संसद्मा युवा वर्चस्व : आस कि संशय !

आइतबार मध्यरातसम्मको मतपरिणामअनुसार प्रत्यक्षतर्फ ४० वर्षमुनिका ५९ जना युवा उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन्, जसमा रास्वपाको ५१ सहित स्पष्ट वर्चस्व देखिएको छ।

फाल्गुन २५, २०८२

दया दुदराज

Dominance of youth in the parliament: doubt of hope!

काठमाडौँ —  

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आइतबार साँझसम्म सार्वजनिक १ सय ५९ निर्वाचन क्षेत्रको मतपरिणामले संघीय संसद्को उमेर संरचनामा उल्लेखनीय परिवर्तन देखाएको छ । सार्वजनिक नतिजाअनुसार प्रतिनिधिसभामा युवा पुस्ताको उपस्थिति उल्लेख्य रूपमा बढेको छ ।

युवा जोस मात्र पर्याप्त हुँदैन, त्यसमा स्पष्ट दृष्टिकोण, जिम्मेवारीबोध र इमानदारिता पनि अनिवार्य हुन्छ ः नवीन तिवारी, राजनीतिक विश्लेषक।राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई ‘युवा’ मानिन्छ । नेपालको कुल जनसंख्यामध्ये १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा करिब ४०.३५ प्रतिशत रहेको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका केवल १० जना मात्रै निर्वाचित भएका थिए । त्यसबेला ७० वर्षमाथिका १४ जना सांसद निर्वाचित भएका थिए भने ४० देखि ७० वर्ष उमेर समूहका सांसदको संख्या सबैभन्दा धेरै (१३८) थियो ।

यस पटकको निर्वाचन परिणामले भने संसद्को उमेर संरचनामा उल्लेखनीय परिवर्तन ल्याएको देखिन्छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार ४० वर्षमुनिका ५९ जना उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भएका छन् । यस समूहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट वर्चस्व देखिएको छ । ५९ मध्ये ५१ जना रास्वपाबाट निर्वाचित हुँदा कांग्रेसबाट ४, एमालेबाट २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीबाट एक–एक जना निर्वाचित भएका छन् ।

सबैभन्दा कान्छा सांसद

आइतबार मध्यरातसम्मको मतपरिणामअनुसार प्रत्यक्षतर्फ ४० वर्षमुनिका ५९ जना युवा उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन्, जसमा रास्वपाको ५१ सहित स्पष्ट वर्चस्व देखिएको छ।मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेती यस पटकका सबैभन्दा कान्छा प्रतिनिधिसभा सदस्य बनेका छन् । रास्वपा उम्मेदवार उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै एमालेका महेशकुमार बर्तौलालाई पराजित गरेका हुन् । मनहरी गाउँपालिका–७ का उप्रेती पर्यटन उद्यमी हुन् । स्नातक तहसम्म अध्ययन गरेका उनी पहिलो पटकको प्रयासमा नै प्रतिनिधिसभामा पुगेका हुन् । त्यस्तै पूर्वी नवलपरासी–२ बाट २६ वर्षीय मनीष खनाल, कैलाली–२ बाट २६ वर्षीय केपी खनाल, रूपन्देही–२ बाट २८ वर्षीय सुलभ खरेल, सिरहा–१ बाट २८ वर्षीय बब्लु गुप्ता, झापा–१ बाट २९ वर्षीया निशा डाँगीलगायतका युवा नेताहरू पनि प्रतिनिधिसभामा प्रवेश गरेका छन् । 

त्यस्तै काठमाडौं–५ बाट २९ वर्षीय सस्मित पोखरेल, काठमाडौं–१ बाट ३० वर्षीया रन्जु न्यौपाने, सिरहा–२ बाट ३० वर्षीय शिवशंकर यादव, चितवन–३ बाट ३० वर्षीया सोबिता गौतम, मोरङ–६ बाट ३१ वर्षीया रुबिना आचार्य र प्यूठान–१ बाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक यही उमेर समूहका प्रतिनिधि हुन् । निर्वाचनअघि नै प्रधानमन्त्रीका उम्मेदवार भनिएका रास्वपाका बालेन्द्र शाह (बालेन) पनि युवा समूहमा पर्छन् । ३६ वर्षीय शाहले झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै सांसद निर्वाचित भएका हुन् ।

