समाज र अर्थतन्त्रका विषयमा समेत जानकार रहेका उनी निकटतम प्रतिस्पर्धीको भन्दा १८ हजार ९४८ बढी मतान्तर अर्थात ३० हजार ५९० मत ल्याएर संघीय सासंद निर्वाचित भए ।
उदयपुर — राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट उदयपुर–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पारसमणि गेलालले एमाले र कांग्रेसको गढ भत्काएका छन् ।
२०४२ वैसाखमा चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा जन्मिएका गेलालको स्थायी ठेगाना सुनसरीको इनरुवा नगरपालिका–६ हो । व्यावसायिक जीवनबाट रास्वपाको राजनीतिमा जोडिएका उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । शिक्षा र सामाजिक चेतनासँगै निजी क्षेत्रको व्यावसायिक नेतृत्वमा समेत पहिचान बनाएका उनले राजनीतिशास्त्र, संस्कृति र अर्थशास्त्र विषय अध्ययन गरेका छन् ।
उनले आफ्ना निकटतम प्रतिस्पर्धीको भन्दा १८ हजार ९४८ बढी मतान्तर अर्थात ३० हजार ५९० मत ल्याएर संघीय सासंद निर्वाचित भए । गेलालसँग पराजित भएका श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमारले ११ हजार ६०६ मत ल्याए ।
गेलाल रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभागका सचिव तथा केन्द्रीय निर्वाचन रणनीति कार्यदलको सदस्य समेत हुन् । सामाजिक अभियान र उद्यमसँग जोडिएका उनी सुनसरीको इटहरीलगायतका विभिन्न ठाउँमा कार, जिपको खरिद बिक्री व्यवसाय गर्दै आएका थिए । ०७४ को स्थानीय तह निर्वाचनमा उपमेयर पदमा स्वतन्त्र उम्मेदवार बनेका उनले ५० मतमात्र पाएका थिए । त्यसपछि एकीकृत समाजवादीगायतका पार्टीलाई समर्थन गर्दै आए पनि २०७९ सालदेखि गेलाल सक्रिय रुपमा रास्वपामा जोडिएका थिए ।
असल शासन अभियानमार्फत कोशी प्रदेशमा सुशासनको सवालमा समेत काम गरेका गेलालले केही समय पत्रकारिता समेत गरेका थिए । उनले रेडियो स्रोता क्लबबाट भ्रष्टाचारविरुद्धको अभियान संचालन गरेका थिए । संविधानसभा निर्वाचनको समयदेखि संविधानसम्बन्धी अभियन्ता तथा सार्वजनिक सुनुवाइहरूमा समेत काम गरेका उनी व्यावसायिक रूपमा विद्युतीय सवारी साधन र अटोमोबाइल क्षेक्रको विस्तारमा सत्रिय थिए ।
मिलनसार, सरल स्वभाव र वाककलामा निपुण रहेका गेलाल शिक्षा, संगठन र व्यावसायिक नेतृत्वमा समेत अब्बल मानिन्छन् । प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि गेलालले उदयपुरको समग्र आर्थिक विकास, युवालाई रोजगारी सिर्जना, स्थानीय उद्योग विस्तार तथा कृषिमा आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचित भएर प्रमाणपत्र बुझ्दै उनले भने, ‘उदयपुर कृषि, पर्यटन र साना–मझौला उद्योगको सम्भावना बोकेको जिल्ला हो, योजनाबद्ध रूपमा अघि बढाउदै स्थानीय अर्थतन्त्र बलियो बनाउने मेरो प्रमुख लक्ष्य हो ।’
सुशासन र पारदर्शितालाई प्राथमिकता दिने, जनतासाग प्रत्यक्ष संवाद गर्दै भ्रष्टाचार नियन्त्रण र सरकारी सेवालाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने विषयलाई संसदमा जोडदार रुपमा उठाउने उनको प्रतिबद्धता व्यक्त गरेका छन् । पुराना राजनैतिक शक्तिहरुबाट देशमा विकास, सुशासन, भ्रष्टचार नियन्त्रण र देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्ने भन्दै रास्वपाको राजनीतिमा होमिएका गेलालले पहिलो पटकमै संसदको यात्रा तय गरेका छन् ।
