प्रकाशशरण महतलाई हराउँदै नुवाकोट-१ मा रास्वपाका विक्रम तिमिल्सिना निर्वाचित

आइतबार राति सार्वजनिक मतपरिणामअनुसार ४ हजार १२ मतान्तरसहित तिमिल्सिना विजयी भएका हुन् । निर्वाचित तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी महतले १८ हजार ५ सय ९७ मत पाएका हुन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Bikram Timilsina of the Rashtriya Swayamsevak Sangha (RSS) was elected in Nuwakot-1, defeating Prakash Sharan Mahat.

काठमाडौँ — नुवाकोट-१ मा कांग्रेस उम्मेदवार एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतलाई हराउँदै रास्वपाका विक्रम तिमिल्सिना निर्वाचित भएका छन् । 

आइतबार राति सार्वजनिक मतपरिणामअनुसार ४ हजार १२ मतान्तरसहित तिमिल्सिना विजयी भएका हुन् । निर्वाचित तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी महतले १८ हजार ५ सय ९७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै १३ हजार ३७७ मतसहित नेकपाका हितबहादुर तामाङ तेस्रो स्थानमा रहे भने एमालेका बद्रीप्रसाद मैनालीले ८ हजार ९३२ मत मात्र पाए ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार अमित तामाङले दुई हजार ६३ मत प्राप्त गरेका छन् ।

नुवाकोट–१ मा १८ जना उम्मेदवार रहेकामा बाँकी सबैले एक हजारभन्दा कम मत ल्याएका छन् । राप्रपाका बिमल थापाले ७५६, श्रम संस्कृति पार्टीका दावा फेन्जु लामाले २८८, मङ्गोल नेशनल अर्गनाइजेशनका कुमार राना मगरले १५९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महेन्द्र तामाङ १५६ र प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतमले ८८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका रबिन्द्र डङ्गोलले ५०, जनता समाजवादी पार्टीका होमबहादुर राईले २४ र मितेरी पार्टी नेपालका बिवेक सिलवालले ६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिए । स्वतन्त्र उम्मेदवारहरु संजिव गुरुङले ६३, राजु थापा ४९ र चेपे तामाङले १४ मत प्राप्त गरेका छन् ।

नुवाकोट-१ मा २०७९ र २०७४ मा तत्कालीन माओवादी केन्द्रका नेता हितबहादुर तामाङले लगातार जितेका थिए । 

कान्तिपुर

Link copied successfully