४१ देखि ५० वर्ष उमेर समूहका ५५ जना उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भएका छन् । यस समूहमा पनि रास्वपाको वर्चस्व देखिएको छ । ५३ जनामध्ये ४१ जना रास्वपाका छन् भने कांग्रेसबाट ५ जना निर्वाचित भएका छन् । नेकपाबाट ४, एमालेबाट ३ र श्रम संस्कृतिबाट २ उम्मेदवार विजयी भएका छन् । यस समूहमा चितवन–१ बाट ४२ वर्षीय हरि ढकाल, धनुषा–३ बाट ४५ वर्षीय मनीष झा, कास्की–१ बाट ४६ वर्षीय खड्कराज पौडेल, ललितपुर–१ बाट ४७ वर्षीय बुद्धरत्न महर्जन र रूपन्देही–३ बाट ४८ वर्षीय डा. लेखजंग थापा निर्वाचित भएका छन् । त्यस्तै सुनसरी–१ बाट ४३ वर्षीय हर्कराज राई (श्रम संस्कृति पार्टी), दैलेख–१ बाट ४५ वर्षीया बासना थापा (कांग्रेस) र बाँके–२ बाट ४६ वर्षीय मोहम्मद इस्तियाक राई (एमाले) पनि यस समूहका प्रतिनिधि हुन् ।

Dominance of youth in the parliament: doubt of hope!

५१ देखि ६० वर्ष उमेर समूहका ३६ जना उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भएका छन् । यस समूहमा २८ जना रास्वपाका छन् भने कांग्रेसबाट ४ जना निर्वाचित भएका छन् । नेकपा र एमालेका दुई–दुई उम्मेदवार पनि यही उमेर समूहका छन् ।

अनुभव र नयाँ सोचबीच सन्तुलन मिलाउन सके नेपालको शासन प्रणालीमा सकारात्मक परिवर्तन सम्भव छ : सुचेता प्याकुरेल, राजनीतिक विश्लेषक। यस समूहअन्तर्गत तनहुँ–१ बाट ५१ वर्षीय स्वर्णिम वाग्ले, काठमाडौं–९ बाट ५१ वर्षीय डोलप्रसाद अर्याल, सर्लाही–३ बाट ५३ वर्षीय नरेन्द्र साह कलवार र कास्की–३ बाट ५३ वर्षीया बिना गुरुङ, झापा–२ बाट ५५ वर्षीया इन्दिरा राना मगर निर्वाचित भएका छन् । त्यस्तै सुर्खेत–१ बाट ५८ वर्षीय विष्णुबहादुर खड्का (कांग्रेस), रोल्पा–१ बाट ५४ वर्षीय वर्षमान पुन (नेकपा) लगायतका नेता पनि यस उमेर समूहमा परेका छन् । 

६० वर्षमाथि ९ जना मात्रै

६० वर्षभन्दा माथिका उम्मेदवार भने तुलनात्मक रूपमा कम निर्वाचित भएका छन् । हालसम्म सार्वजनिक नतिजाअनुसार ६० वर्षभन्दा माथिका ९ जना मात्रै प्रतिनिधिसभामा पुगेका छन् । यस समूहबाट सोलुखुम्बु–१ बाट ६२ वर्षीय प्रकाश सिंह कार्की (कांग्रेस), दैलेख–२ बाट ६३ वर्षीय लक्ष्मीप्रसाद पोखरेल (एमाले) र डोटी–१ बाट ६८ वर्षीय भरतबहादुर खड्का (कांग्रेस) निर्वाचित भएका छन् ।

त्यस्तै कपिलवस्तु–२ बाट ६३ वर्षीय विक्रम थापा, सप्तरी–४ बाट ६५ वर्षीय सीताराम साह, रुकुम पूर्व–१ बाट ७० वर्षीय पुष्पकमल दाहाल र म्याग्दी–१ बाट ७१ वर्षीय महावीर पुन पनि निर्वाचित भएका छन् । समग्रमा हेर्दा यस पटकको प्रतिनिधिसभामा युवा उम्मेदवारहरूको सहभागिता उत्साहजनक देखिन्छ । तर शक्ति सन्तुलन गर्न नसके यो प्रभावकारी बन्न नसक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

राजनीतिक विश्लेषक सुचेता प्याकुरेलका अनुसार नेपालको संसदीय राजनीतिमा युवा सहभागिता क्रमशः बढ्दै गएको छ । उनका अनुसार सन् १९९१ मा ५ प्रतिशतभन्दा कम रहेको युवा प्रतिनिधित्व संविधानसभाकालमा ८–१० प्रतिशत पुगेको थियो भने पछिल्लो समय करिब १२ प्रतिशतसम्म पुगेको देखिन्छ ।

Dominance of youth in the parliament: doubt of hope!

