेदवार बोगटी अछाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गाउँ–गाउँमा संगठन निर्माण गर्दै राजनीतिमा अघि बढेका बोगटीले दोस्रोपटक संघीय संसद्को यात्रा तय गरेका हुन् । आइतबार साँझ आएको अन्तिम मत परिणाममा कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहभन्दा ४७२ मत बढी प्राप्त गरेर उनी विजयी भएका हुन् ।
मंगलसेन नगरपालिका–३ का बोगटी सामान्य पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन् । बोगटीले मंगलसेनस्थित शोडषा माध्यमिक विद्यालयबाट आधारभूत तह, प्लस टु मंगलसेनस्थित अछाम बहुमुखी क्याम्पस र स्नातक तहको अध्ययन काठमाडौंबाट पूरा गरे ।
विद्यार्थी जीवनमै उनले संगठनात्मक गतिविधिमा चासो देखाउन थालेका थिए । २०४६ सालपछि देशमा बहुदलीय व्यवस्था पुनः स्थापित भएपछि उनी विद्यार्थी संगठनमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । विद्यार्थी संगठनमा काम गर्ने क्रममा उनले नेतृत्व, संगठन विस्तार र कार्यकर्ता परिचालनमा सक्रिय भूमिका खेलेका थिए ।
विद्यार्थी राजनीतिबाट सुरु भएको उनको सक्रियता क्रमशः पार्टी संगठनमा विस्तार हुँदै गयो । उनी लामो समयसम्म जिल्लास्तरको पार्टी संगठनमा सक्रिय रहँदै आएका छन् । संगठन निर्माण, कार्यकर्ता परिचालन र स्थानीय मुद्दा उठाउने नेताका रूपमा उनले अछाममा प्रभाव बनाएका छन् ।
कम्युनिस्ट आन्दोलनसँग जोडिएर उनले एमालेभित्र विभिन्न जिम्मेवारी सम्हालेका छन् । पार्टी संगठनमा सक्रिय रहँदै उनी जिल्ला तहमा नेतृत्व भूमिकामा पुगे । २०७४ सालमा उनी एमाले अछामका जिल्ला सचिव थिए । त्यही समयमा उनले पहिलोपटक प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिएका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बोगटी अछाम–२ बाट उम्मेदवार बनेका थिए । त्यो चुनावमा उनले विजय हासिल गर्दै पहिलोपटक संघीय संसदमा प्रवेश गरेका थिए । त्यसपछि उनी अछामका विभिन्न विकासका मुद्दा संसदमा उठाउने नेताका रूपमा सक्रिय रहे । सडक, शिक्षा, स्वास्थ्य सेवा र आधारभूत पूर्वाधार विकासका विषयमा उनले आवाज उठाउँदै आएका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी पराजित भए । हारपछि पनि उनले राजनीतिक सक्रियता भने रोकिएन । संगठन सुदृढीकरण, कार्यकर्ता भेटघाट र जिल्लाका स्थानीय समस्यामा निरन्तर सक्रिय रहँदै राजनीतिक यात्रालाई निरन्तरता दिए ।
अहिलेको प्रतिनिधिसभा निर्वाचनमा उनले पुनः प्रतिस्पर्धा गर्दै अछाम–२ बाट विजय हासिल गरेका छन् । यससँगै उनी दोस्रोपटक संघीय संसदमा निर्वाचित भएका हुन् । हालै सम्पन्न एमालेको महाअधिवेशनबाट बोगटी पार्टीको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका छन् । यसले पार्टीभित्र उनको भूमिका र प्रभावलाई थप मजबुत बनाएको मानिन्छ ।
सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला विकासका दृष्टिले पछाडि परेको क्षेत्र मानिन्छ । गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभाव यहाँका प्रमुख चुनौतीका रूपमा देखिन्छन् । बोगटीले राजनीतिक एजेन्डामा जिल्लाको विकासलाई केन्द्रमा राखेका छन् । ‘अछाम अझै पनि देशकै गरिब जिल्लामध्ये एकका रूपमा चिनिन्छ । यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सुधार्न जरुरी छ,’ बोगटी भन्छन्, ‘स्थानीयस्तरमै अवसर सिर्जना गरेर अछामका युवालाई आफ्नै ठाउँमा भविष्य देख्ने वातावरण बनाउन म प्रतिबद्ध छु । जनताको जीवनस्तर सुधार्नु नै मेरो पहिलो प्राथमिकता हो ।’
