संविधान निर्माणमा 'विज्ञ' भएर काम गरेका आचार्य कानुन बनाउने थलोमा

संविधान निर्माणका बेला विज्ञ भएर काम गरेका मोहनलाल आचार्य गत भदौको जेन–जी आन्दोलनपछि रास्वपा प्रवेश गरेर राजनीतिक यात्रा सुरु गरेका थिए । कपिलवस्तु-१ बाट निर्वाचित उनले २०४८ देखिको एमाले र कांग्रेसको विरासत तोडेका छन् ।

फाल्गुन २५, २०८२

मनोज पौडेल

Acharya, who worked as an 'expert' in constitution-making, is in the place of law-making.

What you should know

कपिलवस्तु — संविधानका जानकार मोहनलाल आचार्य कानुन निर्माण गर्न सर्वोच्च थलो संघीय संसद‍्मा पुगेका छन् अहिलेसम्म कानुन बनाउन आवश्यक सल्लाह दिँदै आएका उनी आफैं ऐन–कानुन निर्माण गर्ने थलोमा पुगेका हुन् । कपिलवस्तु–१ मा रास्वपाबाट उम्मेदवार बनेका उनले भारी मतान्तरको जित हात पार्दै संसदीय यात्रा सुरु गरेका छन् ।

कपिलवस्तु–१ मा २०४८ देखिको एमाले र कांग्रेसको विरासत उनले तोडेका हुन् । विशेषज्ञका रूपमा काम गरिरहेका आचार्य गत भदौको जेन–जी आन्दोलनपछि मुलुकलाई निकास दिनका लागि रास्वपा प्रवेश गरेर संसदीय यात्रा सुरु गरेको उनले बताए ।  

यहाँ दुई नयाँ अनुहारबीच प्रतिस्पर्धा भयो । आचार्य १८ हजार २ सय ८८ मतान्तरले विजयी भए । आचार्यले ३४ हजार १ सय ४८ मत पाउँदा उनका निकतटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८ सय ६० मत प्राप्त गरेका थिए । पार्टीबाट टिकट नपाएपछि कांग्रेस नेता शर्माले स्वतन्त्र उम्मेदवारी दिएका थिए । शर्मा पनि बैंक तथा वित्तीय संस्थामा सुशासनका जानकार र युवा उद्यमी हुन् । तीन क्षेत्रमध्ये विकासका पूर्वाधर अपेक्षाकृत बढी रहेको क्षेत्र नं १ मा दलबाट १९ जना र १४ स्वतन्त्र उम्मेदवारलाई पराजित गर्दै आचायले विजयीको माला पहिरिएका हुन् । 

यस क्षेत्रमा ३ जना संविधानसभा सदस्य चुनावी प्रतिस्पर्धामा हुँदा निर्वाचन अझ पेचिलो बनेको थियो । चुनावका अनुभवी नेता, हाइड्रोपावर विशेषज्ञ, तत्कालीन माओवादी जनमुक्ति सेनाका कमाण्डर र युवा उद्यमीसँग प्रतिस्पर्धा गर्न कठिन भए पनि उनले जनताको भारी मत प्राप्त गरी संसद्को यात्रा तय गरेका हुन् । दुई विषयमा स्नातकोत्तर गरेका आचार्य चुनावी प्रचारका दौरान मतदाताका तिखा प्रश्नको सामना गर्दै ज्ञान र विज्ञता भएकालाई काम गर्न अवसर दिनुपर्ने बताउँदै आएका थिए ।

पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनीसित संविधानसभाको विशेषज्ञ भएर सात वर्ष काम गरेको अनुभव छ । उनीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद‍्को कार्यालय, संघीय मामिला मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या र कृषि मन्त्रालयलगायत विभिन्न सरकारी निकायका लागि कानुन निर्माण, अध्ययन–अनुसन्धान तथा बनेका कानुनको विधायिकी परीक्षणमा काम गरेको अनुभव छ । वाणगंगा नगरपालिका–४ सिद्धिपुरका ५३ वर्षे आचार्यले अन्तर्राष्ट्रिय कानुन र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । 

संघ,  प्रदेश र स्थानीय तहमा कानुन तर्जुमा, स्थानीय न्यायिक समितिको सुदृढीकरण तथा विशेष क्षमता अभिवृद्धि तालिममा विषयविज्ञ आर्चायले आफूले कृषिलाई प्राथमिकता दिएको बताए । कृषकको सम्मान, सिँचाइ र मलखादको सहज पहुँच पुर्‍याउने उनले बताए ।

कृषि उपजको बजारीकरण, मेडिकल कलेज सञ्चालनका लागि पहल गर्ने र बुद्ध सर्किटलाई टुरिजम हवका रूपमा विश्व पर्यटनको नक्सामा विकास गर्ने लक्ष्य लिएर योजना बनाएको उनले बताए । कानुन निर्माण प्रक्रियालाई जनमुखी, व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन लाग्ने र सर्वसाधारणले अनुभूति गर्ने कानुन बनाउन पैरवी गर्ने उनले बताए । 'कानुन किताबमा सीमित होइन, नागरिकको जीवनमा न्याय, सुरक्षा र भरोसा दिलाउने माध्यम हुनुपर्छ,’ उनले भने, 'कानुनी राज्यको प्रत्याभूति, भ्रष्टाचारको अन्त्य र दण्डहीनताविरुद्ध कडा कदम चाल्नेछु ।'

सार्वजनिक पदलाई सेवामुखी बनाउने र नागरिकप्रति प्रत्यक्ष जवाफदेही शासन प्रणाली विकास गर्ने उनको भनाइ छ । युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, सीप विकास, स्टार्टअप प्रवर्द्धन तथा वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै अवसर विस्तार गर्ने कार्यक्रम बनाएकाे उनको दाबी छ ।

मनोज

Link copied successfully