भने कांग्रेसबाट ४, एमालेबाट २ तथा राप्रपा र श्रम संस्कृतिबाट एक–एक जना निर्वाचित भइसकेका छन्, मकवानपुर–२ बाट निर्वाचित रास्वपाका २५ वर्षीय प्रशान्त उप्रेती हालसम्मका सबैभन्दा कान्छा प्रतिनिधिसभा सदस्य हुन्।युवा नेतृत्व बढेसँगै शिक्षा, डिजिटल शासन, जलवायु नीति र रोजगारी सिर्जनाजस्ता क्षेत्रमा नीतिगत प्राथमिकता परिवर्तन हुने संकेत देखिएको उनले बताइन् । तर उनले प्रशासनिक संरचना अझै पुरानै ढाँचामा रहेकाले युवा नेतृत्व र कर्मचारीतन्त्रबीच तालमेल नमिल्ने जोखिम पनि औंल्याइन् ।

‘लोकप्रिय नारा दिएर मात्र शासन चल्दैन । पर्याप्त अध्ययनबिनाका ‘पपुलिस्ट’ नीतिले दीर्घकालीन समस्या पनि निम्त्याउन सक्छ,’ प्याकुरेलले भनिन् । उनका अनुसार युवा नेतृत्वप्रति ७० प्रतिशत आशा र ३० प्रतिशत संशय देखिन्छ । ‘अनुभव र नयाँ सोचबीच सन्तुलन मिलाउन सके नेपालको शासन प्रणालीमा सकारात्मक परिवर्तन सम्भव छ,’ उनले भनिन् ।

युवा राजनीतिक विश्लेषक नवीन तिवारी भने संसद्मा युवाको बढ्दो उपस्थितिलाई सकारात्मक संकेत माने पनि केवल उमेरकै आधारमा परिवर्तनको अपेक्षा गर्न नहुने बताउँछन् । उनका अनुसार राजनीतिमा उमेरभन्दा महत्त्वपूर्ण कुरा नेतृत्वको नियत, इमानदारी र स्पष्ट भिजन हो । ‘युवा नेतृत्व निर्वाचित भएर आउनु आफैंमा सकारात्मक पक्ष हो, तर राजनीतिमा उमेर मात्रै निर्णायक तत्त्व होइन,’ तिवारीले भने, ‘महत्त्वपूर्ण कुरा त उनीहरूको नियत, इमान र भिजन कस्तो छ र त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने हो ।’

तिवारीका अनुसार विगतमा पुराना नेताहरूले कुशासन चलाए भन्दैमा त्यो केवल उमेरकै कारण भएको ठहर गर्न मिल्दैन । ‘समस्या मुख्यतः नियतमा थियो । नियत सफा र काम गर्ने इच्छाशक्ति भएमा मात्र परिवर्तन सम्भव हुन्छ,’ उनले भने । तिवारीले पछिल्लो समय सामाजिक सञ्जालमा लोकप्रियता बटुल्ने प्रवृत्ति पनि राजनीतिमा देखिन थालेको उल्लेख गर्दै त्यसले दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिए । ‘फेसबुकमा चटक देखाउने र सस्तो लोकप्रियताका लागि जनतालाई प्रभावित गर्ने प्रवृत्ति युवामा पनि देखिन्छ । त्यसको दीर्घकालीन प्रभाव के हुन्छ भन्ने कुरा गम्भीर रूपमा सोच्नुपर्ने विषय हो,’ उनले भने ।

तिवारीले नेतृत्वका लागि उमेरभन्दा दृष्टिकोण र दूरदर्शिता महत्त्वपूर्ण हुने उदाहरण पनि दिए । ‘नेल्सन मन्डेला ७६ वर्षको उमेरमा नेतृत्वमा पुग्दा पनि उनले मुलुकलाई एकताबद्ध गर्ने र सही दिशा दिने काम गरे,’ उनले भने, ‘त्यसैले राजनीतिक सफलताका लागि युवा जोस मात्र पर्याप्त हुँदैन, त्यसमा स्पष्ट दृष्टिकोण, जिम्मेवारीबोध र इमानदारिता अनिवार्य हुन्छ ।’

Dominance of youth in the parliament: doubt of hope!

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully