मधेश केन्द्रित दलले समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउने सम्भावना न्यून

निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुनले कुल सदर मतको ३ प्रतिशत मत कटाउने राजनीतिक दलले मात्रै समानुपातिकतर्फ सिट प्राप्त गर्ने बताइन् ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Madhesh-centric parties unlikely to cross 'threshold' towards proportional representation

काठमाडौं — प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेका मधेश केन्द्रित दलहरू समानुपातिकबाट पनि सिट नपाउने देखिएको छ । प्रत्यक्षतर्फको १६५ सिटमा मधेश केन्द्रित राजनीतिक दल जनता समाजवादी, जनमत वा राष्ट्रिय मुक्ति पार्टी नेपालका कुनै पनि उम्मेदवारले जितेका छैनन् । तीनवटै पार्टीका अध्यक्षहरू क्रमशः उपेन्द्र यादव, सीके राउत तथा राजेन्द्र महतो पराजित भइसकेका छन् ।

समानुपातिक तर्फ पनि ती दलहरूले ३ प्रतिशतको थ्रेस होल्ड कटाउने अवस्था छैन । समानुपातिकतर्फ जारी मतगणनामा उनीहरूले न्यून मत पाएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ १ करोड ९ लाख मत खसेको छ । सोमबार अपरान्हसम्म ९० लाख मत गणना भइसकेको छ । अब १९ लाख मत मात्रै गन्न बाँकी छ ।

अहिलेसम्म जसपाले १ लाख ४० हजार २ सय ३७ मत पाएको छ । गणना भएको कुल मतको तुलनामा जसपाले पाएको मत डेढ प्रतिशत मात्रै हो । त्यस्तै, जनमतले ६२ हजार ४ सय २६ मत र रामुपाले ४९ हजार ४ सय १८ मत ल्याएको छ । जनमत र रामुपाले पाएको मत १ प्रतिशतभित्र छ ।

आयोगका सहायक प्रवक्ता सीता पुनले कुल सदर मतको ३ प्रतिशत मत कटाउने राजनीतिक दलले मात्रै समानुपातिकतर्फ सिट प्राप्त गर्ने बताइन् । समानुपातिकतर्फ सिट जित्नका लागि दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ऐनको दफा ६० (११)मा समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको ३ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने भनिएको छ । कानुनी प्रबन्धअनुसार जसपा, जनमत वा रामुपाले तोकिएको ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउने सम्भावना देखिएको छैन ।

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले मात्र थ्रेस होल्ड कटाएर समानुपातिकतर्फबाट आफ्ना उम्मेदवार निर्वाचित गराउने देखिएकाे छ । ०७४ को प्रतिनिधिसभामा तत्कालिन मधेश केन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल दुवैले समानुपातिकतर्फ क्रमशः साढे ५ प्रतिशत मत ल्याएका थिए । समानुपातिकबाट ६/६ सिट जितेका थिए । ०७९ को चुनावमा जसपा नेपालले ३ दशमलव ९९ र जनमत पार्टीले ३ दशमलव ७४ प्रतिशत मत ल्याएर ५/५ सिट हात पारेको थियो ।

कान्तिपुर

Link copied successfully