२३ वर्ष अघिदेखि उनी जलविद्युत् परियोजनाहरूमा इन्जिनियर, विशेषज्ञ र व्यवस्थापकको रूपमा सक्रिय छन् । उनले जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण र नीति–व्यवस्थापनमा अनुभव हासिल गरेका छन् ।
धरान — सुनसरी क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साह फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । उनले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दै प्रतिनिधिसभा प्रवेश गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी पूर्वमन्त्री एवं कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १ सय ८४ मतान्तरले पराजित गरेका छन् । कार्कीले १६ हजार ५ सय ८७ मत प्राप्त गरेका छन् । यो फराकिलो मतान्तर केवल व्यक्तिगत विजय होइन, स्थानीय राजनीतिक सन्दर्भमा नयाँ परिवर्तनको संकेत पनि हो ।
कांग्रेसको गढ मानिने यस क्षेत्रमा साहले पुराना राजनीतिक ढाँचालाई चुनौती दिएर नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन् । ज्ञानेन्द्रबहादुर कार्की यस क्षेत्रका पुराना कांग्रेस नेता हुन् । उनी पटक–पटक मन्त्री बनिसकेका छन् । उनी लामो समयसम्म यस क्षेत्रको राजनीतिक स्थायित्वमा प्रभावशाली मानिने नेता हुन् । त्यसैगरी, जगदीशप्रसाद कुसियैत एमालेका पूर्वमन्त्री हुन् र यस क्षेत्रमा ठूलो प्रभाव राख्ने नेताका रूपमा परिचित थिए । तर, फागुन २४ को नतिजाले देखायो कि मतदाताले अब परम्परागत अनुभव भन्दा नवीन सोच र कार्यक्षमतालाई प्राथमिकता दिइरहेका छन् । साहको विजयले मतदातालाई संकेत दिएको छ कि मतदाताले अब परम्परागत राजनीतिक प्रभाव र अनुभवभन्दा नयाँ नेतृत्व, प्राविधिक दक्षता र परिणाममुखी योजनालाई प्राथमिकता दिइरहेका छन् ।
४९ वर्षका साह पेसागत रूपमा इन्जिनियर, ऊर्जा विशेषज्ञ र समुदाय सशक्तीकरणका पहलकर्ता हुन् । उनी जन्मले सुनसरीको भोक्रा नरसिङ गाउँपालिका वडा नं. ६ का हुन् र हाल भक्तपुरको नयाँ थिमिमा बस्दै आएका छन् । उनको राजनीतिक यात्रा जनमत पार्टी बाट सुरु भएको थियो, जहाँ उनी उपाध्यक्षसमेत बनेका थिए । तर, पार्टीभित्रको विवाद र अनुशासन उल्लंघनका कारण उनलाई निलम्बन गरियो । ६ महिनाको लागि उपाध्यक्ष पदबाट निलम्बन भएपछि उनी पार्टीबाट पूर्ण रूपमा निष्कासित भए । पार्टीले उनलाई गुटगत गतिविधि सञ्चालन गरेको र विधान विपरीत व्यवहार गरेको आरोप लगाएको थियो ।
जेन-जी आन्दोलन पछि उनले नयाँ राजनीतिक पहिचानका लागि जनस्वराज पार्टी गठन गर्ने प्रयास गरे । प्रारम्भमा अदालतले यसलाई मान्यता नदिएपछि उनले पार्टीको नाम परिवर्तन गरेर गत मंसिरमा सर्वोदय पार्टी दर्ता गराए । उनी सर्वोदय पार्टीका अध्यक्ष समेत रहे । फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर उनले रास्वपाको चुनाव चिह्न लिएर सुनसरी क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका हुन् ।
साहको विजयको अर्को कारण उनको पेसागत दक्षता हो । उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर छन् । २३ वर्षभन्दा बढी समयदेखि उनी जलविद्युत् परियोजनाहरूमा इन्जिनियर, विशेषज्ञ र व्यवस्थापकको रूपमा सक्रिय छन् । उनले जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण र नीति–व्यवस्थापनमा अनुभव हासिल गरेका छन् । उनले राष्ट्रिय सतर्कता केन्द्रमा टेक्निकल अडिटरको रूपमा काम गर्दा ऊर्जा परियोजना, दक्षता मूल्यांकन र संस्थागत सुधारमा महत्त्वपूर्ण योगदान दिएका थिए । यस अनुभवले उनलाई ऊर्जा नीति, प्रविधि र परियोजना व्यवस्थापनमा गहिरो समझदारी दिएको छ ।
साहका सामाजिक पहलहरू पनि उल्लेखनीय छन् । उनी ग्रामीण विद्युतीकरण, आधारभूत पूर्वाधार, सडक निर्माण, सामुदायिक सशक्तीकरण र युवाहरूलाई प्राविधिक तालिम तथा स्वरोजगारतर्फ प्रेरित गर्ने काममा सक्रिय छन् । यसले उनको नेतृत्वलाई दीर्घकालीन, समावेशी र परिणाममुखी बनाएको छ ।
उनी पेसागत दक्षता, प्राविधिक ज्ञान र सामुदायिक सुधारमा आधारित नेतृत्व लिएर आएका छन् । यो दृष्टिकोणले मतदातामा विश्वास जगाएको छ कि उनी केवल घोषणामा सीमित नेता होइनन्, तर कार्यक्षमता र परिणाममुखी नेतृत्व प्रस्तुत गर्ने व्यक्ति हुन् । उनले इन्जिनियरिङ र ऊर्जा क्षेत्रमा आफ्नो दक्षता प्रयोग गरी समुदायलाई प्रत्यक्ष लाभ पुर्याउँदै संसद्सम्मको यात्रा तय गरेका छन् । जलविद्युत्, ऊर्जा नीति, ग्रामीण विकास र युवा सशक्तीकरणका क्षेत्रमा उनले हासिल गरेको अनुभव राजनीतिक निर्णयमा नीतिगत, परिणाममुखी र व्यावहारिक दृष्टिकोण ल्याउने स्थानीयको अपेक्षा छ ।
